ललित बसेल
सुर्खेत, कात्तिक ९ गते । विशेष गरी थारू समुदायलाई मात्रै लाग्ने सिकलसेल एनिमियाले सुर्खेतमा तीनपुस्ते थारू समुदायका व्यक्ति थलिएका छन् । सिकलसेल एनिमिया रोगबाट बुवा पुस्ता, छोरा पुस्ता र नाति पुस्ता थलिएपछि थारू समुदाय यतिबेला आर्थिक, शारीरिक र सामाजिक चिन्तामा परेका छन् ।
वीरेन्द्रनगर नगरपालिका–९, कालीमाटीका रामकृष्ण थारूका भाइ, छोरी र नातिनी सिकलसेल एनिमियाबाट पीडित भएका हुन् । उहाँको घरमा छ जना सिकलसेल एनिमियाका बिरामी छन् ।
रामकृष्णले जग्गा बेचेर आफ्नो भाइको उपचार गराउनुभयो । १२ लाख रुपियाँमा जग्गा बेचेर उपचार गर्दा पनि उहाँको भाइ रहनुभएन । भाइको उपचार गराउन कहिले काठमाडौँ त कहिले नेपालगन्ज लाँदा आफूले निकै हन्डर सहनु परेको रामकृष्णले बताउनुभयो ।
परिवारमा सिकलसेल एनिमियाका बिरामी भएपछि घरमा पारिवारिक तनाव हुने, दोस्रो विवाहको भय जस्ता चिन्ता बढ्ने गरेको उहाँले बताउनुभयो । सुर्खेतबाट बिरामी लिएर नेपालगन्ज जाँदा पनि उपचार र औषधी सोचे जस्तो सहज नभएको गुनासो उहाँले गर्नुभयो । आफ्नो तीन पुस्ता नै सिकलसेल एनिमियाबाट पीडित हुनु परेको भन्दै उहाँले यो रोग भित्रभित्रै बढिरहेको उल्लेख गर्नुभयो ।
यसै गरी सोही ठाउँकै सङ्गीता चौधरी पनि सिकलसेलको बिरामी हुनुहुन्छ । उहाँको परिवारमा तीन जना बिरामी छन् । सबै जनाले औषधी खाइरहेका छन् । यो रोग लागेपछि शारीरिक, आर्थिक, मानसिक तनाव बढेकोबढ्यै हुने गरेको उहाँले जनाउनुभयो । हेर्दा र सुन्दा अन्य रोग जस्तो ठुलो नदेखिने तर थारू समुदायलाई मात्र लाग्ने यो रोगका बिरामीको भित्रभित्र सङ्ख्या बढिरहेको पाइएको उहाँले बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालिका–१० का प्रेमबहादुर चौधरीले २०७३ देखि यो रोगको उपचार गरिरहनुभएको छ । अहिलेसम्म औषधी खाइरहेको उहाँको भनाइ छ ।
कर्णाली प्रदेशमा सुर्खेतमा मात्र थारू समुदायको बसोबास छ । यहाँ करिब नौ हजार थारू समुदायको जनसङ्ख्या छ । नेपाल संस्कृत विश्वविद्यालयका शरीर रचना विभागका प्राध्यापक एवं थारू समुदायका अगुवा डा. सुरेन्द्र चौधरीले सुर्खेतमा २०८० सालमा ७० जना र २०८१ मा १८ जना सिकलसेलका बिरामी पत्ता लागेको बताउनुभयो । उहाँले अझै पनि पर्याप्त मात्रामा परीक्षण नभएकाले सङ्ख्या कम देखिएको भन्दै यदी परीक्षणको दायरा बढाउने हो भने बिरामी फेला पर्ने क्रम पनि बढ्ने जनाउनुभयो । उहाँले यो सरुवा रोग नभएको जानकारी दिँदै रोगी आमाबाबुबाट जन्मिने सन्तान पनि रोगी नै हुने उल्लेख गर्नुभयो ।
सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतका अध्यक्ष दिलबहादुर चौधरीले सिकलसेल एनिमियाबाट थारू समुदायको पुस्ता नै प्रभावित हुन थालेको बताउनुभयो । उहाँले यस रोगलाई सरोकारवाला पक्षले सामान्य रूपमा लिँदा बढ्दै गएकोले संवेदनशील बनिदिन आग्रह गर्नुभयो । उहाँले विपन्न थारू समुदायलाई लाग्ने यो रोगको सहज उपचारका लागि सुर्खेतमै व्यवस्था गरिनुपर्ने, औषधी पनि सुर्खेतबाटै उपलब्ध गराउनुपर्ने, यस रोगका बिरामीलाई परिचयपत्र र मासिक भत्ताको व्यवस्था गर्न सके उपचारमा सहज हुने बताउनुभयो । अहिले यस रोगको उपचार गर्न र औषधी लिन नेपालगन्ज जानुपर्ने बाध्यता छ ।