- बेल्जियम सानो तर सुन्दर देश । हामीभन्दा करिब ४.८ गुना सानो देश ।
- राजसंस्था विद्यमान रहेका देशमध्ये बेल्जियम पनि पर्छ । कुन देशले कुन राजनीतिक व्यवस्था अपनाउने भन्ने कुरो आआफ्नो देशको आन्तरिक मामला हो ।
- बेल्जियम युरोपका लागि महत्वपूर्ण देश रहेछ । युरोपियन युनियनको संसद् यहीँ छ । युरोपको नीतिनिर्माणमा अहम् भूमिका खेल्ने संस्था यहाँ हुनु गौरवपूर्ण विषय हो ।
सन् २०२५ अगस्त ९ तारिखका दिन हामी बेल्जियमको राजधानी ब्रसेल्सका सडकमा निस्कियौँ । बाटामा देखिने सुन्दर दृश्य हेर्दै अघि बढ्यौँ । फ्रान्समा विशाल विशाल संरचना थिए । यहाँ ससाना तर चिटिक्क परेका संरचना थिए । यहाँका प्राचीन भवनमा इँटाको प्रयोग गरिएको देखियो । हाम्रा असन–इन्द्रचोकका जस्ता ससाना मोहडा भएका घरहरू कलात्मक थिए । रङ संयोजन मिलाइएका भवनले प्राचीन सिपलाई देखाइरहेका थिए ।
बेल्जियम सानो तर सुन्दर देश । हामीभन्दा करिब ४.८ गुना सानो देश । हाम्रो कर्णाली प्रदेशभन्दा केही मात्र ठुलो देश । सानो भएर पनि महत्वपूर्ण देशमध्येमा पर्दो रहेछ । सानो भनेर हीनताबोध गरिरहनु नपर्नका लागि उदाहरणीय देश लाग्यो । सानो भनेर मात्र हुँदो रहेनछ उसको भूमिका महत्वको हुने रहेछ । विकास महत्वको हुँदो रहेछ । हाम्रा छिमेकका तुलनामा हामी साना देखिएका मात्र रहेछौँ । हामीभन्दा साना देशको सङ्ख्या विश्वमा निकै रहेछ । केवल सानो देशको भाष्य निर्माणमा लागेका हौँ कि ? गर्नेले गरेका रहेछन् । ठुलाले गर्न नसकेका कुरा सानाले गरेका रहेछन् । के गर्ने भन्ने कुरो महत्वपूर्ण होला । आफूसँग के छ र के गर्न सकिन्छ भन्ने मुख्य हुने रहेछ । आफ्नो मौलिकतालाई कुन रूपमा प्रवर्धन र प्रदर्शन गर्न सकिन्छ, त्यो महत्वपूर्ण हुने रहेछ । आफूसँग हुँदै नभएको कुरो खोज्न भौँतारिनेभन्दा आफूसँग भएको सम्भावनाको खोजी हुनुपर्ने रहेछ भन्ने लाग्यो ।
बेल्जियम युरोपका लागि महत्वपूर्ण देश रहेछ । युरोपियन युनियनको संसद् यहीँ छ । युरोपको नीतिनिर्माणमा अहम् भूमिका खेल्ने संस्था यहाँ हुनु गौरवपूर्ण विषय हो । यो गौरव बेल्जियमलाई प्राप्त रहेछ । सुन्दर सहरको सुन्दर दृश्य हेर्दै जाँदा हाम्रा आँखाअगाडि एउटा सानो तर प्राचीन पर्खालको भग्नावशेष देखा प¥यो । कसले बनाएको होला ? कहिले बनाएको होला ? किन बनाएको होला ? के होला ? आदि प्रश्नले मभित्र हुँडलो मच्चाउन थाल्यो । यताउता कतै त्यससम्बन्धी जानकारी पाइन्छ कि छेउकुना चहारेँ । फेला परेन । समयको गर्तमा यसको इतिहास विलुप्त भएछ । सम्भवतः यसको संरक्षण गर्नेलाई पनि यसको इतिहासका बारेमा जानकारी भएन कि !
