• ७ जेठ २०८१, सोमबार

चुरेमा खहरे नियन्त्रण प्रभावकारी बन्दै

blog

विजयकुमार साह 

ढल्केबर, असार १९ गते  । चुरे क्षेत्रको खहरेमा तटबन्ध निर्माणपछि वर्षाको बाढीसँगै बगेर जाने गिट्टी, बालुवा र माटो चुरे क्षेत्रमै रोकिएको छ । चुरे संरक्षण अभियन्ताका अनुसार भूमिगत जल भण्डारमा पनि वृद्धि भइरहेको छ । 

‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ मूल नाराका साथ चुरे संरक्षण अभियानअन्तर्गत चुरे क्षेत्रमा खहरे तथा गल्छी नियन्त्रण गर्न निर्माण गरिएको भौतिक तथा जैविक तटबन्ध प्रभावकारी बन्दै गएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति एकाइ कार्यालय जनकपुर र सामुदायिक सुधार केन्द्र धनुषाले धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित बडहरी खोलाको सिरान तथा चुरे क्षेत्रको खहरेमा दुई वर्षअघि तटबन्ध निर्माण गरेपछि माटो र बालुवा बग्न रोकिएको छ । 

सामुदायिक सुधार केन्द्र धनुषाका अध्यक्ष सञ्जयकुमार साहका अनुसार तटबन्ध निर्माण भएको दुई वर्षमा दुई मिटर उचाइ, ५० मिटर चौडाइ र झन्डै दुई किलोमिटर लम्बाइसम्म माटो र बालुवा चुरे क्षेत्रमा रोकिएको छ । “यो तटबन्ध नभएको भए यी सबै माटो र बालुवा बगेर जान्थ्यो र खेतीयोग्य जमिनलाई क्षति पु-याउँथ्यो,” उहाँले भन्नुभयो । जम्मा भएर बसेको माटो र बालुवामा बाँसलगायत विभिन्न प्रजातिका बिरुवा रोप्ने उहाँले जानकारी दिनुभयो । 

यस्तै राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यान्वयन एकाइ जनकपुरले माटो, बालुवा तथा गेगरलाई चुरेमै रोक्न आफ्नो कार्य क्षेत्रभित्र पर्ने धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिन्धुली जिल्लाको चुरे क्षेत्रमा पर्ने खहरेमा तटबन्ध निर्माण गरेको छ । एकाइ कार्यालय जनकपुरका प्रमुख महेश ढुङ्गानाले चालू आर्थिक वर्ष २०७८/७९ मा मात्रै चुरे क्षेत्रको ४४ स्थानको खहरेमा तटबन्ध निर्माण गरिएको बताउनुभयो । चुरेका गल्छी तथा खहरेमा साना–ठूला तटबन्ध निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । 

“खहरे नियन्त्रणले चुरेको माटो चुरेमै रोकिनुका साथै चुरे क्षेत्रमा भइरहेको अत्यधिक भू–स्खलनलाई नियन्त्रण गर्न सहयोग पुगेको छ,” उहाँले भन्नुभयो, “खहरे नियन्त्रण गर्न बनाइएका तटबन्धले चुरेको माथिल्लो क्षेत्रबाट बगेर आउने पानीको बहाव अस्थिर हुने र माटो तथा बालुवालगायतका नदीजन्य पदार्थलाई चुरेमै रोक्न मद्दत पुगेको छ । अहिले बाँधका कारण चुरेबाट हुने क्षति न्यून हुँदै गएको छ ।” 

बाँध निर्माण गरिएको स्थान तथा छेउमा बाँसको बिरुवालगायत विभिन्न प्रजातिको वृक्षरोपण गरिएको छ । खहरेको छेउमा यसरी बिरुवा रोप्दा खहरे फैलिन नपाउने र क्षति कम हुँदै यस क्षेत्र पुनः हराभरा जङ्गलका रूप विकास हुने जनकपुर एकाइका अधिकृत इन्जिनियर देवपुजन यादवले जानकारी दिनुभयो ।