हुम्ला समाचारदाता
हुम्ला, कात्तिक २१ गते । गिट्टी कुटेर हुम्लाका महिलाले आम्दानी गर्दै आएका छन् । अन्नबाली थन्क्याएर बेरोजगार बस्नुभन्दा अतिरिक्त आम्दानी हुने भएकाले महिलाले गिट्टी कुट्ने काम गरिरहेका हुन् । खार्पुनाथ गाउँपालिका–४ को छिप्रागाउँकी रुक्बिनी उपाध्यायले हाल दैनिक गिट्टी कुटेर आम्दानी गर्दै आएको बताउनुभयो । बिहान ९ बाट बेलुका ५ बजेसम्म गिट्टी कुटे कमाइ गर्दै आएको उहाँको भनाइ छ । अन्नबाली थन्क्याउने काम सम्पन्न भएपछि महिलाले दैनिक गिट्टी कुटेर आम्दानी गरिरहेको उहाँले बताउनुभयो । त्यसै गरी अर्की कामदार काली हमालले पनि यसरी काम नगरे कमाइ नहुने र कमाइ नभए दैनिक जीवन टार्न समस्या हुने भएपछि गिट्टी कुट्ने काम गर्नु परेको जनाउनुभयो । गाउँपालिका केन्द्र याङ्चु बजारमा आरसिसी भवन निर्माण भइरहेकाले महिलाले गिट्टी कुट्ने काम पाएका हुन् । एक दिनमा १० देखि १५ बोरा गिट्टी कुट्ने गरेको बताउँदै उहाँले यो पेसा आम्दानीको राम्रो स्रोत भएको बताउनुभयो ।
त्यसै गरी डोल्मा बोहोराले १५ दिनदेखि यो काम गर्दै आएको बताउनुभयो । बेरोजगार भएर बस्नु परेका बेला विकासे काम आएपछि गिट्टी कुट्ने काम गर्न पाएकाले गाउँघरमै आम्दानी गर्न सजिलो भएको उहाँले बताउनुभयो । गिट्टी कुटेर कमाएको रुपियाँ केही घरखर्चमा र केही बैङ्कमा बचत गर्नसमेत महिला सफल भएको उहाँको भनाइ छ । हुम्लामा २५ केजीको एक बोरा गिट्टीको मूल्य एक सय रुपियाँ पर्ने गर्दछ । यसरी गिट्टी कुट्ने काममा १५ वर्षदेखि ६० वर्षसम्मका महिला संलग्न छन् । अहिले सो स्थानमा ४० जना महिलाले गिट्टी कुट्दै आएका छन् । यो काम खार्पुनाथका मात्र नभएर सात वटै गाउँपालिकाका महिलाले गर्दै आएका छन् ।