• २२ कात्तिक २०८२, शनिबार

गल्याङ नगरपालिका–७ विजेता

blog

अर्जुन काफ्ले 

स्याङ्जा, कात्तिक २२ गते । कालीगण्डकी गाउँपालिका–३, लसर्घा आलमदेवी देउरालीमा जनज्योति युवा क्लबले आयोजना गरेको ३९औँ खुला पुरुष भलिबलमा गल्याङ नगरपालिका–७ विजेता बनेको छ । 

हरिबोधनी एकादशी पर्वको अवसरमा भएको प्रतियोगितामा गल्याङ–७ ले कालीगण्डकी गाउँपालिका –१ लाई ३–० को सिधा सेटमा पराजित गर्दै उपाधि जितेको हो । गल्याङ–७ ले एक लाख ३० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो भने उपविजेता कालीगण्डकी–१ ले ८० हजार रुपियाँ पायो । 

तेस्रो भएको कालीगण्डकी–३ ले ४० हजार र सान्त्वना कालीगण्डकी–४ ले २० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको हो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी सुगम विक (गल्याङ–७), उदयमान खेलाडी अभिनास सेन्चुरी (कालीगण्डकी–३), उत्कृष्ट स्पाइकर उमेश सेन्चुरी (गल्याङ–७), उत्कृष्ट सेटर सौरभ गुरुङ (गल्याङ–७), उत्कृष्ट ब्लकर रवी केसी (कालीगण्डकी–३), उत्कृष्ट सर्भर नवीन महतो (कालीगण्डकी–१), उत्कृष्ट डिफेन्डर राजन दर्लामी मगर (गल्याङ–७) र उत्कृष्ट प्रशिक्षक उमेश श्रेष्ठ (गल्याङ–७) घोषित हुनुभयो । 

विजेता, उपविजेता टिमलाई कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापामगरले पुरस्कार प्रदान गर्नु भएको हो । कात्तिक १६ गतेबाट सुरु भएको प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो ।