• १९ कात्तिक २०८२, बुधबार

सत्यवती मेलाको अवसरमा सार्वजनिक बिदा

blog

गुल्मीको सत्यवति मेला । तस्वीर : टोपलाल अर्याल

टोपलाल अर्याल 

गुल्मी, कात्तिक १९ गते । गुल्मीको प्रसिद्ध धार्मिक स्थल सत्यवती मेलाको अवसरमा आज जिल्लाका दुई स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

 सत्यवती गाउँपालिका र कालिगण्डकी गाउँपालिकाले भिर्कुम पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।

 सत्यवती गाउँ कार्यपालिकाको निर्णय अनुसार प्रत्येक वर्ष भिर्कुम पूर्णिमाको दिन बिदा हुँदै आएको छ । प्रसिद्ध धार्मिक क्षेत्र सत्यवतीको नामबाट सत्यवती गाउँपालिकाको नामकरण गरिएको छ । 

सोही क्षेत्रमा लाग्ने पूर्णिमा सत्यवती मेलाको अवसरमा कात्तिक १९ गते सरकारी कार्यालयमा स्थानीय बिदा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पाण्डेले जानकारी दिनुभयो।

त्यस्तै, कालिगण्डकी गाउँपालिकाले पनि दुई गाउँपालिकाको सङ्गम स्थलमा पर्ने सत्यवती मेलाको अवसरमा आज बिदा दिएको छ । 

सांस्कृतिक महत्त्वका रूपमा मनाइने सत्यवती मेलालाई स्थानीय पर्वका रूपमा सम्मान गर्दै अध्यक्ष स्तरीय निर्णयबाट स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरिएको कालिगण्डकी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।

चिच्याएर बर माग्ने धार्मिक क्षेत्रको रुपमा रहेको सत्यवती मेलामा बिहानैबाट दर्शनार्थीहरूको भिड लागेको छ ।सत्यवती बजै प्राचीनकालमा पारकोटे राजा रितुवर्णका पत्नी हुनुहुन्थ्यो । 

किम्वदन्ती अनुसार तान्त्रिक विद्यामा निपूर्ण रहेकी सत्यवती बजैका मालिका, कालिका, मनकामना र आलमदेवी गरी पाँच दिदीवहिनी थिए र सत्यवती बजै सवैभन्दा जेठी हुनुहुन्थ्यो । त्यसैकारण, सत्यवती क्षेत्रलाई बूढी सत्यवती क्षेत्र पनि भन्ने गरिएको हो । 

नेपाल एकीकरणको बेला पदच्युत भएका राजा रितुवर्णलाई एकदिन मृगको शिकार गर्न मन भएछ । शिकारको लागि निस्केका राजाले मृगलाई वाणले हानुभयो ।

त्यो बेला मृगको रुप धारण गरेर तालमा नुहाई रहेकाले वाणले बजैको कानमा लागेर छेदन गरेछ । बजैको कानमा धनुषवाणले लागेपछि बहिरी भएकोले बर माग्दा चिच्याएर माग्ने चलन रहेको बुढी सत्यवतिका पुजारी यम बहादुर तरामुले जानकारी दिनुभयो । 

पछि वाण लागेकी बजैको त्यही देहावसान भयो र ताल पनि छेदन भएपछि सुकेको कुरा पाका पुस्ताहरु बताउँछन् ।सोही कारण कान र आँखा दुखेमा समेत सत्यवती बजैलाई परेवा चढाएपछि सन्चो हुन्छ भन्ने चलन अझै पनि रहेको छ । 

यहाँ हरेक वर्ष कार्तिक शुक्लपक्ष चतुर्दशी साँझ देखि डम्फु मादल, बाजागाजा र खाजा बोकेर मेला भर्न जाने, रातभर जागर्ति वस्ने र भोलिपल्ट बिहानैबाट सत्यवती बजैसित चिच्याएर बर माग्ने, परेवा उडाउने, बोका, कुखुराको बली दिने तथा दिनभर स्थानीय कलासंस्कृतिका आधारित सोरठी, कौरा, झ्याउरे, लगायतका गीतसङ्गीतमा झुम्न हजारौं दर्शनार्थीहरू आउने गरेका छन् ।