• २९ कात्तिक २०८२, शनिबार

रास्कोट नगरपालिकाले फेरि थप्दै करारका कर्मचारी

blog

करारमा कर्मचारी थप्दै आएको रास्कोट नगरपालिका । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, कात्तिक २९ गते ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले सङ्घ तथा प्रदेश सरकारको निर्णय अवज्ञा गर्दै आएको छ । कर्णाली प्रदेश सरकारले ऐन मार्फत गरेको निर्णय उल्लङ्घन गरेको रास्कोट नगरपालिकाले पछिल्लो समय जनेजी विद्रोह पछि गठन भएको सुशिला कार्की नेतृत्वको सरकारले गरेको परिपत्रलाई समेत अवज्ञा गरेको पाइएको छ ।

रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीको निर्देशनमा नगरपालिका भित्रका विभिन्न ठाउँमा विकासे बजेट खर्च हुने गरेर करारका कर्मचारी भर्ति गर्दै आएको छ । माथिल्लो सरकारको निर्देशन र ऐन विपरित नगर प्रमुख शाहीको हालिमुहाली चरिहेको छ भने कर्मचारी समेत नगर प्रमुखका यासम्यान भइरहेका छन् । रास्कोट नगरपालिकाले हालै मात्र नगर प्रहरीमा ठुलो सङ्ख्यामा करार कर्मचारी भर्ना गरेको पाइएको छ ।

नगरपालिकाले कात्तिक २१ गते जारी गरेको परीक्षाको अन्तिम सुचनामा विज्ञापन नं ०२/२०८२/२०८३ र ०३/२०८२/८३ को २०८२ भदौ ११ मा  सार्वजनिक सूचना अनुसार विभिन्न चरणमा सञ्चालित शारीरिक तथा लिखित परीक्षा र यही कात्तिक २१ गतेको निर्धारित समयमा सञ्चालित अन्तर्वार्ता समेतको प्राप्ताङ्गकको अधारमा देहायको योग्यताक्रम कायम हुन आएकाले तपशिल बमोजिमका सफल उम्मेदवारको अन्तिम नजिता प्रकाशित गरिएको उल्लेख छ ।

उक्त सूचनामा दुई जना नगर प्रहरी हवलदार र सात जना नगर प्रहरी जवान गरी नौ जनालाई नगर प्रहरीमा उत्तिर्ण गरी करार सेवामा नियुक्त गरिएको छ । साथै नगरपालिकाले जनस्वास्थ्य अधिकृत सातौ तहको पदमा पनि एक जनालाई नियुक्त गरेको छ । विज्ञापन नं ०१/२०८२/२०८३ को ०८२ भदौ ११  कै सूचना अनुसार कात्तिक २१ गतेको लिखित परीक्षा र २३ गतेको अन्तर्वार्ताका सफल उम्मेदवारले सात दिन भित्र निरोगिताको प्रमाण पत्रसहित नियुक्तिका लागि सम्पर्क गर्न सूचना गरेको छ । यस अघि कर्णाली प्रदेश सरकार स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०८१ बमोजिम कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करार सेवामा नियुक्त गर्न नपाइने उल्लेख छ ।

उक्त ऐन विपरित रास्कोट नगरपालिकाले भदौ यता नौ जना नगरप्रहरी र एक जना जनस्वास्थ्य अधिकृत सातौ तहमा गरी जम्मा थप दस जना करारमा कर्मचारी नियुक्त गरेको छ । यस अघि नगरपालिकाले एक जना नगर प्रहरी हवलदारसहित १५ जना नगर प्रहरी नियुक्त गरेको थियो । नगरपालिकाले प्रदेशको ऐनलाई छलेको थियो नै सङ्घ सरकारको निर्णयलाई समेत अवज्ञा गरेको कर्मचारीकै भनाइ रहेको छ । नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले भन्नुभयो, ‘‘अरू स्थानीय तहमा करारका कर्मचारीलाई हटाइरहेका बेला रास्कोट नगरपालिकामा भर्ति चलिरहेको छ ।’’

निर्देशन र ऐन अनुसार सबैले चल्नु पर्ने होला तर हाम्रो नगरपालिकाको छुट्टै प्रक्रिया छ तीन कर्मचारीले गुनासो गर्नुभयो । अहिले नयाँसहित रास्कोटमा स्वास्थ्य र अन्य सेवाका गरी दुई सय जना करारका कर्मचारी छन् ।

यता प्रशासन शाखा प्रमुख डम्बर महाराले विवरण दिनका लागि आफुले हाकिमसँग सम्पर्क गर्नु पर्ने भन्दै विवरण दिन मान्नुभएन ।

उता सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख हुकुम शाहीले नगर अस्पतालदेखि विभिन्न वडा र नगरपालिकामा गरी दुई सयभन्दा बढि करारका कर्मचारी रहेको र विद्यालयमा १५० को हाराहारी गरी जम्मा ३५० जना कर्मचारी करारमा रहेको बताउनुभयो । अस्पतालमा दरवन्दी नभएकाले सबै करारका कर्मचारी हुन् । अन्य ठाउँमा पनि करारका कर्मचारी रहेकाले सङ्ख्या अझै बढ्ने शाहीको भनाइ छ । 

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजङ्ग शाहीले आफु भर्खर आएकाले सबै कर्मचारीको सङ्ख्या लिन नपाएको बताउनुभयो । लामो समय निमित्त प्रमुख प्रशासकिय अधिकृतको रूपमा काम गर्नु भएका जवानसिंह बमले आफुलाई पनि सङ्ख्या एकिन नभएको प्रतिक्रिया दिनुभयो ।