बागलुङ समाचारदाता
बागलुङ, कात्तिक २१ गते । स्वास्थ्य बिमा गरेकाहरूले समयमा औषधी नपाएको, बिमा कार्यक्रम लागुभएका अस्पतालको दिने सेवा गुणस्तर नभएको भन्नेलगायतका गुनासा निरन्तर आउने गरेका छन् तर त्यही स्वास्थ्य बिमाप्रति गाउँघरमा आकर्षण बढ्दो छ । पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष बिमा गराउने र बिमाबाट उपचार सेवा पाउनेको सङ्ख्या बढीरहेको छ ।
जिल्लाका सबै स्वास्थ्य चौकीमा हरेक वर्ष सेवाग्राही बढीरहेका तथ्याङ्कले देखाएको छ । उपचारका लागि धौलागिरि प्रादेशिक अस्पतालमा आउनुभएका बिरामीको सङ्ख्याको विश्लेषण गर्दा अधिकांश बिमा गरेका बिरामीले बिमाको सेवा पाउनका लागि आउने गरेका बताएका छन् । अस्पतालमा वर्षमा ६९ हजार बिरामीले स्वास्थ्य बिमाको सेवा लिएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. किरण तिवारीले बताउनुभयो ।
बिमाबाट ग्रामीण क्षेत्रमा सेवा लिनेको सङ्ख्या वर्षमा दुई लाख हाराहारी रहेको स्वास्थ्य बिमा बोर्डका संयोजक नारायण शर्माले बताउनुभयो । स्वास्थ्यमा जटिल समस्या भएर स्वास्थ्य सेवा लिने गरी धौलागिरि प्रादेशिक अस्पतालमा आउनेको सङ्ख्या पनि बढीरहेको शर्माको भनाइ छ ।
तिवारीले भन्नुभयो, “स्वास्थ्य बिमाबारे प्रभावकारिता बुझाउनु जरुरी छ । हरेक वर्ष सेवाग्राही बढीरहेकाले महत्व बुझ्ने र बुझाउने क्रम पनि जारी छ ।” आर्थिक वर्ष २०७७/७८ मा १९ हजार ५३५ जनाले धौलागिरि अस्पतालबाट सेवा लिएकोमा आव २०७८/७९ मा ३२ हजार ७५४ जनाले सेवा लिएका छन् । आर्थिक वर्ष २०८०/८१ मा त्यो सङ्ख्या ६८ हजार ६७८ पुगेको छ । गत आर्थिक वर्षमा पनि ६९ हजार ६०८ जनाले सेवा लिएको उहाँले जानकारी दिनुभयो ।
विशेष गरी थाइराइड, मधुमेह, मुटुरोग र उच्च रक्तचाप जस्ता दीर्घरोगको औषधी अस्पतालको फार्मेसीमा नपाएको गुनासो बिरामीले गरेपछि गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्ण पाठकले छड्के अनुगमन गर्नुभएको थियो ।