• २२ कात्तिक २०८२, शनिबार

ब्राजिलमा आँधीका कारण पाँचको मृत्यु, १३० जना घाइते

blog

ब्रासिलिया(ब्राजिल), कात्तिक २२ गते । दक्षिणी ब्राजिलकका विभिन्न भागमा शुक्रबार आएको आँधीका कारण कम्तीमा पाँच जनाको ज्यान जानुका साथै १३० जना घाइते भएको अधिकारीले शनिवार बताएका छन् ।

आँधीको कारण पाराना राज्यको रियो बोनिटो डो इगुआकु नगरपालिकाको कार पल्टिएको तथा घर क्षतिग्रस्त भएको स्थानीय मौसम सेवाले जनाएको छ । आँधीका कारण पराना राज्यको विभिन्न स्थान पभावित भएको उल्लेख गर्दै सिभिल डिफेन्सले विज्ञप्ति जारी गरेको एएफपीले जनाएको छ ।  

आँधीका कारण ३० जना गम्भीर घाइते भएको र करिब सय जना सामान्य घाइते भएको स्थानीय उद्धार एजेन्सीले जनाएको छ । पारानाको वातावरणीय प्रविधि र अनुगमन प्रणालीअनुसार रियो बोनिटो डो इगुआकुमा हावा १८०-२५० किलोमिटर प्रति घण्टाको गतिमा आएको थियो ।  

आँधीका कारण रूख ढल्नुका काथै घरमा क्षति भएको एजेन्सीले जनाएको छ । पारानाका गभर्नर रतिन्हो जुनियरले सामाजिक सञ्जाल एक्समा “सुरक्षाका लागि सेना परिचालन गरी गम्भीर आँधीबेहरीबाट प्रभावित सहरको निगरानी गरिरहेको बताउनु भएको छ । मौसम अधिकारीका अनुसार परानाका साथै दक्षिणी राज्य सान्ता क्याटरिना र रियो ग्रान्डे डो सुलका लागि थप खतरनाक आँधीबेहरीको चेतावनी जारी गरिएको छ । रासस/एएफपी