• ४ जेठ २०८१, शुक्रबार

चम्किए मेसी

blog

अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेसीले आफ्नो टिमलाई फेरि अर्को उपाधि दिलाएका छन् । क्लब फुटबलमा थुप्रै उपलब्धि हासिल गरेको भए पनि देशका लागि उनले त्यति धेरै सफलता पाएका छैनन् । आफ्नो नेतृत्वमा पहिलो पटक कोपा अमेरिकाको उपाधि दिलाएका मेसीले यस पटक ‘फाइनालिस्मा’ उपाधि जिते । 

जेठ १८ गते राति भएको फाइनलमा युरो–२०२० च्याम्पियन इटालीलाई ३–० ले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको छ । इङ्ग्ल्यान्डको वेम्बली रङ्गशालामा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन लौटारो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक–एक गोल गरे । कप्तान मेसीले दुई गोलका लागि बल मिलाइदिएका थिए । 

इटालीलाई हराएसँगै अर्जेन्टिनाको अपराजित यात्रा ३२ खेलमा पुगेको छ । अर्जेन्टिना तीन वर्षअघि ब्राजिलसँग पराजित भएको थियो । यो प्रतियोगितामा युरो च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच उपाधि भिडन्त हुन्छ । यसका लागि सन् २०२० को फेब्रुअरी १२ मा यूईएफए र कन्मेबोलबीच सहमति भएको थियो । 

यस्तै २०२२ को मार्चमा यूईएफएले यो खेल वेम्बली रङ्गशालामा हुने र प्रतियोगिताको नाम ‘कन्मेबोल–यूईएफए कप अफ च्याम्पियनसिप’ हुने जनाएको थियो । 

युरो विजेता र कोपा विजेताबीच सन् १९९३ मा अट्रेमिओ–फ्रान्ची कपको नाममा खेल भएको थियो । जसको उपाधि तत्कालीन कोपा विजेता अर्जेन्टिनाले जित्यो । सन् १९८५ मा युरो विजेता र कोपा विजेताबीच पहिलो पटक कन्मेबोल–यूईएफए कप अफ च्याम्पियनसिप खेलेका थिए ।

गुजरात जित्यो 

गुजरात टाइटन्सल पहिलो सहभागितामै इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । गुजरातले फाइनलमा राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्दै आईपीएलको १५औँ संस्करण जित्यो । 

अहमदावादमा रहेको नरेन्द्र मोदी रङ्गशालामा राजस्थानले दिएको एक सय ३१ रनको लक्ष्य गुजरातले १८.१ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो । 

गुजरातका कप्तान हार्दिक पाण्ड्या आईपीएलमा पाँचवटा उपाधि जित्ने खेलाडी पनि बनेका छन् । यसअघि उनले चारवटा उपाधि मुम्बई इन्डियन्सको खेलाडी हुँदा जितेका थिए । 

म्याड्रिड च्याम्पियन 

स्पेनी क्लब रियल म्याड्रिडले च्याम्पियन्स लिगमा कीर्तिमानी १४औँ उपाधि जितेको छ । फ्रान्सको राजधानी पेरिसमा भएको फाइनल खेलमा चार वर्षअघिको फाइनलमा हासिल गरेको नतिजा दोहो-याउँदै म्याड्रिडले इङ्ग्लिस क्लब लिभरपुललाई हराएको थियो । 

पछिल्ला पाँच सत्रमा तेस्रो पटक च्याम्पियन्स लिगको फाइनल खेल खेलेको लिभरपुललाई निराश पार्ने क्रममा म्याड्रिडले पेरिसमा १–० गोल अन्तरले जित हासिल ग¥यो । 

युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा चार वर्षअघि सन् २०१८ मा पनि म्याड्रिले फाइनलमा लिभरपुललाई ३–१ ले निराश पारेको थियो । 

यस पटक खेलको ५९औँ मिनेटमा भिनिसियर जुनियरले गोल गरे । च्याम्पियन्स लिग फाइनलमा गोल गर्ने सन् २००० यता जन्मिएको पहिलो खेलाडी बन्ने कीर्तिमान पनि भिनिसियरले आफ्नो नाममा लेखाएका छन् ।

यसैगरी म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टी पनि प्रशिक्षकका रूपमा चार पटक उपाधि जित्ने एक मात्र प्रशिक्षक बन्न सफल भए । च्याम्पियन्स लिगको इतिहासमा म्याड्रिडले सर्वाधिक १४ पटक उपाधि जितेको छ भने सात पटक उपाधि जितेको इटालीको एसी मिलान दोस्रो स्थानमा छ । 


जहाँ मौरिन्हो त्यहाँ कीर्तिमान

पोर्चुगिच फुटबल प्रशिक्षक होजे मौरिन्हो कीर्तिमानका खानी हुन् । उनी जहाँ जान्छन् गहिरो छाप छाड्छन् । उनी सधैँ नाम मात्र कमाउँदैनन् बदनाम पनि हुन्छन् तर जहिले पनि चर्चामा रहिरहन्छन् । 

इटालीको क्लब रोमाले युरोपा कन्फरेन्स लिग फुटबलको उपाधि जितेसँगै मौरिन्होको नाम फेरि चर्चामा आएको छ । फाइनलमा नेदरल्यान्डस्को क्लब फियोनर्ड एफसीलाई १–० ले हराउँदै रोमा च्याम्पियन बन्यो । 

रोमाले युरोपको प्रमुख प्रतियोगिता जितेको यो पहिलो पटक हो । सन् १९८४ को युरोपियन कप फाइनलमा पराजित भएको रोमाले त्यसको सात वर्षपछि सम्पन्न यूईएफए कप पनि गुमाएको थियो । रोमाले त्यसपछि युरोपका कुनै पनि प्रमुख प्रतियोगिताको उपाधि जित्न सकेको थिएन । 

यो सफलतासँगै मौरिन्हो चार भिन्न क्लबबाट युरोपका प्रमुख उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् । उनले यसअघि पोर्टोबाट च्याम्पियन्स लिग र यूईएफए कप, इन्टर मिलानबाट च्याम्पियन्स लिग र म्यानचेस्टर युनाइटेडबाट युरोपा लिग जितेका थिए ।

राष्ट्रिय खेलकुद भगवान् भरोसा

सुरुका तीन प्रतियोगितापछि कहिल्यै नियमित हुन नसकेको राष्ट्रिय खेलकुद प्रतियोगिता यस पटक पनि समयमै हुन सकेन । कोभिड–१९ पछि गत जेठ २२ गते गण्डकी प्रदेशमा हुने भनिएको नवौंँ राष्ट्रिय खेलुकद प्रतियोगिता सरेको छ । अब प्रतियोगिता नै आयोजना नभई कहिले सम्पन्न हुन्छ भन्ने टुङ्गो छैन । 

२०३८ सालदेखि तत्कालीन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव शरदचन्द शाहले निरन्तर तीन पटक निर्धारित दुई वर्षको अन्तरमै प्रतियोगिता आयोजना गराएका थिए । जब उनी राखेपबाट हटाइए त्यसपछि यो प्रतियोगिता कहिल्यै समयमा हुन सकेको छैन ।