काबुल, कात्तिक २२ गते । अफगानिस्तानको तालिबान सरकारले शनिबार पाकिस्तानसँग भएको पछिल्लो चरणको शान्ति वार्ता पुनः असफल भएको पुष्टि गर्दै इस्लामाबादको ‘गैरजिम्मेवारपूर्ण र असहयोगी व्यवहार’लाई मुख्य कारण ठहर गरेको छ ।
काबुलले वार्ता असफल भएपछि दुवै देशबिच पुनः हिंसा भड्किने डर व्यक्त गरेको छ । दक्षिण एसियाली छिमेकी दुवै मुलुकबिच गत अक्टोबर १९ मा कतारमा युद्धविरामका लागि प्रारम्भिक सहमति भएको थियो । उक्त समझदारीलाई अन्तिम रूप दिन दुई देशका प्रतिनिधिले बिहीबार टर्कीमा भेट गरेका थिए ।
तर लामो समयदेखि सुरक्षा विषयमा मात्र केन्द्रित रहँदै आएको वार्ताको ठोस विवरण दुवै पक्षले सार्वजनिक गरेका छैनन् । “वार्ताका क्रममा पाकिस्तानी प्रतिनिधिले आफ्नो सुरक्षाको सम्पूर्ण जिम्मेवारी अफगानिस्तानमाथि थोपर्ने प्रयास गरेका थिए, तर न त आफ्नै सुरक्षा सुनिश्चित गर्न चाहेका थिए, न त अफगान सुरक्षाबारे कुनै स्पष्ट दृष्टिकोण दिएका थिए”, तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जालमार्फत लेख्दै भन्नुभयो, “पाकिस्तानी टोलीको गैरजिम्मेवार र असहयोगी मनोवृत्तिका कारण वार्ता कुनै परिणाममा पुग्न सकेन ।”
यसबारे पाकिस्तान सरकार न मध्यस्थ कर्ता दुवैले तुरुन्तै कुनै प्रतिक्रिया दिएका छन् । “आतङ्कवाद दमनको जिम्मेवारी अफगानिस्तानकै हो, तर उनीहरू यसमा असफल भइरहेका छन्”, पाकिस्तानका सूचनामन्त्री अत्ताउल्ला तरारले भने वार्ता असफल हुने सङ्केत एक दिनअघि नै दिँदै भन्नुभएको थियो, “पाकिस्तानले आफ्ना जनताको सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ता जोगाउन आवश्यक सबै विकल्प प्रयोग गर्न जारी राख्ने छ ।”
-माग र आरोप-
अफगानिस्तान र पाकिस्तानबिच हालका वर्षमा दुई हजार ६०० किलोमिटर लामो साझा सीमामा बारम्बार हिंसात्मक झडप हुँदै आएका छन् । पाकिस्तानले अफगानिस्तानमाथि आफ्ना भित्री क्षेत्रमा आक्रमण गर्ने आतङ्कवादी समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ । उक्त आरोपलाई तालिबान सरकारले निरन्तर अस्वीकार गर्दै आएको छ ।
इस्लामाबादले विशेष गरी पाकिस्तानी तालिबान (तेहरिक-ए-तालिबान पाकिस्तान) नामक समूहलाई काबुलले समर्थन गरेको दाबी गर्दै आएको छ र यसमा रोक लगाउन औपचारिक ग्यारेन्टी माग्दै आएको छ । तर तालिबान सरकारले आफ्नो भूमिमा त्यस्ता समूहको अस्तित्वलाई नकार्दै पाकिस्तानले आफैँ अफगान सार्वभौमसत्तामा हस्तक्षेप गरेको आरोप लगाएको छ ।
गत महिनामा मात्र दुवै देशबिचको सीमा क्षेत्रमा भएका घातक झडपमा ७० जनाभन्दा बढी व्यक्तिको मृत्यु र सयौँ घाइते भएका थिए । यस्ता घटनाका कारण दवबै पक्षले फेरि युद्धविराम तोड्ने चेतावनी दिएका छन् । अफगानिस्तानको स्पिन बोल्डक क्षेत्रमा भएको पछिल्लो झडपपछि दुवै पक्षले एकअर्कालाई दोषारोपण गरेका छन् । जिल्ला अस्पतालका एक अधिकारीले एएफपीसँग कुरा गर्दै चार महिला र एक पुरुषसहित पाँच जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
तालिबानका प्रवक्ता मुजाहिदले भन्नुभयो, “हामीले वार्ता टोलीप्रति सम्मान देखाएका छौँ र नागरिकको ज्यान बचाउन संयमता अपनाएका छौँ ।” यसैबिच, इस्लामाबादले अफगानिस्तानले आफ्ना दीर्घकालीन छिमेकी सम्बन्धलाई कमजोर पार्दै ऐतिहासिक शत्रु भारतसँग घनिष्ठता बढाउने प्रयास गरेको आरोप पनि लगाएको छ । यो पछिल्लो असफल वार्तासँगै अफगानिस्तान र पाकिस्तानबिचको सम्बन्ध फेरि तनावपूर्ण बनेको छ, जसले क्षेत्रीय स्थिरतामाथि थप चुनौती सिर्जना गर्ने विश्लेषकको ठम्याइ रहेको छ । रासस/एएफपी