• २८ कात्तिक २०८२, शुक्रबार

पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर किशोर बेपत्ता

blog

राजु लामिछाने

रुकुमपश्चिम, कात्तिक २८ गते । रुकुमपश्चिमको चौरजहारी नगरपालिका २ बगर स्थित भेरी नदिमा एक किशोर बेपत्ता भएका छन् ।

शुक्रबार दिउँसो चौरजहारी नगरपालिका १ मा व्यवसाय गरी बस्ने राजु अन्सारीका १६ वर्षीय छोरा समिर अन्सारी नदिमा बेपत्ता भएका हुन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार घरबाट विद्यालय पढ्न जान्छु भनेर गएका समिर साथीहरुसँग पौडी खेल्न नदिमा गएका थिए । उनी चौरजहारीस्थित भ्याली पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययनरत थिए । 

पौडी खेल्ने क्रममा उनी डुबेर बेपत्ता भएका हुन् । आफन्तजन र प्रहरीले उनको खोजी कार्य गरिरहेको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ६ सल्यानीबंगाला घर भएका अन्सारी परिवार लामो समयदेखि चौरजहारीमा व्यवसाय गर्दै आएका छन् । 

बेपत्ता समिरका आफन्जनहरुले खोजी कार्यको लागि तालिमप्राप्त गोताखोरको माग गरेका छन् ।