- जसले उत्तरदायित्व निभाउन सक्ने क्षमता राख्दैन, उसको असङ्ख्य फलोअर हुनु, उसको हातमा सूचना सम्प्रेषणको ठुलो शक्ति हुनु कुनै पनि समाज वा राष्ट्रका ठुलो खतराको घण्टी हो ।
- बचेखुचेका केही छन्, जो निरन्तर पत्रकारिताको धर्ममै चलेका छन्, स्वविवेकले चलेका छन् । थुप्रै राम्रा र सक्षम पत्रकार पलायन पनि भए, अनि यो क्रम जारी छ ।
- देशको लोकतान्त्रिक यात्रालाई चाहिएको छ–सही पत्रकारिता । जसले केवल जानकारी होइन, जिम्मेबार ढङ्गले समग्र देशलाई नै दिशा दिइरहेको हुन्छ, हरेक कोणबाट माथि उठाइरहेको हुन्छ ।
समाज सेवाबाट चिनिएका जेनजेड नेता बब्लु गुप्ता हालको क्याबिनेट अन्तर्गत खेलकुदमन्त्री बन्दै गर्दा उहाँका वरिपरि पत्रकारको हुल अरिङ्गाल झैँ ओइरियो । न खास प्रश्न थिए, न औचित्य । पहिलो निर्णय के हुन्छ ? भन्नुस् के हुन्छ ? अहिल्यै भनिहाल्नुस् (आशय हामीलाई जसरी नि बाइट चाहियो, भाइरल हुनु प¥यो) जस्ता दबाबपूर्ण वातावरण सिर्जना भए मन्त्रालयमा । गुप्ता असजिलो महसुस गरिरहनुभएको थियो । ‘पत्रकार’ ले छोडे पो । केही समयअघि महावीर पुन वरिपरि त्यही खालको भिड थियो । यस्तो प्रतीत हुँदैथियो, मानौँ, पत्रकारिता भनेको यही हो, यति मात्रै हो ।
केही दशकअघिसम्म नेपालमा सूचना प्रवाहको स्वरूप पूर्ण रूपमा फरक थियो । त्यति बेला राज्य नियन्त्रित मिडियाले जनताले के पढ्ने, के सुन्ने भन्ने निर्धारण गथ्र्यो । जब नब्बेको दशकमा लोकतन्त्र स्थापनासँगै निजी सञ्चार माध्यमको उदय भयो– एफएम रेडियो, टेलिभिजन र अनलाइन पोर्टलको बाढी आयो र यसले आवाजलाई सशक्त बनायो । विविधता समेट्यो, खोजमूलक पत्रकारितालाई जन्म दियो ।
तिनताका नाम चलेका अखबारको पहिलो पृष्ठमा महत्वका साथ छापिएका समाचार, हेडलाइन, कार्टुन आदिले देशभर हलचल ल्याउन सक्थे । सत्ताको कुर्सी हल्लिन्थ्यो । सम्पादकीयले निकै महत्व राख्थ्यो । टेलिभिजन, रेडियोको राम्रै दबदबा थियो, एङ्करहरू सेलिब्रिटी ठानिन्थे । जे होस् लोकतन्त्रको ‘चौथो स्तम्भ’ को प्रभाव धेरै थियो ।
दिन फेरिए । प्रविधि फेरियो । आज, मोबाइल र इन्टरनेट, सामाजिक सञ्जालको बाढीले यस प्रकारको एकात्मक ध्यान खण्डित गरिदियो, संसारकै मिडिया ल्यान्डस्केपमा बदल्दै । नेपालमा पनि पत्रकारिता नयाँ चुनौतीमा फस्यो । आज नियन्त्रणको भन्दा पनि अव्यवस्थाको मारमा हामी छौँ । सामाजिक सञ्जालको उदयसँगै हरेक मोबाइल प्रयोगकर्ता ‘पत्रकार’ बनेका छन् ।
फेसबुक, टिकटक, युट्युब जस्ता प्लेटफर्ममा सबैको स्पेस सुरक्षित हुनु नराम्रो होइन । यो नागरिक सशक्तीकरण हो एक हिसाबले । जिम्मेवारीबोध नहुँदा सत्य र अफवाहबिचको सिमाना, विवेक र छाडापनको फरकमा बादल लाग्यो ।
डिजिटल प्रतिस्पर्धामा लाइक, सेयर र भ्युज नै ‘सफलता’ मापनका आधार बनेको हुँदा सही जानकारीभन्दा सनसनीले जित्न थाल्यो । बिकाउ कन्टेन्ट मिनेटमै फैलिने हुँदा अप्रमाणित दाबी, भावनात्मक भिडियो, भ्रामक हेडलाइनले ठुलो साम्राज्य बनाउन थाले । यिनले आफ्नै इकोसिस्टम निर्माण गर्छन् र मोटाउँदै जान्छन् भने सनसनीबिनाको तथ्यपरक पत्रकारिताको स्पेस खुम्चिँदै जान्छ, गएको छ ।
