• २९ कात्तिक २०८२, शनिबार

जैमिनीबासीको गुनासो : बाँदर आतङ्क रोकिएन, समयमै मल पाएनौं

blog

सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागिहरु । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, कात्तिक २९ गते ।
जैमिनी नगरपालिकाले समयमा मल र बिउ वितरण गर्न नसकेको, कृषि बालीमा क्षति पुग्दा क्षतिपूर्ति नपाएको र स्वास्थ्य बिमाबाट औषधी पाउन कठिन भएको गुनासो गरेका छन् ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकको लागि जैमिनी नगरपालिका वडा नं. ६ अर्जेवामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागिले अत्यावस्यक सेवामा नगरपालिकाले नागरिकको हितमा काम गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरुले कृषि क्षेत्रलाई बचाउन नसके बसाइ सराइको तीब्रता अझै बढ्ने पनि गुनासो गरे ।

बाँदर आतङ्कले किसानलाई नै पिरेको उनीहरुको गुनासो छ । झाडी र बुट्यान हटाउने काममा नगरपालिकाले साथ नदिएको, मल र बीउ समयमा नआएको र प्राकृतिक रुपमा पनि खडेरी, हावाहुरी र असिना जस्ता प्रकोपले सताएको उनीहरुको गुनासो छ । त्यसका लागि किसानको उत्पादनको बीमा हुनुपर्ने समेत अधिकांसको भनाइ छ । किसानले समयमा मल र बीउ पाउन नसकेकोले उत्पादनमा असर परेको उनीहरुले बताए ।

जैमिनी १ का तिलक थापाले पटक पटक नगरपालिकामा आवाज उठाएपछि ढीलागरी मल आएको बताउनुभयो । बीमा गरेकाहरुले पनि समयमा औषधी नपाएकोले नगरपालिकाले अत्यावस्यक सेवामा चासो राख्ने र सेवा प्रवाहमा असर परेको देखिएमा हस्तक्षेप गर्नुपर्ने थापाले सुझाव दिनुभयो । उहाँले कृषि प्राविधिकहरु किसानको घरदैलोमा नगएको समेत टिप्पणी गर्नुभयो । नगरपालिकाले दिएको सवारी साधन घर र सदरमुकाम जान मात्र नभइ फिल्डमा जान पनि भएको उहाँको सुझाव छ ।

कार्यक्रममा जैमिनी ६ का दलबहादुर थापाले बाँदर आतङ्कले खेतीपातीमा असर परेको गुनासो गर्दै प्राकृतिक स्रोत साधन उत्खनन्मा नगरपालिकाले अनुगमन गर्न नसकेको बताउनुभयो । अर्का सहभागि चित्रबहादुर थापाले बेरुजु बढ्दै गएको भन्दै नगरपालिका समयमा सचेत रहन आग्रह गर्दै बिपतमा नगरले साथ नदिएको गुनासो गर्नुभयो । उहाँले खानेपानीको समस्यामा परेका बस्तीमा नगरपालिकाले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

नगरप्रमुख नरबहादुर पुनले कानुन संशोधन अभावमा विकासका काम रोकिएको भन्दै बाँदर नियन्त्रण र रुख बुट्यान काट्ने काम कानुनी समस्याले असर परेको बताउनुभयो । त्यस्तै औषधी र कृषि मलबारे आएको समस्याको समाधानमा तत्काल पहल गर्ने र आगामी दिनमा अप्ठ्यारो पर्न नदिने पुनले आश्वासन दिनुभएको छ ।  

नगर उपप्रमुख हरिहर शर्माले कृषि सडक कालोपत्र गरेर किसानका उत्पादनलाई बजारसम्म लैजने योजनासहित एशियाली विकास बैंकको सहयोगमा कालोपत्र गर्ने लक्ष्यमा लागेको बताउनुभयो । उहाँले बजेट व्यवस्थापन गरेर अन्य धेरै विकासका कामलाई अगाडि बढाउने सोचबारे समेत जानकारी गराउनुभएको थियो । पर्यटन प्रवर्धन र कालीगण्डकी करिडोरको उपयोग गर्ने अभियानमा स्थानीयलाई समेत जागृत गराउने उहाँको भनाइ थियो ।

प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले बेरुजु कम गर्न पहल भएको, सैद्धान्तिक बेरुजु बाहेक अन्य न्यूनीकरण भएको, सार्वजनिक खरिद ऐनका कारण आएका समस्या समाधान गर्ने र ठेकेदारलाई काममा फर्काएर अलपत्र काम पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।