• १९ कात्तिक २०८२, बुधबार

निर्वाचन सफल पार्न शान्ति सुरक्षामा विशेष ध्यान दिन्छु : प्रजिअ तामाङ 

blog

पत्रकारहरूसँगको भेटमा आफ्नो कुरा राख्दै प्रजिअ तामाङ । तस्विर : सिराज खान ।

सिराज खान 

नेपालगन्ज, कात्तिक १९ गते । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले यही फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई भव्य रुपमा सफल पार्न केन्द्रित भएर काम गर्ने बताउनुभएको छ।

प्रजिअ तामाङले पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा जिल्लाको समग्र अवस्था र संवेदनशीलतालाई ध्यानमा राखेर सदभाव र शान्ति सुरक्षामा विशेष ध्यान दिने बताउनुभएको हो ।

उहाँले निर्वाचनलाई सफल बनाउने सबैको साझा जिम्मेवारी भएको जनाउँदै आफूले पाएको कानुन अनुसारको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो । 

प्रजिअ तामाङले भन्नुभयो, “सिडिओले के-के गर्नुपर्छ भन्ने कुरा कानुनले नै भनेकाले मैले बाँकेमा त्यसको जिम्मेवारी इमानदारीपूर्वक कार्यान्वयन गर्ने छु । जिम्मेवारीमा बस्दा गरेका कामकारबाहीको सम्बन्धमा आलोचना र प्रश्न मज्जाले गर्नुहोला ।”

सो अवसरमा उहाँले भारतीय सीमानासँग जोडिएको यो जिल्लाको शान्ति सुरक्षा देखि लिएर सामाजिक र धार्मिक सदभाव बलियो बनाउन सबैलाई समेटेर अगाडि बढ्ने पनि बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋिषि चौलागाईँ, प्रदेश सचिव गोविन्द शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका सभापति नविन गिरी, पूर्व सभापति रुद्र सुवेदी, पत्रकारहरु अर्जुन ओली, प्रियास्मृति ढकाल र विजय मल्ल लगायतले सूचना प्रवाह गर्ने सवालमा पारदर्शी भएर छिटो छरितो सूचना दिन आग्रह गर्दै मिडिया मैत्री भएर काम गर्न प्रजिअलाई सुझाव दिनुभयो । 

सो अवसरमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण बहादुर खत्री र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका उप अनुसन्धान निर्देशक हरिश बहादुर विष्टको पनि उपस्थिति थियो ।