• २९ कात्तिक २०८२, शनिबार

थलपरीको आत्मकथा (कथा)

blog

सायद वासना नमेट्ने कुनै पुरुष थिएन । आउँथे आफ्नो पुरुषत्व पोखेर जान्थे, त्यसैलाई पुरुषार्थ सम्झिन्थे तर मेरो अस्मिता संरक्षित भने रहन सकेको थिएन । खेलुवाको नियति मैले पनि सहर्ष स्विकार्नुबाहेक विकल्प पनि थिएन ।

“कति राम्री छ थलपरी जस्ती ।” जिस्क्याउँदै गरेको मोहन मेरो नजिक आउँछ । म बोल्न हिच्किचाउँछु । तुरुन्तै जवाफ दिन पनि सक्दिनँ, त्यसैले मेरो मौनतालाई उसले अवसर मान्यो । झन् नजिकियो र फकाउने हदैसम्मको प्रयास गर्‍यो । मैले एकै शब्द नाइँ हुन्नमा सबै बेहोरा टुङ्ग्याएँ । त्यतिबेलाको उनाउ टल्यो । फेरि फेरि कालो बादल मडारियो । केटाहरू मात्र होइनन्, अधबैँसे, बुढा बुढा पनि र्‍याल चुहाइरहेका हुन्थे– युवती देखेर । मैले बस्ने, पुग्ने ठाउँ परिवेश मन्दिर र मन्दिरको भण्डारघर थियो । त्यसको आसपासको बस्ती, वनपाखा मेरो मान्थेँ मैले । मन्दिरसँग जोडिएका मान्छेलाई आफ्ना मान्थेँ । आफ्ना मान्दैमा आफन्त हुँदा रहेनछन् । मन्दिरका पण्डा, पुजारी, धामी, भडरियालाई देवताजत्तिकै सम्मान दिइन्छ । मेरो बढी चिनजान भएका र आफन्त मानेका कारण म पनि आदर र श्रद्धाले सम्मान गर्थें तर उनीहरूको दृष्टि सफा थिएन । महिलामाथि गिद्दले सिनो झम्टे जस्तै झम्टन्छन् । सुकिलो पहिरन भए पनि मन कालो थियो । सर्पले एक पटक डस्छ र मान्छे मर्छ तर सर्परूपी नरपिशाचले पटक पटक डस्छन् र मारिरहन्छन् ।

गाउँका केटाहरू छिल्लिएर छाडा कुरा गर्थे । मलाई जिस्क्याउथे, छेडखानी गर्थे, फोहोर कुरा गर्थे, एक्लै एक्लै परेको बेला यौनाङ्ग देखाउँथे । यस्तो क्रियाकलाप आमा देखे नदेखे जस्तो गर्नुहुन्थ्यो । म अचम्म पर्थें । किन प्रतिकार नगरेको हो ? मनभित्र एउटा अहं प्रश्न उब्जिएको थियो । हाम्रो घर थिएन । मन्दिरको भण्डार भनिएको भुइँतलामा हामी बस्थ्याैँ । त्यसको बाहिरपट्टि छाप्रो थियो । त्यहाँ हामीले उठाउने खलो र पाउने थितो राख्ने गथ्र्यौं । खानपिन त्यहीँ हुन्थ्यो । आमा देवता चढाएकी द्यौकी भएकाले बिहा गर्न नमिल्ने सामाजिक परम्परा थियो । बिहाबारी नै नगरी हामी तीन सन्तान जन्मेका थियौँ । दाजुहरू हुर्किसकेकाले केटाकामराका रूपमा बाबुसाइवका दरबारमा थिए । हामी दुई आमाछोरी यहाँ बस्थौँ । “तिमी खेलुवा हौ, तिम्रो बिहा गर्नु पर्छ ।” आमा भन्नुहुन्थ्यो । “खेलुवा के हो ?” मेरो जिज्ञासा थियो, आमाले सुनेनसुने जस्तो गरी टार्नुहुन्थ्यो । मैले धेरै जिद्दी गरिनँ । आमालाई भेट्न धेरै मान्छे आउँथे । भेटघाट गर्थे फर्किन्थे । त्योसँग मेरो त्यति सरोकार थिएन । आमाका सहयात्री धेरै थिए । साथीहरूको अक्सर भेट मन्दिरमा हुन्थ्यो । विभिन्न किसिमका थिए । तिनैमध्ये अलि बुढी र बिरामी परेकी थलपरी थिइन् बिन्नरी ।