धेरै स्वघोषित रिपोर्टर हातमा मोबाइल र माइक लिएर संवेदनशील विषय, जस्तै घरेलु र अन्य हिंसाका पीडित या निजी त्रासदीका घटनामा हाम्फालेर पुग्ने गरेको धेरै भइसक्यो । पत्रकारिताको तालिम वा नैतिकतासमेत नभएका उनीहरू पत्रकारिताको आचारसंहितासँग नाघेर जस्तोसुकै प्रश्न पनि गरिदिन्छन् । पत्रकारिताका निश्चित मूल्यमान्यताबारे उनीहरू बेखबर जस्तै देखिन्छन् । बालबालिकासँग पनि । परिणामस्वरूप, पीडितमाथि थप हिंसा, दोषारोपण, असंवेदनशील प्रस्तुतिले एक जनअदालत तयार हुन थाल्छ । भिडको निर्णय हाबी भइदिन्छ, जसले जनतालाई सचेत होइन, भ्रमित बनाउँछ । यस्ता निजी विषयका हजारौँ मुद्दामा यसरी नै खेलेर थुप्रैले आफ्नो प्रभुत्व मिडिया जगत्मा जमाएका छन् भने थुप्रै विषय यसरी नै गिजोलिइरहेका छन् । कैयौँले व्यक्तिगत रूपमा प्रहार गर्दै केवल आफ्नो भ्युज बढाउन बिनाआधारका सूचना, सामग्री, मनलाग्दी हेडलाइनको खेती गरिरहे । गरिरहेका छन् ।
भाइरल हुने प्रतिस्पर्धाको मौन मूल्य
अफवाहको खेतीको आफ्नै बाक्लो जालो भइसक्यो । एआईको बढ्दो प्रयोगसँगै जानकार व्यक्तिसमेत झुक्किने अवस्था छ । धेरै जसो अर्थहीन वा अनावश्यक कन्टेन्टले आमनेपाली, जनमानसको समय र ऊर्जा उल्लेखनीय मात्रामा नष्ट गरिराखेका छन् । वास्तविक मुद्दा, समाज र देशलाई जोड्ने जस्ता उत्तरदायी विषय भने छायामा । गसिप, स्क्यान्डल, द्वेष र निराशाको आधारमा सनसनी मच्चाउनेको जालमा सर्वसाधारण बेहोसीमै प्रयोग भइरहेका छन् ।
जब लाखौँ मानिस हचुवामा जेसुकै कन्टेन्ट वा भिडियोमा झुन्डिन्छन् सही, प्रमाणित, महत्वपूर्ण विषय भने ओझेलमा पर्छन्, तब महसुस हुन्छ (गुणस्तरीय पत्रकारिता हारिरहेको छ, छटपटाइरहेको छ) उस्तै पनि गुणस्तरीय पत्रकारिता थुप्रै कुरामा मारमा थियो नै । अनि संवेदनशील अवस्था वा आपत्विपत्मा यसको चर्को मूल्य पर्न जान्छ । सनसनी फैलाएर प्रभुत्व जमाएका, पत्रकारिताको मर्म नबुझेका ‘पत्रकारले’ भिडलाई पूरै गलत दिशामा लैजान सक्ने क्षमता राख्छन् भने, यता साँचो अर्थमा पत्रकारिता गरिराखेकाहरूले यस्तो कदम रोक्न वा यसलाई काउन्टर गर्न सक्ने अवस्थामा हुँदैनन् । उनीहरू सूचना प्रमाणित गर्न केही समय लिन्छन्, जिम्मेवार हुन चाहन्छन् । जबकि अर्कोथरीलाई केवल भाइरल हुनु छ, जुनसुकै मूल्यमा ।
भर्खरैको जेनजी आन्दोलनमा केही युटुबरले अनेक अफवाह फैल्याएर युवा पुस्ताको ठुलो जमातलाई गलत दिशामा लगे, थप विध्वंस निम्त्याउन अहम् भूमिका खेले । उनीहरूको यो हर्कत खुल्दासम्म धेरै कुरा तहसनहस भइसकेको थियो ।
यसरी जसले उत्तरदायित्व निभाउन सक्ने क्षमता राख्दैन, उसको असङ्ख्य फलोअर हुनु, उसको हातमा सूचना सम्प्रेषणको ठुलो शक्ति हुनु कुनै पनि समाज वा राष्ट्रका ठुलो खतराको घण्टी हो । कहिलेकाहीँ यो कहालीलाग्दो रूपमा घातक हुन सक्छ–जुन यस पटक देखियो पनि । राज्यले यस्ता कुरा नियन्त्रण गर्न केही व्यवस्था नगरेको होइन । बेला बेलामा थप गर्न नखोजेको पनि होइन । सूचनाको हक र नियन्त्रण, राज्यको नियत र जनताको स्वतन्त्रताको मुद्दा आदिबिचको खिचातानीमा दुवै पक्षको भूमिका र जवाफदेहिताको स्पष्टताको कमीले गर्दा यस्तो प्रयासले खासै नतिजा दिन सकेन तर यो बेवास्ता गर्न सकिने विषय होइन ।
