• २९ कात्तिक २०८२, शनिबार

एनपिएलको तयारी अन्तिम चरणमा : ४० करोड आम्दानीको प्रक्षेपण

blog

नेपाल प्रिमियर लिगको अन्तिम तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्बिरः कविन अधिकारी

काठमाडौँ, कात्तिक २९ गते । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारी अन्तिम चरणमा पुगेको छ ।

त्रिवि मैदानमा सोमबारदेखि सुरु हुने एनपिएलको प्राविधिकलगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले बताउनुभयो । 

एनपिएलको पहिलो संस्करणको उत्साहबाट दोस्रो संस्करणलाई थप भब्य बनाउने योजना रहेको क्यानका अध्यक्ष चतुबहादुर चन्दले बताउनुभयो ।

‘‘एनपिएललाई नेपाली खेलकुदको उद्योगको रुपमा विकास गर्न चाहन्छौँ । नेपाली क्रिकेटलाई विश्व खेलकुदसँग गास्ने काम यसले गरेको छ । यसको सफलताका लागि क्यानलाई सबैको साथ आवश्यक छ,’’ अध्यक्ष चन्दले भन्नुभयो । 

सचिव खड्काले पहिलो पटक एनपिएलका खेलहरु फ्लडलाइटमा सञ्चालन गर्न लागिएकोले दर्शकलाई नयाँ स्वाद हुने बताउनुभयो । खड्काले एनपिएल अवधिभर कुनैपनि आन्दोलनका कार्यक्रमहरु नगर्न आग्रह पनि गर्नुभयो । 

क्यानले यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ । दर्शक शुल्क पाँच सयदेखि दुई हजारसम्म तय गरिएको छ ।

उद्घाटन खेलको सम्पूर्ण टिकट बिक्री भइसकेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गुर्खाजबिच त्रिवि क्रिकेट रङ्गशालामा अपरान्ह ४:०० बजे भिड्नेछन् । 

उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि पाँच सय र एक हजार रुपियाँ राखिएको छ । 

यस्तै प्लेअफ देखिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ । क्यानले  सिजनल टिकटको एकमुस्ट मुल्य १५ हजार रुपियाँ तय गरेको छ । 


४० करोड आम्दानीको प्रक्षेपण

क्यानले दोस्रो संस्करणको एनपिएलबाट ४० करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । क्यानका कोषाध्यक्ष पदम खड्काले यस पटकको एनपिएलबाट क्यानले ४० करोड रुपियाँ आम्दानी गर्ने प्रक्षेपण गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यस सिजन क्यानले टिकट बिक्री, ब्रोडकाष्टिङ, प्रायोजन, टिमको दर्ता शुल्क लगायत शीर्षकबाट ४० करोड आम्दानी गर्नेछ । जुन १५ करोड ३० लाख प्रायोजकबाट, नौ करोड सहभागीबाट, पाँच करोड ३० लाख ओटिटीबाट, १२ करोड टिकट बाट र एक करोड स्थानीय प्रसारण अधिकारबाट आम्दानी हुनेछ ।’’ 

मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने एनपिएलका लागि सुरक्षाको हिसावले पनि बलियो बनाईएको छ । प्यारापिट बाहिरमात्र दुई वटा बार तय गरिएको छ ।

खेल मिलेमतो र बेटिङलाईसमेत मध्यनजर गरेर नेपाल प्रहरीको निगरानीका एन्टीकरप्ट युनिट तय गरिएको छ । एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित कूल ३२ खेल हुनेछन् ।


एनपिएलमा साविक विजेता जनकपुरसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरी आठ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने छन् । क्यानले पहिलो वर्ष नै १० वर्षका लागि फ्रेन्चाइज टोलीसँग सम्झौता गरिसकेको छ ।