बाबुराम देवकोटा
खुर्कोट (सिन्धुली), कात्तिक ९ गते । राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत सुनकोशी नदीमा बाँध निर्माणको निर्धारित समय ६० प्रतिशत सकिँदा भौतिक प्रगति भने करिब ११ प्रतिशत मात्र भएको छ ।
निर्माण व्यवसायी पटेल–रमण जेभीले विसं २०७९ पुस महिनामा (सन् २०२३, जनवरी १) सम्झौता गरी सुनकोशी नदीमा बाँध निर्माण सुरु गरे पनि हालसम्म भौतिक प्रगति करिब ११ प्रतिशत मात्रै भएको हो । उक्त निर्माण कम्पनीले चार वर्ष सात महिनामा सक्ने गरी सम्झौता गरेको भए पनि अहिले बाँध निर्माण कार्य निकै सुस्त रहेको आयोजनाले जनाएको छ । आयोजनाका सिनियर डिभिजन इन्जिनियर तथा सूचना अधिकारी अशोक गौतमका अनुसार बाँध निर्माणको समय अवधि ६० प्रतिशतभन्दा बढी सकिँदा भौतिक प्रगति यतिखेर ४० प्रतिशतमाथि नै हुनु पर्दथ्यो । निर्माण व्यवसायीले सम्झौता अनुसार काम गर्न नसकेपछि सम्झौता बमोजिम वैकल्पिक व्यवस्था गर्ने विषयमा विभाग र मन्त्रालयमा विगतदेखि नै छलफल हुँदै आएको छ ।
उक्त आयोजना अन्तर्गत सुनकोशी तथा तामाकोशीको दोभानभन्दा नौ सय मिटर तल सिन्धुलीको सुनकोशी गाउँपालिका–७, कानढुङ्ग्रीमा सुनकोशी नदीमा बाँध निर्माण भइरहेको आयोजनाले जनाएको छ । “सुनकोशी नदीमा करिब ३० मिटर अग्लो र १५८ मिटर लम्बाइको बाँध निर्माण गर्न पहिलो चरणको काम अन्तर्गत रामेछाप जिल्लातर्फ कपर ड्याम (अस्थायी बाँध) निर्माण गरी पानी तर्काएर बाँधको स्थायी संरचना निर्माण हुँदै आएको छ,” उहाँले भन्नुभयो, “हालसम्म भएको उक्त प्रगति पनि अस्थायी र स्थायी कामको प्रगति हो ।” उक्त आयोजनाको यसअघि बनेका सरकारको विभागीय मन्त्रीबाट पटक पटक स्थलगत निरीक्षण गरी बाँध निर्माणको कार्यलाई तीव्र बनाउन निर्देशन हुँदै आए पनि निर्माण व्यवसायीले कामको गति बढाउन सकिरहेको छैन । बाँध निर्माणको काम चित्तबुझ्दो नभएपछि सरकार उक्त निर्माण व्यवसायीसँगको ठेक्का तोड्ने प्रक्रियामा पुगेको पनि आयोजनाले जनाएको छ ।
उक्त निर्माण कम्पनीले बाँध निर्माणका लागि १४ अर्ब सात करोड ५९ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको छ । आयोजना अन्तर्गत कुसुमटारबाट १३.३ किलोमिटर लम्बाइको सुरुङमार्ग टनेल बोरिङ मेसिन (टिबिएम) बाट निर्माण गरी २०८१ वैशाखमा ‘ब्रेक थ्रु’ भइसकेको छ । उक्त ५.५ डायमिटरको सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले करिब ११ अर्ब रुपियाँमा ठेक्का लिएको थियो ।
सुनकोशी नदीमा बाँध निर्माण भएपछि १३.३ किलोमिटर लम्बाइको सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कुसुमटारस्थित मरिणखोलामा खसालिने छ । त्यहाँ ६६.२९ मिटर हेडवक्र्सबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिने छ । आयोजनाको लागत सुरुमा करिब ४६ अर्ब रुपियाँ रहेकोमा वृद्धि भई पछिल्लो अनुमान अनुसार ४९ अर्ब ४२ करोड रुपियाँ पुगेको आयोजना प्रमुख कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७७/७८ बाट सुरु भएको आयोजना २०८४/८५ सम्ममा सक्ने लक्ष्य रहेको छ ।
आयोजना अनुसार पहिलो चरणको काम अन्तर्गत सुरुङ निर्माण रहेको छ । दोस्रो चरणको काम अन्तर्गत बाँध, पावर हाउस, पानी फर्काउने इन्टेकलगायतका संरचना निर्माण रहेको छ । तेस्रो चरणको काम विद्युत् उत्पादन गर्नुपर्ने संरचना बनाउनुपर्ने छ । चौथो चरणमा उत्पादन भएको विद्युत् सर्लाहीको नवलपुर पु¥याई राष्ट्रिय प्रसारण लाइनमा जोड्नुपर्ने रहेको छ ।