- परम्परागत पोसाक ‘बाखु’ र ‘होनजु’ धार्मिक पर्वमा लगाइन्छ भने युवापुस्तामा आधुनिक फेसन लोकप्रिय छ ।
- गान्तोकले सफा, व्यवस्थित, पर्यटकमैत्री, बहुसांस्कृतिक र अनुशासित सहरको मोडेल प्रस्तुत गरेको छ ।
- गान्तोक एउटा जीवित सांस्कृतिक सङ्ग्रहालय हो । यहाँ भूगोलले सुन्दरता दिएको छ, भाषिक विविधताले रङ भरेको छ, पर्यटनले जीवन्तता थपेको छ र अनुशासनले सहरलाई अनुकरणीय बनाएको छ ।
नेपाली सञ्चारकर्मीको एक टोली एकसाता भारत भ्रमणको क्रममा दिल्ली पुगेको थियो । आगरासहित दिल्लीमा चार दिन विभिन्न स्थानको अवलोकन गरेर दिल्लीको पहाडगन्जस्थित महारानी होटेलमा बसिरहेका थियौँ । त्यहाँ आएर हाम्रो टोलीको नेतृत्व गरिरहेको सञ्जिवविक्रम साहले भन्न थाल्नुभयो, अब भोलि हामी दाजर्लिङ हुँदै सिक्किमको राजधानी गान्तोकतिर लाग्नु पर्छ । हामी सोही अनुसार तयार भएर बागडोगरा एयरपोर्टबाट दाजर्लिङ हुँदै सिक्किम राज्यको राजधानी गान्तोक पुग्याैँ ।
गत भदौ २ गतेदेखि ९ गतेसम्मको भ्रमणमा सहभागी मधेश प्रदेशका तीन जिल्लाका नौ जना सञ्चारकर्मीमध्ये सात जनाका लागि सिक्किमको मुख्य प्रवेशद्वार रङ्गपोदेखि गन्तोकसम्मको यात्राले बेग्लै अनुभूत गराएको छ । सहभागीमध्ये दुई जनाको गान्तोक भ्रमण यो दोस्रो पटक थियो । पश्चिम बङ्गालको सीमा भएर सिक्किम छिर्नलाई रङ्गपोमा सहभागीको पहिचानका लागि नेपाली नागरिकता वा पासपोर्ट अनिवार्य भयो । नागरिकता वा राहदानी अनुसार प्रवेश फाराम भरेर दिएपछि लिखित रूपमा प्रवेशको अनुमति पाएर राति करिब नौ बजेतिर गान्तोक पुग्यौँ । प्रवेशद्वारमा गन्तोकको कुन होटेलमा कति दिन बस्ने, कुन होटेल बुक गरेको छ भन्नेसम्मको सोधपुछपछि विश्वास लागेर लिखित अनुमति दिएको थियो । यसको अर्थ के बुझ्यौँ भने पर्यटक अलपत्ररहित सुरक्षित, व्यवस्थित एवं उद्देश्य अनुरूप इच्छा पूरा गरेर फर्कनु हो । अर्थात् पर्यटकलाई कुनै प्रकारको बाधा अड्चन, समस्या नहोस् र जुन कामले गइरहेका छन् । सोही काम मात्र गरुन् भन्ने थियो ।
पूर्वी हिमालयको फेदमा पाँच हजारभन्दा बढी फिटको उचाइमा अवस्थित भारतको सिक्किम राज्यको राजधानी गान्तोक प्रशासनिक, संस्कृतिको सङ्गम, पर्यटनको धरोहर र व्यापारिक गतिविधिको प्रमुख केन्द्रसँगै बिदाको समय बिताउन, मनोरञ्जन गर्न, आनन्द लिने स्थानको रूपमा लिइएको छ । हरियालीले भरिएका डाँडाकाँडा, हिउँले ढाकिएको हिमालहरूको मनमोहक दृश्य र स्वच्छ हावाले नेपालीसहित आउने विदेशी पर्यटकलाई गान्तोकले मोहित गर्छ । गर्मीमा चिस्यानयुक्त न्यानोपन र जाडोमा चिसो तर कठोर नभएको मौसमले पर्यटकलाई थप वातावरणमैत्री महसुस गराएको छ ।
