काठमाडौँ, कात्तिक २९ गते । नागबहालका सशिन डङ्गोल र सुमन शाक्यको जोडी १५औँ यल कप ब्याडमिन्टनको पुरुष युगलतर्फ अन्तिम आठमा पुग्नुभएको छ ।
उक्त जोडीले कोन्टिका निर्जन खड्गी र रितेश खड्गीको जोडीलाई २१–१२, २१–१२ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाउनुभएको हो ।
यस्तै नागबहालकै सुमित शाक्य र सुशन शाक्यको जोडी धौवहालका योमेश डङ्गोल र सिद्धार्थ महर्जनको जोडीलाई १८–२१, २१–१६, २१–१७ को सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गर्नुभयो ।
अन्तिम आठमा प्रवेश गर्ने क्रममा सुबहालका रमन महर्जन र अमन शाक्यको जोडीले भुबहालका बाबुराजा बज्राचार्य र बिजय बज्राचार्यको जोडीलाई २१–११, २१–१४, प्रयाग पोखरीका सुनिल बाराही र पुजन चित्रकारको जोडीले मनिडाउनका जगदिश महर्जन र सुजन शाक्यको जोडीलाई २१–१७, १९–२१, २३–२१, ओकुबहालका दिपेश शाक्य र निशेष शाक्यको जोडीले नागबहालका सम्यक शाक्य र सुगल शाक्यको जोडीलाई २१–१९, २१–१४, चाकुपाटका सुमन शाक्य र सुशिल शाक्यको जोडीले अग्निशालका अनुप बस्नेत र सुजीप महर्जनको जोजोडीलाई २१–८, २१–१६ ले हराउनुभयो ।
नागबहालका पुजन शाक्य र श्रवण शाक्यको जोडीले चुसिकाका सौर्य महर्जन र हखाका रुकेश शाक्यको जोडीलाई १६–२१, २१–१५, २१–१२ र दथुँलका राजु बज्राचार्य र सुमित महर्जनका जोडीले नागबहालका आयुष धाख्वा र संजय शाक्यको जोडीलाई २१–१४, २१–६ ले पराजित गर्नुभयो ।
ललितपुर वडा नं. ७ भिन्छेबहालस्थित मयूरवर्ण महाविहारको कोर्टमा आयोजित प्रतियोगिताको मास्टर ४५ वर्ष माथिको प्रतिस्पर्धामा भुबहालका बाबुराजा बज्राचार्य र बिजय बज्राचार्यको जोडीले ओकुबहालका भुवन शाक्य र बिकाश शाक्यको जोडीलाई २१–६, २१–१९ ले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गर्नुभयो ।