यो देख्दा हामीले इतिहासका कैयौँ भग्नावशेषलाई जानेर होस् अथवा नजानेर; मटियामेट गरेका उदाहरण सम्झेँ । कतिपय त अहिले उत्खनन हुँदै छन् र उद्धार गरिँदै छ । हामी मानिसमा इतिहासको संरक्षण गर्ने मामलामा एकमत छैन । कतिपयले कतिपय समयमा व्यक्तिगत फाइदाका लागि यस्ता कैयौँ सम्पदालाई विनष्ट गरे अथवा अतिक्रमण गरे । चेतनाकै कुरो होला । बुझेर बुझ पचाउनेहरू होलान् । यसो भए पनि कुनै समयमा कोही त आउँदो रहेछ जसले इतिहासको खोजी गर्दो रहेछ । पुरानाको मर्मत जीर्णोद्धार गरेर भए पनि बचाउन सकिने जति बचाउने प्रयत्न गर्दा रहेछन् । वास्तवमा यस्ता ऐतिहासिक महत्वका चिजले हाम्रो विकास प्रक्रियालाई संरक्षण गरेर राख्दा रहेछन् । कतिपय देशले यस्तै ऐतिहासिक कुराको प्रचारप्रसार गरेर पर्यटकको ओइरो लगाउँछन् ।
विदेशमा रहँदा पनि देशकै याद आइरहने रहेछ । विदेशमा देखेका कुराले देश सम्झाइरहने रहेछ । त्यही सम्झना बोक्दै हामी मोन्ट डेस आटर्स गयौँ । मोन्ट डेस आटर्सको अर्थ कलाको पहाड हुँदो रहेछ । सिँढीहरूको तह तहमाथिको दृश्य सुन्दर देखिइरहेको थियो । एउटा अलग्गै संसारमा आए जस्तो अनुभूति भइरहेको थियो । यस्तो अवस्थामा आँखाभरि दृश्यलाई कैद गर्नुभन्दा अरू उपाय नरहने रहेछ । देखिएका दृश्य कैद गर्दै यहाँ पुस्तकालयका साथै अभिलेखालयसमेत रहेको जानकारी सङ्कलन गरेँ । यी सबैका सामुको बगैँचा निकै सुन्दर र आकर्षक रहेछ । रत्नपार्कलाई कैद गरेर पनि सुन्दर बगैँचा संरक्षण गर्न हामीलाई सकस पर्छ । यहाँ खुला स्थानमा यतिको सजाएर बगैँचा राखिएको छ ।
त्यहाँबाट उकालिँदै जाँदा पालास रोयल डे ब्रसेल्स पुग्यौँ । यो यहाँको राजदरबार रहेछ । राजसंस्था विद्यमान रहेका देशमध्ये बेल्जियम पनि पर्छ । कुन देशले कुन राजनीतिक व्यवस्था अपनाउने भन्ने कुरो आआफ्नो देशको आन्तरिक मामला हो । जनता र देश महत्वपूर्ण कुरो हो । हामी त्यहाँ पुग्दा राजदरबारको मूलगेटभित्र कुनै राज कार्यक्रम हुँदै थियो । घोडसवार रिसल्लाहरूले अगुवाइ र पछुवाइ गरिरहेका थिए । कार्यक्रमका प्रमुख आकर्षण रहेका राजपरिवारका सदस्य कालो कारमा सवार थिए । दृश्यको पटाक्षेपसँगै हामी त्यहीँअगाडिको फराकिलो बगैँचातिर लाग्यौँ ।
बगैँचातिर लाग्दै गर्दा विमल गिरीजीको फोन आइसकेको थियो । अघिल्लो दिनको भेट्ने वाचा अनुसार उहाँहरू ब्रसेल्स सेन्टरमा आइसक्नुभएको रहेछ । हामी त्यतै लाग्यौँ । नयाँ ठाउँ नयाँ परिवेश कताबाट जानुपर्ने हो कुन बाटो जाँदा छिटो पुगिन्छ ? यी सबै विषयमा अनभिज्ञ हामी अन्दाजका भरमा उहाँहरूलाई भेट्न ओरालिन थाल्यौँ । ओरालिँदै जाँदा ब्रसेल्स सेन्टर पुगियो । उहाँहरू भन्नाले उहाँसँगै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेल्जियम च्याप्टरका उपाध्यक्ष लोकनाथ शर्मा हुनुहुन्थ्यो । विमलजी झापाको र लोकनाथजी गुल्मीको हुनुहुँदो रहेछ । बेल्जियम आएको दुई दशकभन्दा पनि बढी भइसकेछ । देश एकातिर देशवासी अर्कातिरको पीडा उहाँहरूमा पनि रहेछ । गाँसबासले सताइएकाहरू कहाँ कहाँ पुग्दा रहेनछन् र ! जहाँ जहाँ आश्रय भेटियो त्यहीँ त्यहीँ पुग्दा रहेछन् । काम गर्न नपाएर काम गर्न आएकालाई धेरै अलमल्याउनु थिएन । यसैले मैले नै बढी रोक्न चाहिनँ । उहाँहरू जिम्मेवारी निर्वाहका लागि आआफ्नो कर्मक्षेत्रतर्फ लाग्नुभयो ।
उहाँहरू जानुभएपछि सुधीर र प्रस्मिनले बेल्जियम फ्राईलगायतका खानेकुरा हात हातमा लिएर आइसकेका रहेछन् । फ्रेन्च फ्राईकै अर्को रूप रहेछ बेल्जियम फ्राई । यहाँ यसलाई चुरोस भनिँदो रहेछ । यसका साथै यहाँको वाफल पनि प्रसिद्ध रहेछ । पिठोबाटै बनाइएको तर झन्डै झन्डै लाम्चो लाम्चो तर सिक्रीको साङ्लो आकारको । चुरोस चाहिँ तारेको हुँदो रहेछ । अचेल हाम्रैमा पनि मुस्ताङको आलु भनेर तारेर दिने चलन छ । यसले पनि एउटा ब्रान्डिङ र व्यापकता पायो । बाहिरबाट आउने पर्यटक चुरोसमा झुम्मिए झैँ झुम्मिन्थे कि !