नेपाली पर्यटकको रोजाइमा समेत परेको गान्तोकमा लेप्चा, भुटिया, नेवार, गुरुङ, लिम्बू, नेपाली, तामाङ र बङ्गाली समुदायको मिश्रण बसोबास रहेको भए पनि नेपाली प्रमुख भाषा रहेको पाइयो । नेपाली प्रमुख बोली भए पनि अङ्ग्रेजी, हिन्दी, सिक्किमी र तिब्बती भाषाहरू प्रचलनमा रहेको एक ट्याक्सी चालकको कथन छ । यसै कारण गान्तोकलाई एक बहुभाषिक सहर पनि भन्ने गरेको उहाँको भनाइ थियो । बोलचाल, कार्यालय प्रयोजनमा समेत नेपाली भाषा प्रचलनमा रहेको र खानपान पनि नेपाली जस्तै पाइएकाले गान्तोकमा हुँदा पनि नेपालमै छौँ जस्तो अनुभूत गरियो ।
गान्तोकको मुटु एमजी मार्ग
पैदल यात्रामैत्री सडक, पर्याप्त बिश्राम टेबल, स्वच्छ वातावरण, झिलिमिली बत्ती, रङ्गीचङ्गी पसल, कफी हाउस र स्थानीय हस्तकला पसलहरू एवं सुरक्षाको उत्कृष्ट व्यवस्थापनले गान्तोकको एमजी मार्ग (महात्मा गान्धी मार्ग), लालबजार, देउराली बजार पर्यटकको मुख्य आकर्षण बनेको छ । “यहाँको पर्यटकमैत्री वातावरणमा घुमफिर गरेर बस्न, खान, आनन्द लिन, सामग्री खरिद गर्न पर्यटक खचाखच भरिएको हुन्छ,” स्थानीय व्यापारी राखी गुप्ताले भन्नुभयो । दिल्लीबाट आएका एक पर्यटकले भन्नुभयो, “एमजी मार्गमा हिँड्दा यस्तो लाग्छ, मानौँ पूरै सहर उत्सवमा रमाएको छ ।” ताशी भ्यु प्वाइन्टबाट देखिने कञ्चनजङ्घा हिमालको दृश्यले सबैलाई मोहित पार्छ ।
मुख्य पर्यटक स्थल
एमजी मार्गसँगै हाम्रो नेपाली टोली रुमटेक मठ, नामग्याल संस्थान अफ तिब्बतोलोजी, एनचि मठ, गणेश टक र ताशी भ्यु प्वाइन्ट, वनझाँक्री झिल स्थलको अवलोकन गरेको थियो । ती स्थानको पनि व्यवस्थापनले पर्यटकलाई लोभ्याउने गरेको छ । परम्परागत पोसाकदेखि ट्रेन्डी फेसनसम्मका मिश्रण, स्थानीय खानपान थुक्पा, मोमो र चियाले रैथाने स्वादलाई झल्काउथ्यो । यसले साधारण जीवनका कुरा, प्राकृतिक वा ग्रामीण परिवेशमा, स्थानीय परम्परा र देशी स्वादलाई पस्किने गरेको छ ।
सुरक्षित स्वरोजगार
गान्तोकको सडक सञ्जाल सुन्दर, सफा र व्यवस्थित छ । डाँडाकाँडाबिच बनेका सडक साँघुरा भए पनि नियमित मर्मत र स्वच्छताले यात्रालाई सहज अनुभूति दिने गर्छ । सडकमा सरसफाइ, फोहोर व्यवस्थापनमा स्थानीय सरकार सचेत देखिएको छ । यिनै आकर्षणले पर्यटक आगमन बर्सेनि बढ्दो क्रममा छ । ट्याक्सी चालक रमेश गुरुङले भन्नुभयो, “वर्षमा करिब ८० लाखको हाराहारीमा पर्यटक गान्तोक आउने गर्छन् । कम्तीमा दुई÷तीन रात बसेर जान्छन् । गान्तोकभित्र मात्रै तीन लाखभन्दा बढी ट्याक्सी सञ्चालनमा छ । हामी जोसुकै पर्यटकसँगै मैत्रीपूर्ण व्यवहार गर्छौं । तोकेको भाडाभन्दा एक रुपियाँ पनि बढी लिँदैनौँ र लिन पनि दिँदैनाँै । यदि कसैले बदमासी ग¥यो भने तुरुन्त जरिबानासहित कारबाही गर्छौं ।” पर्यटक भित्रिने सङ्ख्या बढेकै कारण व्यावसायिक ट्याक्सी सञ्चालन गरेर धेरैले स्वरोजगार गरिरहेका छन् ।
