मध्यविन्दु समाचारदाता
मध्यविन्दु, कात्तिक १९ गते । यहाँको पर्यटन क्षेत्रमा जेनजी आन्दोलनको असर देखा परेको छ । कावासोती नगरपालिकाको अमलटारी क्षेत्र, आन्तरिक तथा बाह्य पर्यटक आगमन हुने पूर्वी नवलपरासीको प्रमुख पर्यटकीय गन्तव्य हो । बोटे, माझी, मुसहर र थारू समुदायको कला, संस्कृति र प्राकृतिक वातावरण अनि दुर्लभ वन्यजन्तुको सहज अवलोकनका लागि यी क्षेत्रमा बढी मात्रामा पर्यटक आउने गर्छन् ।
यस वर्षको सेप्टेम्बर महिनामा विदेशी पर्यटकको बुकिङ धेरै राम्रो भएको थियो तर आन्दोलनका कारण ती बुकिङ रद्द हुँदा पर्यटन व्यवसायीले नोक्सान बेहोर्नु परेको गुनासो व्यवसायीको छ । नवलपुरको कावासोतीस्थित टाइगर टप्स थारू लजमा सेप्टेम्बर महिनामा आउन थालेका ठुलो सङ्ख्याका पर्यटकले बुकिङ रद्द गरेको सो लजले जानकारी दिएको छ । ठुलो सङ्ख्यामा आउने विदेशी पर्यटकको बुकिङ रद्द भएपछि आर्थिक नोक्सान भएको लजका प्रबन्धक आशिक गुरुङले बताउनुभयो । उहाँका अनुसार जर्मन, बेल्जियम, अमेरिकाबाट आउने तयारीमा रहेका ठुलो सङ्ख्यामा पर्यटकले बुकिङ रद्द गरेका छन् ।
यहाँ सञ्चालनमा रहेको अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेमा समेत आन्दोलनका कारण असर परेको छ । पर्यटकीय मौसममा पर्यटक नआउँदा होमस्टे सञ्चालनमा नराम्रो असर परेको होमस्टे सञ्चालक नरबहादुर महतोले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विगतका दसैँतिहारको समयमा आन्तरिक पर्यटक नै थेगिसक्नु हुँदैनथ्यो । स्वागत सत्कार गर्न पनि भ्याइनभ्याइ हुन्थ्यो तर यस पटकको जेनजी आन्दोलनपछि खासै पर्यटक आएका छैनन् ।” कावासोतीस्थित थारू गाउँ रिसोर्टका सञ्चालक तथा नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले यस क्षेत्रमा रहेका आठ सय स्तरीय रिसोर्ट तथा लजमा आउने पर्यटकले बुकिङ रद्द गरेको जानकारी दिनुभयो । जसका कारण पर्यटन व्यवसायी मर्कामा परेको उहाँको भनाइ छ ।
ब्रह्मस्थान पर्यटकीय गन्तव्य
यसैबिच नवलपरासी समाचारदाताका अनुसार पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकास्थित ब्रह्मस्थान नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । ब्रह्मस्थानबाट सुन्दर नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज तथा सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा यो क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको मध्यविन्दु नगरपालिका–३ का समाजसेवी बद्रीनाथ नेपालले बताउनुभयो ।
सार्वजनिक बिदा तथा चाडपर्वको समयमा यहाँ आन्तरिक पर्यटकको उपस्थिति उल्लेख्य रहने मध्यविन्दु–३ का पूर्वजनप्रतिनिधि नारायणप्रसाद नेपालले बताउनुभयो । यस क्षेत्रमा पर्यटकको चहलपहल हुन थालेपछि यहाँ दृश्यावलोकन स्तम्भसहित व्यवस्थित पार्क निर्माण अगाडि बढेको भए पनि बजेट अभावमा दृश्यावलोकन स्तम्भ निर्माण अलपत्र परेको नेपालले बताउनुभयो ।