• १६ कात्तिक २०८२, आइतबार

तिम्बुङ पोखरीमा घामको पहिलो झुल्का

blog

घरपरिवारले मौसम ठिक छैन नजानु भन्दाभन्दै म लन्डनबाट कतार एयरको टिकट लिएर अक्टोबर ४ तारिख काठमाडौँतिर हुइँकिएँ । छ/सात घण्टाको यात्रापछि दोहामा ट्रान्जिट भएर काठमाडौँ लागेँ । भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज सोझै अवतरण हुन सकेन । दुई घण्टासम्म आकाशमा जहाजले फन्का मारिरह्यो । त्यसपछि जहाज दिल्लीको इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टमा तेल भर्न जान लागेको जानकारी पाइयो । इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टमा अढाई घण्टाको विश्रामपछि विमान काठमाडौँतिर हुइँकियो । काठमाडौँको आकाशमा फनफनी चक्कर लगाएर बल्ल बल्ल जहाज अवतरण हुँदा रातको १:३० बजेको थियो । विमान अवतरणपछि सबै पेसेन्जरको ओठमा मुस्कान भरिएको थियो । 

भोलिपल्ट बिहान १०:१५ को उडानबाट विराटनगरतिर लागेँ । मुसलधारे पानीले विमान अवतरणमा निकै कठिनाइ भएको थियो । विराटनगरदेखि नै मुसलधारे पानीले हान्न सुरु गरेको थियो । इटहरी घरमा पुगेर आधा घण्टा जति अलमल गरेर विकास भाइलाई लिएर सरासर कोशी राजमार्ग हुँदै वसन्तपुरतिर हुइँकिएँ । 

कोशी राजमार्गका ठाउँ ठाउँमा पहिरो गएको रहेछ । मूलघाट पुगेर खाजा खान रोकियौँ । तमोरको माछा र चियाको स्वाद चाख्दै अघि बढ्यौँ । तमोर कालै भएर सुसाएको छ । तमोरको पाखातिर सेतै उड्ने बादलको रमिता हेर्दै गुठीटार उकालो लाग्यौँ । साँझ झपक्कै पर्न लाग्दा हामी वसन्तपुर पुग्यौँ । वसन्तपुरमा निकै चिसो बढिसकेको रहेछ । हामीलाई जिस्क्याउनुसम्म जिस्क्यायो जाडोले । जाडो भगाउने उपाय खोज्दै तुङ्बा र याकको सुकुटी खाँदै आगो ताप्यौँ । भोलिपल्ट बिहानै उठेर सामान मिलाउन थाल्यौँ । सामान मिलाउँदै गर्दा लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबोहाङ दाइ भेटिनुभयो । गर्धन र हातमा पाटे सिमाला, लामो पाङ्मारी कान्धी माला लगाएर मुसुमुसु हाँस्दै आउनुभएका दाइको हातमा मकै, भटमास, काजु र सखरको पोका थियो । दाइसँगै बसेर खानक्पाको अचारमा कोदोको रोटी दल्दै खायाैँ । कफी पियौँ । त्यसपछि सामान गाडीमा हाल्यौँ । हामीभन्दा पहिला हाम्रो गाइड र सहयोगी बाटो लागे । बिहानको हाम्रो खाना फेदाप गाउँपालिकाका वडाध्यक्ष भेषराज लिम्बूले पोकलाबुङमा तयार गरिसकेका थिए । पोकलाबुङमा बिहानको खाना खाएर मदन भण्डारी लोकमार्गको बाटो आठराई चोहाङ डाँडा, माझीटार जोर्साल हुँदै मेची राजमार्ग उकालो लाग्यौँ । जोरपोखरी गोपेटार गणेश चोकलाई छाडेर थर्पु हुँदै पाँचथरको पहेँलै झुलेको धान खेत र बस्ती हेर्दै हामी बेलुका बास बस्न फलैचा पुग्यौँ । चारैतिर पहाडले घेरेर राखेको रहेछ फलैचाको सुन्दर बस्तीलाई । फलैचा मधेश जस्तै गर्मी ठाउँ रहेछ । लोकल भाले खाने सल्लाह भयो । त्यहाँका होटेल साहुजीलाई लोकल भाले बनाउन लगायौँ । अर्जुन दाइ, विकास भाइ र म मचिन्द्र बेघा दाइलाई भेट्न उकालो लाग्यौँ । बाँकी साथी त्यहीँ होटेलमा कफी पिउँदै बसे । हामी घरमा पुग्दा मचिन्द्र बेघा घरमा थिएनन् । ताप्लेजुङतिर मलामी गएका रहेछन् । आधा घण्टापछि सानो टर्चलाइट बालेर घङ्घरोको लौरो टेक्दै आए, बुवाको पछि पछि झोला बोकेर मचिन्द्र बेघाको छोरा पनि आइपुगे । खुइ मार्दै शिरको टोपी फुकालेर सिक्वामा राखे । अनि ठुलो स्वरमा घरका मान्छेलाई “पानी ल्याउ त” भन्दै हामीतिर हेरेर मुसुक्क हाँस्नुभयो । लामो दारीजुँगा मसार्दै “कताबाट आउनु भयो,” भन्दै सोधे । 

