• १९ कात्तिक २०८२, बुधबार

मितेरी पुल एक महिनाभित्र सञ्चालन हुने

blog

नेपाल–चीन सीमानाकामा निर्माणाधीन मितेरी पुल । तस्बिर : गङ्गाकुमारी मिजार

रसुवा समाचारदाता

रसुवा, कात्तिक १९ गते  । नेपाल–चीन सीमास्थित रसुवागढीमा निर्माणाधीन मितेरी पुल अबको एक महिनाभित्र सञ्चालनमा आउने भएको छ । चिनियाँ अधिकारीले प्रतिकूल मौसम भए पनि निर्माण कार्यलाई प्राथमिकता दिँदै निर्धारित समयभित्र सम्पन्न गर्ने गरी तयारी गरिरहेका छन् ।  गत असार २४ गतेको भीषण बाढीले ल्हेन्दे्रखोला क्षेत्रस्थित पुरानो मितेरी पुल बगाएपछि दुई देशबिचको आवागमन अवरुद्ध भएको थियो । आवागमन रोकिएपछि चिनियाँ पक्षले तत्काल नयाँ पुल निर्माण कार्य अघि बढाएको हो ।

मितेरी पुल बगाएसँगै नाकाबाट हुने आयात÷निर्यात ठप्प हँुदा अहिलेसम्म कम्तीमा १४ देखि १५ अर्ब रुपियाँ बराबरको राजस्व गुमेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षको यसै अवधिमा रसुवागढी नाकाबाट करिब १४ अर्ब रुपियाँ भन्सार राजस्व सङ्कलन गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार हालैको चिनियाँ अधिकारीसँगको समन्वय बैठकमा पुल निर्माण सम्पन्न भएपछि दुवै देशबिच बैठक बसेर सञ्चालन मिति तय गरिने जानकारी दिनुभयो । चिनियाँ पक्षले प्रतिकूल मौसम हुँदाहुँदै पनि पुल निर्माणमा निरन्तर खटिएको छ । अप्रत्याशित विपत् वा अन्य अवरोध सिर्जना भएन भने एक महिनाभित्र यातायाता सञ्चालन हुने अपेक्षा गरिएको प्रजिअ पन्थीले बताउनुभयो । त्यस्तै स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड अन्तर्गत करिब १६ किलोमिटर सडक मर्मत तथा पुनर्निर्माण कार्य भइरहेको छ तर निरन्तर पहिरो, नदी कटान र भिरपाखाको चुनौतीका कारण कार्य प्रगति अपेक्षा अनुरूप अघि बढ्न सकेको छैन । लिङलिङ, कागतीबारी, घट्टेखोला र तातोपानी–टिमुरेबिचका केही संवेदनशील स्थानमा नदीले सडक कटान गरेकाले निर्माण कार्यमा कठिनाइ उन्पन्न भएको सडक विभागले जनाएको छ ।