गान्तोकभित्रका पर्यटकीय स्थलहरू घुमफिर गर्न पनि छुट्टै नियम बनाइएको छ । आफ्नो सवारीसाधन लिएर बाहिरबाट गएका पर्यटकलाई बस्ने होटेलसम्म मात्र गुड्न (चल्न) दिन्छ । गान्तोक सहरभित्रका पर्यटकीय स्थल घुम्न, अवलोकन गर्न, भ्रमण गर्न स्थानीय ट्याक्सी वा सवारीको प्रयोग अनिवार्य गरिएको छ । यसले ट्याक्सी व्यावसायीलाई निकै आर्थिक फाइदा पुगेको छ । उनीहरूको पेसालाई सुरक्षित पनि बनाएको छ ।
भारतका अन्य राज्यसँगै नेपाल, युरोप, अमेरिका, दक्षिण–पूर्व एसियाबाट समेत पर्यटक आउने हुनाले होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी र हस्तकलामा प्रशस्त रोजगारी सिर्जना गरिएको छ । ह्विस्की, रम, स्कचसहित रक्सीमा एकदमै न्यून अन्तःशुल्क लगाइएकाले पर्यटकलाई गान्तोकमा टिक्न थप बल पुगेको भ्रमणका सहभागी दिपेश जोशीले अनुभव सुनाउनुभयो ।
एक परिवार एक जागिर
राज्य सरकारले एक घर एक जागिर अनिवार्य लागु गरेको स्थानीय व्यापारी राजन गुप्ताले भन्नुभयो । यसै कारण प्रत्येक परिवारमा कम्तीमा एक जना जागिरे छन् । जागिरबाहेक परिवारका अन्य सदस्य व्यापार व्यवसायमा लागेका छन् । यसले यहाँको व्यवसाय पनि पर्यटनसँगै फस्टाएको छ । चिया, हस्तकला, बौद्ध धार्मिक सामग्री र वस्त्र व्यापार यहाँ प्रख्यात छन् । यहाँका स्थानीय केही उत्पादन अन्य राज्यमा बेच्न नपाइनेसम्म प्रतिबन्ध पनि गरिएको बताउँदै उहाँले भन्नुभयो, यसको उदाहरण हो, तिस्ता ह्स्किी र अन्य ।
जग्गा खरिदबिक्रीमा प्रतिबन्ध
स्थानीय बसोबासलाई व्यवस्थित, सुरक्षित, वातावरणमैत्री कायम राख्नका लागि राज्यले गान्तोकमा बाहिरको मानिसलाई जग्गा खरिद बिक्रीमा भने कडाइ गरेको छ । सिक्किमको मूलवासी मात्र जग्गा किन्न वा बिक्री गर्न पाउने कानुनी व्यवस्था रहेको स्थानीयवासीको कथन छ । बाहिरी व्यक्तिलाई स्थायी सम्पत्ति खरिदमा प्रतिबन्ध छ । यसले स्थानीय नागरिकको हित सुरक्षित गरेको छ । एक स्थानीय बासिन्दाले भन्नुभयो, “यो नियमले हाम्रो पहिचान जोगाएको छ, बाहिरका मानिसलाई यहाँ बस्न रोक्दैन तर सम्पत्ति किनबेचमा नियन्त्रण आवश्यक छ ।”
बाहिरका नागरिकले यहाँ जग्गा खरिद गर्न नपाए पनि व्यापार व्यवसाय भने गर्न पाउँछन् । व्यापार व्यवसाय गर्न लिज (भाडा) मा जग्गा घर पाउँछन् । एक पटकमा ४० वर्षसम्म लिज लिनुपर्ने प्रावधान रहेको स्थानीय व्यवसायी सुधिर जैसीले बताउनुभयो ।
सफा र अनुशासित सहर