“तपाईंलाई नै भेट्न आएको” हामीले भन्यौँ । त्यताका किपोटका बारेमा कुराकानी गरी बिदा भई हामी होटेलतिर लाग्यौँ । हामीलाई नै पर्खेर बसेका रहेछन् साथीहरू । लोकल भालेको सुपमा खुर्सानी र तेल हाल्नसम्म हालेछन् । खाना खान पटक्कै सकिएन । खाना नखाई उठ्यौँ । भालेको मासु र सुप जति होटेल साहुजीको परिवारले नै खाए । राति पटक्कै सुत्न सकिएन । फलैचाको रेखदेख गर्ने एउटा कुकुर रहेछ– भुकी मात्र राख्ने । रातभरि सुत्नै दिएन । बिहान सबेरै उठेर ओजा चेप्पा झरना हेर्न गयाँै । ओजा चेप्पा योङहाङका पुर्खा ओजाहाङले काटेकाले गर्दा ओजा चेप्पा भनिएको रहेछ । ओजा चेप्पा झरनाको तस्बिर लियौँ । फर्किंदा फलैचानजिकै बरको फेदमा गाडेको पुरानो ढुङ्गाको तस्बिर लियौँ । त्यसपछि च्याङथापुलाई छाड्दै पक्की पुल तरेर ताप्लेजुङतिर लाग्यौँ । नागबेली सानो बाटो चारैतिर अलैँची बगान र लटरम्मै फलेका सुन्तलाको बगैँचा हेर्दै ठाउँ ठाउँमा गाडेको ढुङ्गाको तस्बिर लिँदै अघि बढ्यौँ । ढाकाको मजेत्रो जस्तै बुट्टा कुँदिएको सुन्दर घर हेर्दै ठाउँ ठाउँमा भेटिने भिरको बाटो मुटु थाम्दै अघि बढ्यौँ । कालीखोलामा अमिर राईसँग भेट भयो । बिहानको खाना कालीखोलामै खायौँ । त्यसपछि आफ्नो लुगाफाटा, दबाई, थर्मस, पावर बैङ्क बोकेर लौरो टेक्दै नाक ठोक्किने उकालो लाग्यौँ । बिच बाटोमा पानीको धारा केही नपाइँदो रहेछ । बोकेको पानी सबैले पिएर सकियो । सबैको मुख सुक्खा भएर प्याक प्याक भयो । हाम्रो गाइड कासाङ शेर्पा दाइले एक जना सहयोगीलाई माथि गोठबाट पानी ल्याउन लगाए । गोठबाट बोकेर ल्याएको पानी सबैले प्यास मेटिन्जेल पिएर एक घण्टा उकालो हिँडेपछि लालीगुराँस होमस्टेमा पुग्यौँ । कसैले दुध, कसैले चिया कफीसँग मकै, भटमास, काजु खायौँ । त्यहीँ लालीगुराँस होमस्टेबाट एउटा लोकल भाले पैँतिस सयमा किनेर बोक्यौँ । 

