• ९ कात्तिक २०८२, आइतबार

तिहार सकिएसँगै कर्मथलो फिर्ता

blog

कालीकोट समाचारदाता  

कालीकोट, कात्तिक ९ गते । कालीकोट जिल्लामा दसैँ र तिहार मनाउन आएका नागरिक तिहारको भोलिपल्टै कर्मथलो फर्किन थालेका छन् । मुलुकका विभिन्न सहरमा पढ्दै गरेका विद्यार्थी र मजदुरीका लागि घर छोडेका कालीकोटका विभिन्न स्थानीय तहका नागरिक तिहार सकिएसँगै कर्मथलो फर्किन थालेका हुन् । 

दसैँ मनाउन घर आएका विद्यार्थी धमाधम सहर फर्किन थालेका हुन् । नरहरिनाथ गाउँपालिका–१, कोटवाडाका गणेश विष्टले तिहार सकेर सबै विद्यार्थी घर छोड्न थालेको बताउनुभयो । शनिबार बिहानै नरहरिनाथ गाउँपालिका–३ मा रहेको डाँडामाडु बसपार्कमा सहर जानेको ठुलो भिड लागेको छ । दसैँ मनाउन घर आएका विद्यार्थी, सहरमा रोजगारीमा रहेका नागरिक भोलिपल्टै जान थालेकाले गाडीको समेत अभाव भएको छ । 

यातायात व्यवासायीले जतिसक्दो बढी गाडी थपेर चलाउने प्रयास गरिरहेका छन् । चार वटा गाडी छन् । मान्छे तीन सयभन्दा बढी भएकाले केहीको यात्रा भने रोकिने पक्का छ । गाडीको यकिन नगरेर घरबाट आउँदा दुःख भएको विद्यार्थीको गुनासो छ । शनिबार चार वटा गाडी भरीभराउ भइसकेको वडा नं. ५ का रमेश बोगटीले बताउनुभयो ।