धनगढी समाचारदाता
धनगढी, कात्तिक १९ गते । कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थित मनहेरा सामुदायिक वनमा रहेको चन्द्रमुखी ताल आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको छ ।
पर्यापर्यटनको विकास गर्ने उद्देश्यले ताल व्यवस्थापनका साथै पर्यटन गतिविधि अगाडि बढाइएपछि औपचारिक रूपमा सञ्चालनमा नआउँदै ताल आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको हो । धनगढी–७, देवहरियामै रहेको जाखोर ताल घुमफिर र पर्यटन गतिविधि सञ्चालनका लागि बन्द गरिएपछि त्यसको केही दुरीमै रहेको चन्द्रमुखी तालमा दैनिक धेरै मानिस पुगिरहेका छन् । तालमा बोटिङ र पिङ सञ्चालन गरिएको छ । बोटिङ, घुमफिर गर्न र तालको बिच भागमा टापु बनाएर राखिएको पिङमा रमाउनका लागि पर्यटकको चहलपहल हुने गरेको छ ।
१.०८ हेक्टर क्षेत्रफल रहेको यो तालमा पर्यापर्यटनसम्बन्धी गतिविधि सञ्चालनका लागि मनहेरा सामुदायिक वन उपभोक्ता समूहले वनकै उपभोक्ता लोकेन्द्र विष्टलाई ठेक्कामा दिएको छ । सामुदायिक वनको भेलाले गरेको निर्णय अनुसार ठेक्कामा ताल दिएको मनहेरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष एवं धनगढी उपमहानगरपालिका–७ का वडाध्यक्ष मोती रानाले बताउनुभयो । “उपभोक्तामध्येका कसैले तालमा पर्यटन गतिविधि सञ्चालन गरेमा प्राथमिकताका साथ उसलाई दिने वनको भेलामार्फत निर्णय भएको थियो,” उहाँले भन्नुभयो, “त्यसपछि म गर्छु भनेर उपभोक्तामध्येकै एक भाइ अगाडि बढ्नुभयो । हामीले उहाँलाई दियौँ ।”
तालवरिपरि ब्लक राखेर पदमार्ग बनाइनुका साथै तालको बिच भागमा जानका लागि पुल निर्माण गरिएको छ । राष्ट्रपति चुरे संरक्षण बोर्ड र सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइबाट बजेट माग गरेर तालवरिपरि व्यवस्थापन गरेको अध्यक्ष रानाले बताउनुभयो । “पुललगायतका अरू संरचनाहरू भने ठेक्का प्राप्त गर्नेले आफ्नै लगानीमा निर्माण गर्नुभएको छ,” उहाँले थप्नुभयो, “नजिक रहेका कारण घुमघाम गर्नेको भिडभाड हुन्छ ।”
सरकारको २० प्रतिशत र आफ्नो व्यक्तिगत ८० प्रतिशत लगानीमा व्यवस्थापन र संरचना निर्माण गरेर तालमा पर्यापर्यटनको गतिविधि अगाडि बढाएको सञ्चालक विष्टको भनाइ छ । उहाँले आठ महिनासम्म वनसम्बन्धी ऐन र नियमावली अध्ययन गरेर मात्रै आफूले यसमा हात हालेको भन्दै थप्नुभयो, “अझै निर्माणाधीन अवस्थामा छ । औपचारिक रूपमा उद्घाटन भएकै छैन । टिकट छापेकै छैन । जाखोर ताल बन्द भएर मान्छे यता आउन थालेपछि दसैँदेखि मैले सञ्चालनमा ल्याएको हुँ ।”