“मरेपछि त जुम्राले पनि त्याग्छन् भन्थे हो रैछ ।” बिन्नरी दिदी पिपल चौतारोमा बसेर दुःख पोख्दै थिइन् । “के भो बिन्नरी केको पीर पर्‍यो ?” त्यतैतिर बाख्रा चराइरहेको दलेले जिज्ञासा राख्यो । दलेको जिज्ञासाको बिन्नरीले छाडा शब्दमा जवाफ फर्काई । “जवानी छँदा त पोइ पनि धेरै भेटिन्थे, बिरामीले थला परेकी छु, पानी दिने पनि कोही छैन ।” “तेरो भाग्य नै त्यस्तो रहेछ कसको के लाग्छ ?” बाख्रालाई जङ्गलतिर लग्दै दले त्यहाँबाट निस्किने उपाय खोज्छ । लामो समयदेखि बिमारले सिकिस्त भएकी बिन्नरी दिदीको त्यसको एक/दुई दिनमा इहलीला खत्तम हुन्छ । सीता दिदी, जमुना दिदी, मैना दिदी, सुन्नरी दिदी आमाका साथी जस्तै थिए । देवालयमा बस्ने, देवतालाई चढाएकी हुनाले दिदी भन्ने गर्थे । तिनै दिदीमध्येकी कान्छी दिदी जयन्तीका नाउँले चिनिएकी थिइन्– मेरी आमा । जयन्तीकी खेलुवा छोरीका रूपमा मेरो जन्म भएको थियो । द्यौकी, देवकी तथा दिदीको श्रेणीमा मेरो नाउँ खेलुवामा दर्ज थियो । चाहे चढाएकी होऊन् चाहे खेलुवा, सबैको अवस्था एकै थियो । चढाएकी द्यौकीले विवाह गर्न, अर्को गाउँ बस्नुहुन्थेन तर खेलुवाले पाउने चलन थियो । 

म हरेक दिन आमासँग मन्दिर पुगेकी हुन्थेँ । मन्दिरमा पूजाअर्चनाका लागि होइन । हाम्रो हातमा न पूजाको थाल हुन्थ्यो, न त पूजासामग्री । सामग्रीका नाउँमा कुचो हुन्थ्यो, त्यस्तै लिपपोत गर्ने कोयो । आमाले मेरा लागि बोकिराखेको बासी रोटी र नुन हुन्थ्यो । हाम्रो दैनिकी मन्दिरसँग जोडिएको थियो । पुजाको शेष, त्यहाँ बनेको प्रसाद, फलफूल दिनभरको खाना हुन्थ्यो, त्यही बचेको सामग्री रातिको भोजन हुन्थ्यो । कुनै दिन नाउलाको पानी र काउलाको पात खाएर दिन बित्थ्यो । आमा नियमित रूपमा मन्दिरमा सरसफाइ गर्नुहुन्थ्यो । आमासँगै अरू पनि थिए सरसफाइकर्मी । उनीहरू नियुक्त कर्मचारी होइनन् । देउतालाई चढाइएका चेली थिए । स्वयम् मेरै आमा पनि चढाइएकी देवी थिइन् । त्यही मन्दिरमा कुनै घराना घरका रजवारले चढाएकी थिइन् । चढाइएका र खेलुवाको सङ्ख्या निकै थियो । अरूका पुस्तौँपुस्ता कटेका थिए खेलुवा भएर । हामी जस्ता चेली देउचेली मानिन्थ्यौँ । आमाले भने अनुसार मेरो जन्म नै मन्दिरको छेउमा भएको थियो । मेरो जन्मघर कहीँ हो भने यही मन्दिर हो । सानी छँदा आमाले बोकेर लैजानुहुन्थ्यो । हिँड्ने भएपछि सँगै हिँडेर जान्थे । आमाको घरका रूपमा मन्दिरको भण्डारघरको नजिकैको टहरा थियो ।

