• २९ कात्तिक २०८२, शनिबार

अन्त्येनारायणस्मृतिमा समसामयिकता

blog

पुराना लेखक तथा राजनीतिज्ञ दीनबन्धु अर्यालको नवीनतम कृति ‘अन्त्येनारायणस्मृति’ फुटकर कवितासङ्ग्रह प्रकाशित भएको छ । यस कवितासङ्ग्रहमा विभिन्न भावभूमिका १९७ वटा कविता सङ्कलन गरिएको छ । मङ्गलाचरणबाट सुरु गरिएको यस कृतिमा अन्त्येनारायणस्मृति शीर्षकमा ६७ वटा कविता राखिएको छ । मृत्युअभिव्यञ्जना खण्डमा ४१ वटा कविता सङ्कलित छन् । विविध अन्तर्गत फुटकर कविता नाम दिएर ६९ वटा र सपना खण्डमा २० वटा कविता छन् । छन्दोबद्ध र छन्दमुक्त दुवै प्रकारका कविता लेखनमा कवि सिद्धहस्त भएको देख्न सकिन्छ ।

मानिसको जीवन क्षणभङ्गुर छ, नारायणस्मृतिले मात्र मोक्ष प्राप्त हुने भागवतको कथालाई मुख्य आधार बनाई अन्त्येनारायणस्मृति लेखिएको कविको स्वीकारोक्ति छ । श्रीमद्भागवतको षष्ठम स्कन्धमा अजामिल नामका एक पात्र छन् । उनका छोराको नाम नारायण हुन्छ । अजामिलको जीवनको अन्तिम अवस्थामा छोरा नारायणलाई बोलाउँदा नारायण नाम उच्चारण भएकै कारणले उनले वैकुण्ठ यात्रा गर्ने सौभाग्य पाउँछन् । अजामिलको रोचक कथाले नै यस पुस्तकको नामकरण भएको देखाउँछ । भन्नुको तात्पर्य जीवनको अन्तिमावस्थामा नारायण नाम स्मरण गर्नाले मुक्ति पाउन सकिन्छ भन्ने यस कृतिको प्रमाण हो । 

यस कृतिमा थुप्रै कविता समावेश गरिएका छन् । ती सबैको विवेचना यो छोटो समीक्षामा सम्भव छैन । तैपनि केही मर्मस्पर्शी र सूक्तिमय शीर्षक यहाँ उल्लेख गर्नु उचित हुने छ । कविताका केही शीर्षक यस्ता छन्– ‘साझा आमा पृथिवी’, ‘एक्लो हुँदैन कोही’, ‘पञ्चतत्व र मानव बल’, ‘ठन्डा दिलले सोचौँ न’, ‘सर्वव्यापक राम’, ‘सूर्यको प्रार्थना’, ‘निस्सार धनसम्पत्ति’, ‘फुर्ती गर्न पर्दै पर्दैन’ इत्यादि । गीता दर्शनबाट प्रेरित भएर जातस्य हि ध्रुवो मृत्युको अर्थ जन्म लिने जतिको मृत्यु अवश्यम्भावी छ । कोही पनि अजर अमर हुन सक्दैन; खाली हात आउनु पर्छ, खाली हात नै जानु पर्छ भन्ने आशय हो । समानताको द्योतक पनि हो– मृत्यु । मृत्युले कसैलाई भेदभाव गर्दैन; सानोठुलो, धनीगरिब केही भन्दैन । आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो– कविशिरोमणि लेखनाथको यो सूक्तिमय पद्य यहाँ स्मरणीय हुन्छ ।

‘काँडेतारबाट छिर्न खोज्दा’, ‘मान्छेको मान्छेसँगै डर’, ‘नेताले नीति फेरिरहन्छन्’, ‘दुध लाग्दैन सराब लाग्छ’, 

‘माटो भनौँ वा खरानी’ शीर्षकका कविताले मानवीय प्रवृत्ति, राजनीतिको फोहोरी खेल र मानव जीवनका कथाव्यथा उजागर गरेका छन् । ‘गाउँमा मलामी छैनन्’, ‘पाप पुण्य अन्तिम साथी’, ‘युद्धपिपासुको ओखती छैन’, ‘तृषित काठमाण्डूवासी र मेलम्चीको पानी’ शीर्षकीय कविताले आजको युगको पीडा ओकलेका छन् । गाउँ रित्तिँदै छ, देशमा रोजगारी पाइँदैन, युवाहरू दिनहुँ विदेश पलायन भइरहेका छन्, विश्वमा हातहतियारको होडबाजी चलिरहेको छ, शान्ति स्थापनाका प्रयास निष्फल भइरहेका छन् भन्ने आशयका धेरै कविताले यही तितो यथार्थलाई प्रकाश पारेका छन् । 

केही कवितांशको नमुना यहाँ प्रस्तुत गर्नु समीचीन नै हुने छ जस्तै –

नास्तिक मात्र भन्दछन् शीर्षकको यो श्लोकले जीवनको यथार्थ वर्णन गरेको छ –

रोगको औषधी हुन्छ रोग नै मृत्युकारक ।

मृत्युको औषधी छैन सहनु मात्र काम छ ।। पृ.५५

सबै प्राणीमा निद्रा, आहार, भय र मैथुन आवश्यक पर्छ तर मान्छेमा चाहिँ बेग्लै विशेषता हुन्छ भनिएको मानिस र तस्बिर शीर्षकको कवितांश यस्तो छ–

निद्रा आहार मैथुन भय चार विशेषता

प्राणीमा हुन ता हुन्छन् मान्छेमा छ विशेषता । पृ.१२३

नेपालका केही नेतालाई महाभारतका पात्रको उपमा दिँदै कविले लेख्नुभएको छ–

तपस्वी शौभरी बीपी भीष्म गणेशमान थिए

युधिष्ठिर कृष्णप्रसाद मनमोहन अर्जुन

मदन भण्डारी हुन् कर्ण पुष्पलाल भीमसेन हुन्

तपस्वी त्यागका मूर्ति ज्ञानी दानी दानी महान् हुन् नेता यी स्वार्थ त्यागेर नित्य सङ्घर्षमा जुटे ।। पृ.२५२

‘पाप पुण्य अन्तिम साथी’ शीर्षकको अर्को कवितामा कविको भनाइ यस्तो छ– 

भव्य महल के गर्नु के गर्नु धनधान्यले ।

नाता सम्बन्ध के गर्छन् कर्म साथ लिई गए ।। पृ.२६५

दृष्टिभ्रम भयो भने डोरीलाई पनि सर्प जस्तो देखिन्छ, उमेर ढल्किँदै गएपछि आफ्नै आँखा, कानले पनि काम गर्न सक्दैनन् भन्ने शाश्वत सत्यलाई कवितामा यसरी व्यक्त गरिएको छ–

विश्वास गर्न मिल्दैन आँखाले देखँदा पनि 

रज्जु सर्प बनिदिन्छ मृगतृष्णा भएसँगै ।

बत्ती बालेर हेर्दा त रज्जु नै हो बुझिन्छ त्यो

चस्माले पनि भन्दैछ आँखाको नपरे भर ।। पृ.२८३

श्रीकृष्णजन्माष्टमी २०८२ को पावन अवसरमा प्रकाशित यो कृतिको मूल्य पाँच सय रुपियाँ राखिएको छ । अध्यात्म, धर्मसंस्कृति, राजनीति, जीवनदर्शन, मानवीय प्रवृत्ति, विश्व परिवेश र विकृति विसङ्गतिको पनि चिरफार गरिएको यो कृति पठनीय र मननीय छ ।