बाटैभरि देखिने चरा हेर्दै बाटैभरि भेटिने दोबाटोमा बसेर चौँरीको दुध पिउँदै साँझ बास बस्न हामी नुनथला होमस्टे पुग्यौँ । नुनथला होमस्टे सिधिङबा गाउँपालिकाले बनाएर भाडामा दिएका रहेछन । होमस्टेका कर्मचारीसँग मिलेर केही साथीले भाले बनाए । निगालोको टुसा, आलुको तरकारी, टिमुरको अचार बनाएका रहेछन् । पूर्णिमाको रात आकाशमा जुन चम्किएको थियो । जुनेली रातमा चारैतिरको दृश्य छर्लङ्ङै देख्न सकिन्थ्यो । घरी घरी याक र चौँरीको घन्टा बजेको टङ्टङ् आवाज सुनिन्थ्यो ।  बिहान सबेरै उठेर हिमशृङ्खला हेर्दै रमायौँ । रोटी तरकारी खाएपछि ब्याग बोकेर उकालो लाग्यौँ । कति वर्षका भए होलान् रुखमा लागेका झ्याउहरू ? त्यसैलाई हेर्दै हुस्सुसँग लुकामारी खेल्दै, याकको हुलसँग जिस्किँदै चार घण्टापछि पाङदुवा टार्जन लिम्बूको चोकमा पुग्यौँ । केहीबेर आराम गरेर याकको मासु, कालो दाल, निगुरोको सब्जी, पापड, खोल्पीको अचारसँग खाना खायौँ । चोकवालाको दुई श्रीमती रहेछन्– जेठी सिक्किमकी । कान्छी चाहिँ त्यहीँ सिदिङ्बा गाउँपालिकाकै । बाहिरपट्टि धन्दा गर्ने ठाउँमा वल्लो छेउमा श्रीमान् र पल्लो छेउमा श्रीमती बसेर धन्दा गर्दै थिए । जेठी श्रीमतीले श्रीमान्को अनुहार हेर्दै घरी घरी मुसुमुसु हाँस्दै थिइन् । उनी गाउँदै थिइन्– 

तिम्रो यादमा कल्पी कल्पी छेउ भिज्यो सिरानीको 

छटपटीमा कोल्टे फेर्दै भाले बास्यो बिहानीको

उनले गीतलाई माध्यम बनाएर आफ्नो मनको पीडा पोख्दै थिइन् जस्तो लाग्यो । ती दुई जोडीलाई हेर्दाहेर्दै खाना सेलाएको पत्तै पाइएन । “भाइ ! खाना सेलायो” भनेर दाइले भन्दा पो झसङ्ङ भइयो । 

बिहानको खानापछि सबै जना उकालो लाग्यौँ । जति माथि चढ्दै गयो बोटबिरुवा विस्तारै पाउन छाडियो । सुन धुपी, भैरुङ धुपीको बुट्टा भेट्न थालियो । तलतिर हेर्दा जताततै सेतै खोला बगेको देखिन्थ्यो । विशाल नागीहरूले घेरेको सानो गल्लीको बाटो हिँड्दै घरी हिमालको सुन्दरतामा हराउँदै निकै बेर हिँडेपछि ढुङ्गा र काठले बनाएको चौतारामा पुग्यौँ । चौताराभन्दा माथि ढुङ्गे चुट्टीमा एक जोडी डाँफे र मुनाल प्रेममा मस्त थिए । धित मरुन्जेल हेरियो पन्छीको प्रेम । हामीले आफूलाई भाग्यमानी ठान्यौँ । जो पायो उसले डाँफे र मुनालको प्रेम कहाँ देख्न पाउँछ ? अलिक तल एक जोडी चिल फाइटर जस्तै घरी माथि घरी तल कैचे हान्दै उडान भरिरहेका थिए । सुन धुपी र भैरुङ धुपीको बास्ना नाकमा ठोक्किन्थ्यो बेला बेला ।