हरेकको जीवन आमासँग प्रत्यक्ष जोडिएको हुन्छ । आमाका हरेक क्रियाकलापको प्रभाव सन्तानमा परेको हुन्छ । आमाको आचरण, क्रियाकलाप, सामाजिक परम्पराले भाबी पुस्ताको जीवनको गन्तव्य निर्धारण गरेको हुन्छ । मेरो बाँचेको परिवेश तुच्छ जीवनशैलीसँग जोडिएको थियो । देवतासँग नाउँ जोडिए पनि घृणित कार्य त्यहाँ हुने गर्थे । त्यसको प्रत्यक्ष प्रभावबाट अलग र अमूक रहन सकेन । आमालगायत त्यो मन्दिरसँग जोडिएका सबै दिदीले नगरवधूका रूपमा नारकीय जीवन निर्वाह गरेका थिए । समाजका प्रतिष्ठित कहलिएका वर्गबाट ज्यादती गरिएको हुन्थ्यो । यौन क्रियाकलाप खुला थियो । देउकीसँग यौन सम्पर्कलाई कुनै बन्देज छैन । कहीँ कसैको चर्चा चले पनि सामान्य मानिन्छ । देवताकी चेली भनेर पूजा प्रक्रिया सहभागी गराए पनि सरल किसिमले यौनकार्यमा प्रयोग गर्ने गरिन्छ । देउकी पात्तर भनेर हेर्ने नजर नै द्वेष र खराब मनसाय रहेको हुन्छ । कमाराकमारीका रूपमा खेलुवा चेलीको प्रयोग हुने गथ्र्यो । आमाको बस्ने खोपीमा धेरै मान्छे भेट्न आउँथे । सबैको गतल मनसाय थियो भन्ने होइन तर राम्रै काम भने थिएन । सानी छँदा धेरै बुझ्दैनथेँ, बिस्तारै सबै बेहोरा अवगत हुन्थ्यो । यस्तै हो, यस्तै रहेछ भनेर मन थामिन्थ्यो । त्यसैमा पुत्र कुपुत्र हुन सक्छ तर माता कुमाता हुँदैनन् भन्ने शास्त्रीय मान्यतामा दृढ छु । मेरो अस्मिता बचाउन भनेर पनि आफूलाई समर्पण गरेकी हुन्थिन् । सायद वासना नमेट्ने कुनै पुरुष थिएन । आउँथे आफ्नो पुरुषत्व पोखेर जान्थे, त्यसैलाई पुरुषार्थ सम्झिन्थे तर मेरो अस्मिता संरक्षित भने रहन सकेको थिएन । खेलुवाको नियति मैले पनि सहर्ष स्विकार्नुबाहेक विकल्प पनि थिएन ।

मनमा चेतनाको विकास भएदेखि विद्रोहको भाव जागृत हुँदै गयो । त्यहाँ हुने हरेक गतिविधिमा द्वेष, राग, गलत मनसाय भएको देखिन थाल्यो । मन्दिर पुग्ने मानिस शुद्ध, चोखो, पवित्र मन र तनका साथ पुग्छन् तर त्यसको व्यवस्थापकीय पक्षमा रहेका व्यक्तिमा लोभ, ईष्र्या, कलुषित भवानामा निहित हुन्थे । धेरै मानिस बाहिरी आवरण जति सुकिलो भए पनि मन कालो भएका हुन्थे । मन्दिरभित्रको सम्पत्ति आफ्नो पेवा मानी दुरुपयोग पनि गर्थे । त्यस्तै मन्दिरसँगै जोडिएका देउकीमा पनि उनीहरूको हैकम नै हुन्थ्यो । उनीहरू अह्राएको, खटाएपठाएबमोजिम गर्नुपर्ने हुन्थ्यो । मन्दिरमा काटिन चढाइएका बोका, राँगा एक पटक काटिन्थे भने चढाएकी चेली पटक पटक काटिन्थे ।

