बैतडी समाचारदाता
बैतडी, कात्तिक १९ गते । सङ्घ र प्रदेश सरकारबाट बजेट निकासा गराएर निर्माण भएका अधिकांश योजनाका भवन प्रयोगविहीन बनेका छन् । मनोरञ्जन पार्क, सामुदायिक भवन, स्मृति नामका भवन र तरकारी सङ्कलन गर्न बनाइएको चिस्यान केन्द्रसम्मका भवन अलपत्र परेका हुन् । सोमबार जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीलगायतको टोलीले अलपत्र छोडिएका भवनको अनुगमन गरेर सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको छ । अधिकांश भवन बजेट सक्नकै लागि निर्माण गरिएको समन्वय प्रमुख धामीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा पाटन नगरपालिका–९, ज्याफुमा निर्माण भएको १० वटा सटरको चिस्यान केन्द्र भवन चार वर्षदेखि प्रयोगमा नआउँदा अलपत्र परेको छ । पाटन नगरपालिकामै रहेका हिरापुर मनोरञ्जन पार्कका संरचना पनि प्रयोगविहीन छन् ।”
जिल्ला समन्वय समितिको टोलीले पाटन नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाको अनुगन गर्दा सङ्घ र प्रदेश सरकारबाट ल्याएका योजनाका भवन अलपत्र परेको पाइएको जिल्ला समन्वय समितिका सदस्य प्रेम भाटले बताउनुभयो ।
अनुगमन टोलीले सिगास गाउँपालिका–२, गाँजरीमा रहेका सबसेन्टरका आधा दर्जन भवन प्रयोगविहीन अवस्थामा रहेकाले गाउँपालिकाले संरक्षण गर्नुपर्ने समन्वय समितिले सुझाव दिएको छ । राज्यको लगानीको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको समन्वय समिति प्रमुख धामीले बताउनुभयो । उहाँले जिल्लाका १० वटै स्थानीय तहको अनुगमन गरेर अलपत्र पारिएका भवनको तथ्याङ्क सङ्कलन गरेर भवनको उचित प्रयोगका लागि पहल गर्ने बताउनुभयो । अलपत्र पारिएका भवनको सङ्ख्या स्थानीय तहले उपलब्ध नगराएपछि समन्वयको टोली आफैँ अनुगमनमा निस्किएको हो ।
समन्वय समितिको प्रारम्भिक तथ्याङ्क अनुसार जिल्लाका १० वटै स्थानीय तहका विभिन्न ठाउँमा ५० वटाभन्दा बढी करोडौँ रुपियाँ खर्च गरेर बनेका भौतिक संरचना अलपत्र पारिएका छन् । अधिकांश संरचना उपभोक्ता समितिमार्फत बनाएको पाइएको अनुगमन टोलीले जानकारी दिएको छ ।
बिनाउद्देश्य निर्माण भएका भवनको जिम्मेवारी सम्बन्धितले नै लिनुपर्ने, नभए कानुनी कारबाहीका लागि सिफारिस गरिने समन्वय समितिले चेतावनीसमेत दिएको अनुगमन टोलीले बताएको छ ।