निकै बेरको विश्रामपछि अघि बढ्यौँ । कागजको पाना जस्तै मिलेको ढुङ्गाको फाला टेक्दै बाटोमा देखिने रेड पान्डासँग जिस्किँदै बेलुकाको ६ बजे रेड पान्डा होमस्टेमा पुग्यौँ । चिसोले हामीलाई समाउनुसम्म समायो । जति तातो पानी पिए पनि ज्यान भने तातो भएन । ज्यान तातो बनाउन सिरकभित्र पस्यौँ । माथि सेतै हिउँ परेकाले गर्दा बाहिर उज्यालो देखिन्थ्यो । बेलुकीको खाना ९ बजेतिर खायौँ । खानामा कुनै कमी देखिएन– दाल, भात, साग सब्जी, खोल्पीको अचार, सुकुटी फ्राइ, पापड, अकबरे खुर्सानी । कालीखोला होमस्टे र रेड पान्डा होमस्टेका सञ्चालक अमिर राई रहेछन् । पाहुनाको सुविधाका लागि आगो ताप्ने चिम्नीदेखि वास रुमसम्म स्तरीय नै थिए । पाहुनाको स्वागत सम्मानमा कुनै कमी थिएन । भोलिपल्ट सबेरै उठेर हामी तिम्बुङ पोखरीतिर लाग्यौँ । तिम्बुङ पोखरी जाँदै गर्दा बाटोमा जोडी कस्तुरी दौडिँदै ओरालो झरेको दृश्य खुबै रमाइलोसँग हेरियो । हामी तिम्बुङ पोखरी पुग्दा शान्त भएर सामधिमा सुती राखेको पायौँ । निकै बेरपछि तिम्बुङ पोखरीको शिरमा पहिलो घामको किरण पर्दा लिम्बुनी चेलीको शिरमा शिरफूल झुल्किए जस्तै लाग्यो । तिम्बुङ पोखरीको शिरमा झुल्किएको पहेँलो घामको किरण पोखरीमा फैलियो ।  

हाम्रो हल्लाले तिम्बुङ पोखरी चिर निद्राको समाधिबाट बिउँझिए जस्तै लाग्यो । पोखरीको तल्लो छेउबाट कलकल गर्दै झरेर इवाखोला भएर बग्दै बग्दै काबेली खोलालाई भेट्न तिम्बुङको जलप्रवाह जाँदै गरेको देख्यौँ । हामीले सुन धुपी, भैरुङ धुपी बालेर अक्षता भेटी राखेर मुन्धुम थक्मा गर्दै पोखरी बाध्न थाल्यौँ । 

चफत थुङ्वा माङ ए... 

तुङ्ग्रुत वरक थेङुमलो... 

चट्याङ परेर, भुइँचालो पसेर, हावाहुरी घुसेर, बाढीपहिरो पसेर पोखरी खोलियो भने पोखरीको पानी सुक्यो भने अशुभ हुन्छ भन्ने विश्वास छ । यस कारण याक्थुङ लिम्बूहरूको चोःलुङ चाङ्मा पुख्र्यौली जगाउने संस्कारमा यो तोलिङ्मा तिम्मावा वरक तिम्बुङलाई पनि जगाउन पर्छ । तोलिङ तिम्मावारथोलिङ थिम्मावा तिम्बुङ पोखरीको चर्चा चाहिँ पोखरी अग्लो पहाडमा उम्रिएको पानी र टम्म भरिएको पोखरी भनेर हुन्छ । देवारीहरू फेदाङमा, साम्बा, येबा येमाहरूले चोःलुङ चाङ्मा गर्दा याक्थुङ लाजे लिम्बुवानभरिका चोखो पानी इम्बिरी याथाङ्वा तमोर, मुधिङ्गुम लेवामा घुन्सा, केत्तकुम मिवामा मिवा, सिन्दोःलुङ मैवामा मैवाखोला, केहुक्सो काङ्वामा काबेली, यभःलुङ फावामा फावाखोला, मुहेङलुङ हेङ्वामा हेङ्वाखोला, सिच्छिरी सिवा सिवाखोला माछा पाधुङ लेक्ङा बल्ने ढुङ्गो अभो सृत्लुङ र फूलहरू पाङबोक्मा कुनाता जटामासी, केन्जोफुङ पदमचाल बटुलेर पोखरीमा हालिन्छ र पोखरी भरिभराउ बनाइन्छ । तिम्बुङ पोखरीलाई फलाक्ने या बाँध्ने पहिलो साम्बा सुरामा खुन्दोमा साम्बा हुन् ।