आमासँग मेरा अन्तरङ्ग कुरा पनि हुन्थे । हामी दोस्रो दर्जाको बन्नुको कारण सोधेँ । आमाले बेलीविस्तार लगाउनुभयो । आमाको जन्मघरको गाउँनजिकै कापेभिर थियो । गाउँमा कुष्ठरोग लागेका दीर्घरोगीलाई घरबाट निकाला गरिन्थ्यो । घर छोड्न नमाने गाउँका भद्रभलाद्मी, ठालुमहाजन सबै मिलेर दुइटा हाँगा भएको कापेलट्ठीले बिमारी मान्छेलाई घोचेर भिरबाट फाल्ने गरिन्थ्यो । कापेकाठले घोचेर मान्छे लडाउने भिरलाई कापेभिर भनिन्थ्यो । आमा सानै छँदा गाउँका रजवारलाई कुष्ठरोग लागेछ । दीर्घरोगी रजवारले आफूलाई कापेभिरबाट फाल्नुभन्दा आफूले घर छोड्ने निर्णय गरे । घर छोड्ने निर्णयसँगै आफ्ना शाखासन्तान कुल खानदानमा कुष्ठरोग नलागोस् भनी देवीलाई देउचेली चढाउने भाकल गरे । त्यही भाकल पूरा गर्न मेरी आमालाई किनेर ल्याए । सात वर्षकी कोरी कन्यालाई असोजको नवरात्रि पूजामा चढाएका थिए । देउकी चढाउने भाकल पूरा भएपछि रजवार गाउँ नै छोडी काशीबासमा गए । सीता, जमुना, मैना, सुन्नरीसँगै जयन्ती पनि थलपरीमा नियुक्त हुन पुगिन् । त्यतिबेला थलपरीको सङ्ख्या अझै बढी थियो । मन्दिरमा विधिपूर्वक ‘देव्यार्पण मस्तु’ भनेर समर्पण गरिन्थ्यो । मन्दिरमा देवताकी छोरीका रूपमा पुगेपछि देवकार्यमा अभ्यस्त गराइन्थ्यो । मन्दिरको पूजाअर्चनासँगै गाउँ समुदायमा हुने अनुष्ठानमा पनि प्रयोग गरिन्थे । उक्त कार्यका लागि आवश्यक सिप, कौशल सिकाइन्थ्यो । क्रमशः उमेर बढ्दै जाने र त्यहाँका सबै गतिविधिमा समावेश हुन पुग्थे । नानी मुलाई ठुला खेल पल्काया पल्किन्छे । राम्रो नराम्रो सबै कार्य पल्काइन्थ्यो । तलाघरे मुखियाका सन्तान नहुने भए । तीन वटी पत्नी ल्याइसके, उमेरले पचास कटिसक्यो । प्रजनन समस्याको खोजी भएन तर देवीदेवताको सहारा लिए । देवी भाकल गरे र देउचेली किनेर ल्याई देवीलाई चढाए । खालीगडाका जयन्त सौकार दीर्घरोगले ग्रस्त थिए । बिसनदत्त काजी अदालतमा जघन्य अपराधको मुद्दामा जेल जानुपर्ने अवस्थामा थिए । देवीदेवताको सहारा खोजे छोरीको अस्मिता विसर्जन गरे । राजामहाराजा, साहु, साहुकार, मुख्या फोन्दार किन्न सक्ने क्षमता भएका किनेर र सो क्षमता नभएका आफ्नै छोरी देउता चढाउने गर्थे ।  यस्तै कारुणिक कथाव्यथा भन्दै आमाले तरक्क आँसु झारिन्, डाँको छोडेर रोइन् । आमासँगै म पनि रोएँ ।

सम्भ्रान्त व्यक्तिको मनोकामना पूरा गर्नका लागि गरिने नरबलिभन्दा क्रूर प्रकृतिको प्रथा रहेछ देउकी । बलिमा एक पटक मारिन्छ तर यसरी समर्पित गर्दा पटक पटक मर्नुपर्ने हुन्छ । देउतामा चढाएपछि हुने दुव्र्यवहार अमानवीय छन् । मानवता कहीँ जीवित देखिँदैन । समाजमा दयाभाव रत्तिभर पनि पाइँदैन । आमाले बचाएको अस्मिता सुरक्षित रहन सकेन । म पनि खेलुवा देउकीबाहेक अरू केही हुन सकिनँ ।

आफैँ मर्न सकिँदो रहेनछ । कापो लगाएर कापेभिरमा लडाइदिए हुन्थ्यो । धेरै मान्छे लडाइएका छन्– कापेभिरमा । नारकीय जीवन जिउनुभन्दा नै बेस थियो तर प्राण प्यारो हुँदो रहेछ । श्वास छँदासम्म आस पनि हुँदो रहेछ । कापेभिरमा कापो लगाएर फाल्नै लागिएका लालुले रुँदै अनुनयविनय गरेछन् र फाल्न लागेका मान्छेमा दयाभाव पलाएछ । लालुले गाउँमा नफर्कने कसम खाएपछि छोडेछन् । बर्सौं भयो रिखिमल्लाको ओडारमा बसेका छन् । कन्दमूल फलफूल, पात, रुखका बोक्रासमेत खाने गर्छन् । पछिल्लो समय उनका आफन्त भेट्न जान्छन् । रासनपानी दिएर आउँछन् । सायद देउता चढाउन थलपरी छोरी भएको भए वा चेली किन्ने पैसा भएको भए ओडारमा बस्नुपर्ने थिएन । मैले भोगेको अवस्था कसैले भोग्नु नपरोस्, मेरो जस्तो जीवन कसैले बिताउनु नपरोस् । हरेक पल यही कामना हुन्छ मनमा ।