• १९ कात्तिक २०८२, बुधबार

मानव–वन्यजन्तु सहअस्तित्व : सङ्ख्या बढेसँगै द्वन्द्व पनि बढ्यो

blog

यदुप्रसाद भट्ट

मनाङ, कात्तिक १९ गते । दुर्लभ वन्यजन्तुको सङ्ख्या वृद्धिसँगै मानव–वन्यजन्तु द्वन्द्वका घटनामा पनि उत्तिकै बढ्दै गएका छन् । तराईमा बाघ, गैँडा र हात्तीसँग मानव–वन्यजन्तु द्वन्द्वका घटना धेरै भइरहेका बेला उच्च हिमाली क्षेत्रमा हिउँचितुवासँग मानव–वन्यजन्तुबिच द्वन्द्वका घटना बढी हुने गरेका छन् । 

मनाङको नार्पाभूमि गाउँपालिकामा यस वर्षको असारदेखि असोज महिनासम्म मात्रै हिउँचितुवाले आठ जना स्थानीयका २३ वटा घरपालुवा पशु मारेर क्षति पुगेको छ । 

नार्पाभूमिको नार र फू उपत्यका हिउँचितुवाका लागि उचित वासस्थान मानिन्छ । यो क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) अन्तर्गत पर्छ । जहाँ वन्यजन्तु संरक्षणका विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । संरक्षण प्रयासले वन्यजन्तुको सङ्ख्या बढ्दै जाँदा स्थानीयको जीविकोपार्जनमा भने नकारात्मक प्रभाव परेको नार्पाभूमिका चौँरीपालक सुनील गुरुङले बताउनुभयो । 

तीन महिनाको अवधिमा हिउँचितुवाले १२ वटा याक, एक घोडा, चार वटा खसीबाख्रा र छ वटा चौँरी गरी कुल २३ वटा पशुधनको क्षति गरेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका संरक्षण कार्यालय मनाङको तथ्याङ्कमा उल्लेख गरिएको छ । प्रभावित कृषकका अनुसार यी घटना राति वा दिनको समयमा हुने गरेका छन् । जसले गर्दा पशुपालनमा निर्भर स्थानीयको आर्थिक स्थिति प्रभावित बन्दै गएको छ । 

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विभिन्न प्रयास भइरहेको तथा स्थानीय समुदायसँग सहकार्य गर्दै जागरण कार्यक्रम सञ्चालन गरेको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो ।

उहाँका अनुसार वन्यजन्तुबाट हुने क्षतिको राहत वितरण, वैकल्पिक जीविकोपार्जनका अवसर र द्वन्द्व व्यवस्थापनका उपाय अपनाइएका छन् । प्रभावित कृषकले राहतका लागि पशुधन क्षतिको मूल्याङ्कन, घटनास्थलको तस्बिर र स्थानीय पदाधिकारीको सिफारिस आदि तयार पारी प्रक्रियामा लगिएका छन् । एक्यापले यस्ता घटनामा राहत प्रदान गर्नुका साथै मानव र वन्यजन्तुको सहअस्तित्वलाई प्रोत्साहन दिने गरेको छ । एक्यापले वैकल्पिक चरन क्षेत्र विकास, विद्युतीय तारबार लगाउने र वन्यजन्तुको गतिविधि निगरानी गर्ने प्रविधि प्रयोग गर्दै आएको छ ।