• २ माघ २०८१, बुधबार

फोहोरको ग्यासबाट अटो सञ्चालन

blog

निशा राई

धरान, असार १९ गते ।  धरान उपमहानगरपालिकाले फोहोरलाई प्रशोधन गरेर बायो ग्यास उत्पादन गरी हाल ग्यासबाट छवटा सवारीसाधन (अटो) सञ्चालनमा ल्याएको छ । फोहोर प्रशोधन गरेर उत्पादित बायो ग्यासबाट अटो सञ्चालन भइरहेको हो ।

धरानमा सर्वसाधारणले फालेको फोहोर सङ्कलन गरी फोहोरबाट अर्गानिक, रिसाइकल हुने र ल्यान्डफिल्डमा फाल्नुपर्ने गरी छुट्याएर अर्गानिक फोहोर प्रशोधन गरेर बायो ग्यास र जैविक मल उत्पादन गरिएको छ । 

२०७४ जेठ २५ गते धरान उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र भेन्चर वेस्ट टु ईनर्जी प्रालीबीच त्रिपक्षीय सम्झौताअनुसार भेन्चर वेस्ट टु इनर्जी प्रालिले अहिले बायो ग्यास उत्पादन गरिरहेको छ । करिब २४ करोडको लगानीमा २२ कट्ठा जग्गामा यो कम्पनी निर्माण गरिएको छ ।

त्यस प्लान्टबाट डेढ सयवटा अटो सञ्चालन गर्न पुग्ने ग्यास उत्पादन हुने कम्पनीका इन्जिनियर विवेक अग्रवालले बताउनुभयो । उहाँका अनुसार फोहोरबाट रिसाइकल (प्रशोधन) हुने फोहोर कवाडीलाई बिक्री गरिने र दैनिक १२ देखि १५ सय केजी ग्यास उत्पादन भइरहेको छ भने प्लान्टको दैनिक ५० टन फोहोर प्रशोधन गर्नसक्ने क्षमता रहेको इन्जिनियर अग्रवालले बताउनुभयो ।  

धरानमा दैनिक २२ टनभन्दा बढी कुहिने फोहोर जम्मा हुन्छ भने नकुहिने फोहोर १५ देखि २० टनसम्म जम्मा हुने धरान उपमहानगरपालिकाका वातावरण शाखाका प्रमुख भेषराज घिमिरेले बताउनुभयो । कम्पनीले कुहिने फोहोरबाट बायो ग्यास र  नकुहिने फोहोरलाई रिसाइकल गरिरहेको वातावरण शाखाका प्रमुख घिमिरेले जानकारी दिनुभयो । यसरी ग्यासबाट उत्पादन गरी सवारी सञ्चालन गर्दा वातावरण पनि राम्रो हुने उहाँको भनाइ छ ।  

जम्मा फोहोरको ६० देखि ६५ प्रतिशत मल बनाउन सकिने हुन्छ भने १७ देखि २० प्रतिशत पुनः प्रयोग र प्रशोधन योग्य हुन्छ । २० प्रतिशतको हाराहारीमा सिसाजन्य जसलाई स्यानेटरी ल्यान्ड फिल्डमा व्यवस्थापन गर्न सकिने इन्जिनियर अग्रवालको भनाइ छ ।

गत वर्ष २०७८ पुस २० गते प्रधानमन्त्री शेरबहादुर देउवाबाट सो प्लान्टको उद्घाटन गरिएको थियो । धरानले फोहोर प्रशोधन केन्द्रको सञ्चालनमा ल्याएर आम्दानीको स्रोत बढाउनुका साथै फोहोरको दीर्घकालीन व्यवस्थापनको अभ्यास भने उदाहरणीय नै बनेको छ । 

फोहोरको व्यवस्थापन गर्न धरान उपमहानगरले इनर्जी प्रालिसँग २० वर्षे सम्झौता गरिसकेको छ । सम्झौतामा अनुसार प्रालिले २० वर्षपछि प्रशोधन केन्द्रको जग्गासहित हस्तान्तरण गरी आम्दानीको एक प्रतिशत उपमहानगरपालिकालाई बुझाउनुपर्ने छ । फोहोर व्यवस्थापनका लागि प्रतिकेजी एक रुपियाँ एक पैसा खर्च हुन्छ । यसरी हेर्दा धरान उपमहानगरपालिका एक्लैले चार करोडको हाराहारीमा फोहोर व्यवस्थापनमा खर्च गर्छ ।