यहाँको रहनसहन, लवाइखुवाइ, पहिरन, वेशभुषामा परम्परागत र आधुनिकताको सुन्दर मिश्रण देखिन्छ । परम्परागत पोसाक ‘बाखु’ र ‘होनजु’ धार्मिक पर्वमा लगाइन्छ भने युवापुस्तामा आधुनिक फेसन लोकप्रिय छ । खानपानमा मोमो, थुक्पा, सेल रोटी र चिया मुख्य छन् । गान्तोक भारतकै सफा र अनुशासित सहरमध्ये एक र उत्कृष्ट हो । सडकहरूमा फोहोर थुप्रिएको देखिँदैन । प्लास्टिक प्रयोगमा कडाइ गरिएको छ र पैदल यात्रुलाई प्राथमिकता दिइन्छ । सडक साँघुरा भए पनि नियमित मर्मत र सरसफाइले यात्रा सहज तथा सम्भव बनाएको छ ।
हाम्रो पाठ
पर्यटन भित्र्याउन गान्तोक सहरबाट हामी नेपालीले धेरै कुरा सिक्न सक्छौँ । नेपालका सङ्घीय, प्रदेश र स्थानीय सरकारले त्यहाँ पर्यटकलाई भित्र्याउन, भित्रिएपछि बस्न, टिकाउन गरेको व्यवस्थापकीय पक्ष सिक्न आवश्यक छ । मधेश प्रदेश सरकारले ‘घुमौँ मधेश, बुझौँ मधेश’ नारा दिएर पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सो लक्ष्य पूरा गर्न मधेश प्रदेश सरकारले गान्तोक सहरबाट धेरै कुरा सिक्न सक्छ । जसबाट ती लक्ष्य पूरा गर्न र योजना बनाउन मद्दत पुग्ने छ । आर्थिक दृष्टिकोणले पनि गान्तोकले मधेशका लागि महत्वपूर्ण पाठ बन्न सक्छ । यहाँ पर्यटनसँगै व्यापार फस्टाएको छ । हस्तकला, चिया, धार्मिक सामग्री, रेस्टुरेन्ट र होटेल व्यवसायले रोजगारी सिर्जना गरेको छ । मधेशले पनि पर्यटन र स्थानीय उत्पादनबिच सन्तुलन कायम गर्दै रोजगार सिर्जना, आर्थिक विकास र सांस्कृतिक संरक्षण गर्न सक्छ ।
गान्तोकमा नागरिक, व्यवसायी र सरकारबिचको सहकार्य प्रस्ट देखिन्छ । सरसफाइ, ट्राफिक व्यवस्थापन र पर्यटक सेवामा सबैको योगदान छ । स्थानीय बासिन्दा भन्छन्, “हामी सरसफाइलाई केवल प्रशासनको जिम्मेवारी होइन, नागरिक संस्कृतिको हिस्सा मान्छौँ ।” यसबाट मधेशले नागरिक सहभागिता, स्थानीय शासनको प्रभावकारिता र सामुदायिक सहकार्यको महत्व सिक्न जरुरी छ । गान्तोकले सफा, व्यवस्थित, पर्यटकमैत्री, बहुसांस्कृतिक र अनुशासित सहरको मोडेल प्रस्तुत गरेको छ । यसको अनुशासन, सरसफाइ, सांस्कृतिक मेलमिलाप र आर्थिक समृद्धि मधेशको विकास र पहिचान निर्माणमा मार्गदर्शन हुन सक्छ ।
तिस्ता नदीको किनारबाट पहाडी क्षेत्रको एक/दुई स्थानमा पहिरो छिचोल्दै गान्तोक भ्रमणबाट फर्किंदै गर्दा हामीले यहाँको ट्राफिक व्यवस्थापन, रात्रिकालीन सुरक्षा, सामाजिक सद्भावदेखि पर्यटकमैत्री वातावरण, शान्ति र सुव्यवस्था अन्य पर्यटक सहरका लागि अनुकरणीय रहेको अनुभूति ग¥यौँ । गान्तोक एउटा जीवित सांस्कृतिक सङ्ग्रहालय हो । यहाँ भूगोलले सुन्दरता दिएको छ, भाषिक विविधताले रङ भरेको छ, पर्यटनले जीवन्तता थपेको छ र अनुशासनले सहरलाई अनुकरणीय बनाएको छ । यसैले गान्तोक पर्यटकीयको आकर्षणको केन्द्र बनेको छ ।