• २९ कात्तिक २०८२, शनिबार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

blog

शनिबार लमजुङ सदरमुकाम बेँसीसहरमा सञ्चारकर्मीसँग बोल्दै नेता गुरुङ । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, कात्तिक २९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा शान्तिसुरक्षाको प्रत्याभूति गरेर मात्र निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।

शनिबार लमजुङ सदरमुकाम बेँसीसहरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता गुरुङले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र गोली फेला नपर्दासम्म समाजमा शान्तिसुरक्षा कायम रहन नसक्ने बताउनुभयो । 

उहाँले अझै पनि हजारौं हतियार, लाखको सङ्ख्यामा गोली र हजारौं कैदीबन्दी बाहिर नै रहेकाले यस्तो भयपूर्ण वातावरणमा निर्वाचन हुन नसक्ने बताउनुभयो ।

“त्यत्रा हतियार र गोलीगट्ठा अपराधीको हातमा छन् । जेलबाट भागेका अपराधीहरूले आपराधिक घटना घटाइरहेका छन्”, नेता गुरुङले भन्नुभयो, “अपराधीका हातमा हतियार र गोली भइन्जेल, राजनीतिक दलका नेतालाई स्थानहद तोकेर आतङ्कित पारिराखेर कसरी भयरहित वातावरणमा चुनाव हुनसक्छ ।”

उहाँले देशमा शान्तिसुव्यवस्था कायम गर्न, लोकतन्त्र र संविधानलाई सही दिशामा ल्याउन संसद्को पुनर्स्थापना हुनुपर्नेमा जोड दिनुभयो ।

“ संसद् पुनर्स्थापना गरेर, संविधानलाई बचाएर, जेनजीका  मागहरू सम्बोधन हुनेगरी संविधान संसोधन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “ संसद् पुनःस्थापनापछि सर्वपक्षीय सरकार बनाएर निर्वाचनमा जानुपर्छ ।”

उहाँले जेनजीलाई मोहोरा बनाएर ठुलो षड्यन्त्र र योजनाबद्ध रूपमा गणतन्त्र, लोकतन्त्रवादीहरू माथि हमला गरिएको बताउनुभयो । 

“जेनजीका माग जायज थिए, उनीहरूको लक्ष्य यस्तो विध्वंश गर्ने थिएन”, नेता गुरुङले भन्नुभयो, “जेनजीका नाउँमा घुसपैठ गरेर बामपन्थी र लोकनन्त्रवादी नेताका घर र पार्टी कार्यालयहरू ध्वस्त बनाइयो । हामीजस्ता नेतालाई घरबार विहीन बनाइयो ।” उहाँले यो आन्दोलनमा बाह्य शक्तिको पनि हात रहेको सङ्केत गर्नुभयो ।

उहाँले त्यतिबेलाको सरकारले सामाजिक सञ्जाल बन्द गर्ने भन्दा पनि नियमन गर्न खोजेको बताउनुभयो । उहाँले आज नभएपनि भोलिका दिनमा जसरी पनि सामाजिक सञ्जालको नियमन जरुरी रहेको बताउनुभयो ।