विनय कर्ण
कल्याणपुर (सप्तरी), कात्तिक २९ गते । राजविराजबाट करदाता सेवा कार्यालय नसार्न गरिएको हस्ताक्षर प्रधानमन्त्रीलाई पठाउन प्रमुख जिल्ला अधिकारीलाई जिम्मा लगाइएको छ ।
शुक्रबार उद्योग बाणिज्य संघको अगुवाइमा गत कात्तिक २२ गतेबाट सङ्कलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलमार्फत प्रधानमन्त्री सुशिला कार्कीलाई पठाउन जिम्मा लगाइएको हो ।
करदाता सेवा कार्यालय नसार्न सरकारलाई आग्रह गर्दै राजविराजको गजेन्द्र चोकमा हस्ताक्षर सङ्कलन गरिएको पाँच हजारभन्दा बढि हस्ताक्षर प्रधानमन्त्रीलाई कार्कीलाई पठाइएको उद्योग वाणिज्य संघ सप्तरीका महासचिव अमृत संचेतीले जानकारी दिनुभयो ।
हातमा कालोपट्टी बाँधेर जिल्ला प्रशासन कार्यालय पुगेका संघका पदाधिकारीले हस्ताक्षर गरिएको तुल बुझाएका हुन् । करदाता सेवा कार्यालय सार्न लागेको विरोधमा सप्तरी उद्योग वाणिज्य संघले निरन्तर आन्दोलन गर्दै आएको छ ।
यसअघि हस्ताक्षर सङ्कलनका साथै धर्ना दिँदै आएको संघले शनिबार हातमा कालोपट्टी बाँधेर कारोबार गर्ने भएका छन् । सोही दिन दिउँसो ३ बजे भेला भई कालोपट्टी बाँधेर प्रदर्शन गर्ने निर्णय भएको सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रबालले जानकारी दिनुभयो ।
आन्दोलनअन्तर्गत ३० गते आइतबार बिहान १० देखि ११ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने कार्यक्रम समेत तय भएको उहाँले बताउनुभयो ।
संघका अध्यक्ष अग्रवालले जिल्लामा ७० हजारभन्दा बढि करदाता रहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय नै स्थापना हुनुपर्ने माग गर्नुभयो ।