येबाहरूमा यनभोक्को यासिरिङ, साम्बाहरूमा मुगाप्लुङ खागपलुङ साम्बा र फेदाङ्माहरूमा फसङजिरी फसङकाप्पो फेदाङ्माको बढी प्रयोग हुन्छन्, याक्थुङ लिम्बू समुदायमा । तिम्बुङ पोखरी याक्थुङ लिम्बूहरूको पवित्र आस्थाको पोखरी हो । कोशी प्रदेशको मध्यपहाडी क्षेत्रमा अवस्थित जैविक विविधता र प्रकृति छटाले भरिएको यो तिम्बुङ पोखरी पदमार्ग पछिलो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँका गुराँसे वन अनि ठाउँ ठाउँमा भेटिने चोकखोला नालाको दृश्य र झरनाले मन्त्रमुग्ध बनाउँछ । रेड पान्डा, हिमाली गिद्ध, भेडा, चौँरी, याक हेर्दा बेग्लै ताजगीको अनुभूति हुन्छ । प्रकृति जैविक र सांस्कृतिक हिसाबले मात्र होइन धार्मिक हिसाबले पनि तिम्बुङ पोखरीको विशेष महìव छ । ध्यानस्थल भएर हिँड्न चाहनेका लागि तिम्बुङ क्षेत्र उपयुक्त देवस्थल हो । तिम्बुङ पोखरी इवानागी किपट क्षेत्रमा पर्छ । यो क्षेत्र बेघाहरूको किपट क्षेत्र हो । तिम्बुङ पोखरीको उतरपट्टिको भूभाग तावा नागी किपट क्षेत्र पर्छ, त्यो किपट क्षेत्र याङवाराकका याङ्वारके माबो, सेलिङ, योङ्हाङहरूको हो । यस क्षेत्रमा राखिएको चोकको तिरो सुब्बाहरूले नै लिँदै आएका छन् । सिक्किम दार्जिलिङबाट आउने फलाटको बाटैबाटो चारैतिरको रमणीय दृश्य हेर्दै तिम्बुङ पोखरी आउँछन् । पाँचथरबाट आउनेहरू फलाटको तल्लो भाग हुँदै जङ्गली जनावर, खोलानाला र झरनासँग लुकामारी खेल्दै तिम्बुङ पोखरी आउँछन् । तिम्बुङ पोखरीमा चोखो मिठो गरेर सफा मनले जे मागे त्यही पुग्छ भन्ने सबैमा विश्वास छ । कतिले आफ्नो काम पूरा होस् भनेर भाकल गर्छन् र आफ्नो काम भएपछि भाकल बुझाउन आउँछन् । तिम्बुङ पोखरी बम जस्तै पड्कियो भने अनिस्ट हुन्छ, मान्छे मर्छन् भन्ने पनि जनविश्वास बलियो छ । यहाँको बासिन्दाले सिक्किम र दार्जिलिङका बासिन्दासँग सराभरा नाता सम्बन्ध गाँस्छन । नुन, तेल र चामल सिक्किमे रमदेखि याकको ब्याडसम्म एैँचोपैँचो चलाउँछन् । तिम्बुङ पोखरीदेखि लक्ष्मी पोखरी, चौँरी भन्ज्याङ, छाँगापानी, दाराप पेलिङ हुँदै सिक्किम पुगिन्छ । तिम्बुङ पोखरीदेखि दार्जिलिङ जान फालोट, तीन सिमाना, गोर्खे, शिरखोला, रिम्मक हुँदै बिजनबारी पुगिन्छ ।    

लेखक बाट थप