निराजन परियार
चौमाला (कैलाली), कात्तिक २९ गते । कैलालीको विभिन्न स्थानबाट लागुऔषधसहित एकै दिन ६ जना पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका–३, कुसमघाटमा सुदूरपश्चिम प्रदेश ०१–००९ प. ३५११ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक लम्किचुहा नगरपालिका–१, थकालीपुर बस्ने १९ वर्षीय रिजन मगर र मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने २२ वर्षीय आकाश चौधरी लागुऔषधसहित पक्राउ परेका हुन् ।
उहाँहरुको साथबाट ५ ग्राम ४२० मिलिग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाइकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ । यस्तै लम्कीचुहा नगरपालिका–६, बागमारबाट पिपरकोटि बस्ने २९ वर्षीय कमल जैसी र २६ वर्षीय लक्ष्मण बोहरालाई १५० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, गएराति १० बजे विशेष सूचनाको आधारमा गोदावरी नगरपालिका–५, गेटास्थित से. ६ प. ७५९४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक गोदावरी नगरपालिका–५ गेटा बस्ने २० वर्षीय विजय विष्ट र मोटरसाइकल पछाडी सवार गोदावरी नगरपालिका–१, बिजौरा बस्ने २५ वर्षीय राज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
यी दुबै जनालाई पनि ५ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन, मोटरसाइकलसहित लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी गेटा, कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । शुक्रबार पक्राउ परेका यी ६ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।