गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १६ गते । अर्थतन्त्रमा वृद्धि कायम रहे पनि नेपालीको प्रतिव्यक्ति आय भने घट्ने देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अर्थात् प्रतिव्यक्ति आय तीन डलरले घटेर एक हजार ५१३ डलर कायम हुने अनुमान गरेको हो । नेपाली रुपियाँमा प्रतिव्यक्ति आय करिब ४५० ले घट्ने छ । कार्यालयले मङ्गलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्कमा गत वर्ष यस्तो आय एक हजार ५१६ अमेरिकी डलर हुने संशोधित अनुमान छ ।
चालु आवमा ३.८५ प्रतिशतले वृद्धि भई अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान र प्रतिव्यक्ति आयको अनुमान भने आफैँमा विरोधाभास देखिन्छ । यद्यपि कार्यालयले यसबारे स्पष्ट पारेको छ । कार्यालयका निर्देशक दिनेश भट्टराईका अनुसार अमेरिकी डलरको विनिमय दर गत वर्षको तुलनामा उच्च हुँदा प्रतिव्यक्ति आय घटेको देखिएको हो । “गत वर्ष एक डलरको विनिमय दर १३६ रुपियाँ थियो, त्यो अहिले १५० पुगेको छ,” उहाँले भन्नुभयो, “अर्कातिर जनसङ्ख्याको वृद्धिदरको अनुपातमा अर्थतन्त्र विस्तार नहुँदा पनि प्रतिव्यक्ति आय केही घटेको देखिएको हो ।” प्रतिव्यक्ति आयमा उल्लेख्य गिरावट आएको नभई विनिमय दरका कारण मात्रै अङ्कमा घटेको पाइएको उहाँले उल्लेख गर्नुभयो ।
विनिमय दरका आधारमा तुलना गर्दा नेपाली रुपियाँमा भने प्रतिव्यक्ति आय बढेको देखिन्छ । गत आवमा एक अमेरिकी डलरको विनिमय दर १३६ रुपियाँ हुँदा प्रतिव्यक्ति आय दुई लाख छ हजार १७६ रुपियाँ हुन जान्छ । जबकि चालु आवमा एक डलरको १५० रुपियाँ विनिमय दरको हिसाबले करिब दुई लाख २७ हजार रुपियाँ पुग्छ ।
चार खर्बले अर्थतन्त्रको विस्तार
चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार चार खर्ब रुपियाँले विस्तार हुने कार्यालयको अनुमान छ । गत आवमा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रुपियाँ रहेकामा चालु आवमा ६६ खर्ब रुपियाँ पुग्ने अनुमान कार्यालयको छ । अर्थतन्त्रको अनुमानित वृद्धिदर चालु आवका लागि सरकारले लिएको लक्ष्यको तुलनामा भने न्यून हो । सरकारले बजेटमार्फत यस वर्ष छ प्रतिशतको वृद्धिदर हासिल हुने लक्ष्य राखेको थियो । कार्यालयका अनुसार अर्थतन्त्रको आकार र वृद्धिदर मापन उपभोक्ताको मूल्यमा आधारित छ । कार्यालयका अनुसार चालु आवमा कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशतमा सीमित हुने छ । सेवा क्षेत्र समेटिने गैरकृषि क्षेत्रको वृद्धिदर ४.५४ प्रतिशत हुने अनुमान गरिएको छ । अर्थतन्त्र मापनका लागि कार्यालयले विभिन्न १८ वटा औद्योगिक क्रियाकलापको योगदानलाई निरन्तरता दिएको छ । कार्यालयका अनुसार वृद्धिदरका हिसाबले चालु आवमा विद्युत् तथा ग्यास क्षेत्रको कुल मूल्य अभिवृद्धि सबैभन्दा धेरै अर्थात् २०.९३ प्रतिशत हुने छ । त्यसपछि वित्तीय तथा बिमाको ९.१६ प्रतिशत, यातायात तथा गोदामको ५.७९ प्रतिशत, प्रशासनिक तथा सहयोगी सेवाको ४.५२ प्रतिशतले वृद्धिदर हुने अनुमान गरिएको छ ।
चालु आवमा वृद्धिदरका हिसाबले सार्वजनिक प्रशासन तथा सुरक्षा सेवा सबैभन्दा पुछारमा रहेको छ । यस क्षेत्रको ०.२३ प्रतिशत मात्र वृद्धिदर हुने अनुमान छ । त्यसपछि शिक्षा क्षेत्रको वृद्धिदर १.५० प्रतिशत मात्र हुने अनुमान कार्यालयले गरेको छ । योगदानका हिसाबले चालु आवमा कृषि, वन तथा मत्स्य क्षेत्र सबैभन्दा अगाडि छ ।