अर्कोतर्फ, यो अराजक परिस्थितिको ठुलो कारक भनेको व्यावसायिक भनिएको पत्रकारिता जगत्ले आफ्नै कारण गुमाएको साख पनि हुँदै हो । समयको अन्तरालमा ठुला भनिएका मिडिया कमाउ धन्दामा लाग्दा, निष्ठामा खरो नउत्रिँदा, पत्रकार दलीयकरणको चपेटामा पर्दा, न्यायभन्दा दलाली र गुलामी अँगाल्दा अविश्वासको खाडल गहिरिँदै गयो । बचेखुचेका केही छन्, जो निरन्तर पत्रकारिताको धर्ममै चलेका छन्, स्वविवेकले चलेका छन् । थुप्रै राम्रा र सक्षम पत्रकार पलायन पनि भए, अनि यो क्रम जारी छ । जबकि पछिल्लो दशकमा नयाँ सशक्त पत्रकार उत्पादन हुने वातावरण रहेन । यसरी असल र अब्बल पत्रकार कम सङ्ख्यामा, केवल भाइरल हुन उद्वेलित धेरै र प्रभावशाली अवतारमा । जसले असन्तुलनको स्थिति बनेको छ । यसले पत्रकारिता जगत्लाई गिज्याइरहेको मात्र होइन, नागरिकको निर्णय क्षमतामा पनि ठुलो प्रभाव पारेको छ । अर्थ–सत्य वा भावनामा चल्ने समाजले सत्तालाई जवाफदेही बनाउन कसरी सक्नु ? लोकतन्त्र कसरी सुदृढ गर्नु ?
पाठक/दर्शकको जिम्मेवारी र आगामी बाटो
मिडिया वा पत्रकारको दोष एकतिर, राज्यको नियम कानुन पर्याप्त वा प्रभावकारी नहुनु अर्कोतिर । यसमा पाठक वा दर्शकको दोषचाहिँ कति ? हरेक पटक जब हामी अप्रमाणित सामग्री सेयर गर्छौं, गसिपमा प्रतिक्रिया दिन्छौँ वा सनसनीपूर्ण भिडियोमा टिप्पणी गर्छौं, हामी त्यही व्यवहारलाई पुरस्कृत गर्छौं, जसले समाजलाई गलत दिशातिर धकेलिरहेको छ । हामी सहजै झुटको इकोसिस्टमको सेयर होल्डर तुरुन्तै बन्छौँ, प्राय बेहोसीमै ।
मिडिया साक्षरता पर्याप्त नहुँदा नै यो स्थिति आएको हो । नागरिकले सचेत भएर सूचनाको स्रोत र गुणस्तर मूल्याङ्कन गर्न थाले भने अवाञ्छित तत्व हराउँदै जान्छ । डिजिटल कन्टेन्ट ग्रहण गर्दै आफैँले आफैँलाई सञ्चालन कति गर्न सकेँ र सामाजिक सञ्जालको कमाउ परिपाटी, जालोबाट कति सञ्चालित भएँ, भेउ पाउने छन् ।
प्रमाणित र तथ्यपरक सामग्रीलाई सशक्त बनाउन पारदर्शी प्रणालीको खाँचो छ । प्रभावकारी मिडिया साक्षरताका लागि विद्यालयदेखि सामुदायिक तहसम्म नागरिकलाई सामेल गराउनेदेखि नयाँ पुस्ताका पत्रकार र डिजिटल सामग्री निर्मातालाई पनि तालिम र त्यस्तै, सामाजिक सञ्जाल तथा मिडिया प्लेटफर्मलाई उत्तरदायी बनाउने व्यवस्था अत्यावश्यक भएको छ । राज्यले यस्ता सबै कुरा समेटेर चुस्त र सही बाटोका लागि मार्ग प्रशस्त गर्नु पर्छ, जसले विवेकपूर्ण, जिम्मेवार स्टोरी टेलिङको मूल्य पुनस्र्थापना गर्न सहयोग गरोस् ।
आजको बदलिँदो समाज, परिस्थिति र झन् जेनजी आन्दोनपछि देशले खोजेको समग्र कोर्स करेक्सनका लागि त झनै पेचिलो विषय मान्नु पर्छ डिजिटल साक्षरता र सशक्तीकरण । देशको लोकतान्त्रिक यात्रालाई चाहिएको छ–सही पत्रकारिता । जसले केवल जानकारी होइन, जिम्मेबार ढङ्गले समग्र देशलाई नै दिशा दिइरहेको हुन्छ, हरेक कोणबाट माथि उठाइरहेको हुन्छ ।