उर्लाबारी समाचारदाता
उर्लाबारी, कात्तिक १९ गते । लिम्बू समुदायको सबभन्दा ठुलो सांस्कृतिक पर्व चासोक तङ्नाम (न्वागी पर्व) मोरङको उर्लाबारीमा पाँच दिनसम्म मनाइने भएको छ । चन्द्रमासको पात्रो अनुसार हरेक वर्ष धान्य पूर्णिमाका दिन लिम्बू समुदायले प्रकृतिप्रति कृतज्ञता प्रकट गर्दै यो पर्व मनाउँदै आएको छ । किराँत याक्थुङ चुम्लुङ, उर्लाबारीका अध्यक्ष बानु सुब्बाले यस वर्ष चासोक पर्वको अवसरमा मङ्सिर १८ देखि २२ गतेसम्म उर्लाबारी–९ स्थित आम्बारीमा पाँच दिने बृहत् सांस्कृतिक महोत्सव र जातीय प्रदर्शन आयोजना गरिने जानकारी दिनुभयो ।
अध्यक्ष सुब्बाले भन्नुभयो, “चासोक तङ्नाम हाम्रो अस्तित्व, संस्कृति र पहिचानको प्रतीक हो । यसलाई नयाँ पुस्ताले पनि पच्छ्याउन भन्ने उद्देश्यले यस वर्ष कार्यक्रमलाई विशेष रूपमा आयोजना गर्दै छाैँ । खेती प्रणालीसँगै विकसित यो पर्वमा लिम्बूहरूले नयाँ अन्नलाई पवित्र मानेर तागेरानिङ्वाभुमाङ (प्रकृतिदेवी) लाई अर्पण गर्छन् । यस क्रममा जल, जमिन, वायु, अग्नि र सूर्यजस्ता प्राकृतिक तत्वको पूजाअर्चना गरिन्छ ।
लिम्बू मुन्धुम अनुसार, आदिम पुर्खा सावा येत्हाङले तागेरानिङ्वा भुमाङबाट कोदो, फापर, कागुनोलगायतका बिउ प्राप्त गरी कृषियुगको सुरुवात गरेका थिए । त्यसबेलादेखि नै चासोक तङ्नामलाई नयाँ अन्नप्रतिको सम्मानका रूपमा मनाउने परम्परा स्थापित भएको हो । फेदाङ्मा (लिम्बू पुरेत) को उपस्थितिमा घर घरमा चासोक पूजा गरिन्छ । नयाँ अन्न खान पाउने अनुमति माग्दै रोगव्याध नलागोस्, स्वस्थ जीवन पाइयोस् भन्ने कामना गरिन्छ ।