यति मात्र कहाँ हो र ! सोलुखुम्बु जाँदा थाहा पाएको थिएँ, त्यहाँ बुङको आलु उब्जाइँदो रहेछ, दुई वर्षमा एक पटक खेती गरेर । त्यसको स्वाद निकै मिठो चाखेको थिएँ त्यहाँ जाँदा । लेकाली आलुको स्वाद जिब्रोमा टाँसिएर बसेको छ । आलुकै प्रसङ्ग आउँदा हामी केटाकेटी हुँदाको कुरो हो, डिल्लीबजारमा एक जना बुढी आमै हुनुहुन्थ्यो । उहाँले दिउँसो दिउँसो उसिनेको आलुको तरकारी पकाउनु हुन्थ्यो । सालको पातमा राखेर १० पैसाको आलु खाँदा त्यतिबेलाका हामी केटाकेटीलाई खाजा पुग्थ्यो । विजय मेमोरियल हाइस्कुलमा टिफिन हुनासाथ खर्च गर्न सक्नेहरू जेरीस्वारी खान होटलतिर झुम्मिन्थे । हामी अधिकांश चाहिँ त्यही बुढी आमैको पसलमा भिड लाग्थ्यौँ । पिरो पिरो आलुको त्यति मिठो स्वाद आजसम्म जिब्रोले अनुभव गर्न पाएको छैन । त्यस्तै नभए पनि अलि बेग्लै र फरक स्वादको अनुभूति चुरोस र वाफलले दियो ।
हाम्रा पाइलाले हामीलाई ग्रान्ड प्लेस पु¥यायो । त्यहाँबाट आइरहेको लाउड स्पिकरको आवाजले हामीलाई त्यता तानेको थियो । पुगेपछि थाहा भयो, त्यहाँस्थित दुई वटा विश्वविद्यालयका छात्रछात्राको दीक्षान्त समारोह भइरहेको रहेछ । भाषा नबुझिए पनि गाउन र टोपीको पहिरनले त्यो बताइरहेको थियो । विद्यार्थीलाई शुभकामना र बधाई दिन परिसरबाहिर उभिएका आफन्त र शुभचिन्तक हुनु पर्छ; फूलका बुकी लिएर उभिरहेका थिए । त्रिपालले घेरिएको कम्पाउन्डभित्र दुईतिरको आसनमा विद्यार्थी र बिचमा आयोजक बसेका थिए । भाषण भइरहेको थियो । बिच बिचमा ताली र विद्यार्थीको उल्लासमय आवाज बाहिरिइरहेको थियो । हामीले एकछिन उभिएर बाहिरैबाट सहभागिता जनायौँ । वरपरको दृश्यले पनि हामीलाई तानिरहेको थियो ।
ग्रान्ड प्लेस ब्रसेल्स सहरको मुटुमा अवस्थित छ । युनेस्कोले यसलाई विश्वसम्पदा सूचीमा राखेको रहेछ । वरिपरि प्राचीन प्रस्तर भवनले भरिएको बिचको चोक जस्तो भाग फराकिलो थियो । यहाँबाट सहरका विभिन्न भागमा जाने बाटा थिए । यसले मलाई काठमाडौँका पुराना बस्तीलाई सम्झायो, जहाँ वरिपरि घर र बिचमा फराकिलो चोक हुन्थ्यो । सार्वजनिक रूपमा कुनै कार्यक्रम गर्न परे वरिपरिकालाई त्यही चोकले स्थान उपलब्ध गराउँथ्यो ।
मानिसका केही प्रचलन अनौठा ढङ्गले एकअर्कासँग मिल्दा रहेछन्; भलै भूगोलले टाढाको दुरीमा बसेको किन नहोस् ! हुन पनि मानिस यायावरी प्राणी भएकाले इतिहासका कालविशेषमा ती कताबाट कता पुगेका हुन् । ती यताबाट उता र उताबाट यता लाग्दा हिँड्दा सँगसँगै प्रचलन र व्यवहार लिएर हिँडे हुन् । यसरी हिँड्दा काल र स्थानविशेषका कारण केही केही भिन्नता सिर्जना भए हुन्; तिनका मौलिक रूप त ननासिएका हुँदा हुन् । यसरी हेर्दा दिमागमा अलिकता उज्यालो बत्ती बल्यो । ‘हो कुरा’ लाग्यो । त्यसपछि हामी त्यहाँको सहिदगेटतर्फ लाग्यौँ ।