चितवन समाचारदाता
चितवन, कात्तिक ९ गते । चितवन जिल्ला अदालतले कात्तिक ११ गतेपछि मात्र नयाँ मुद्दा तथा निवेदन दर्ता र सुनुवाइ थाल्ने भएको छ । जेनजी समूहको आन्दोलनका क्रममा अदालतमा तोडफोड र आगजनी भएपछि नियमित सेवा अवरुद्ध भएको थियो । आगजनी भएपछि सरसफाइ गरेर सामान्य सेवा सञ्चालन गरेपछि नयाँ मुद्दा दर्ता भने गरेको थिएन । मिसिल सुरक्षित रहेका चालु अवस्थाका मुद्दामा पनि नियमित कामकारबाही सुचारु हुने भएको हो ।
चितवन जिल्ला अदालतका स्रेस्तेदार देवीराम भण्डारीले कात्तिक ११ गतेदेखि थप तीन वटा सेवा सुचारु हुन लागेको जानकारी दिनुभयो । “नयाँ दर्ता हुन आउने मुद्दा तथा निवेदन दर्ता हुने छ । मिसिल सुरक्षित रहेका चालु अवस्थाका मुद्दामा नियमित कामकारबाही गरिने छ भने फैसला कार्यान्वयनतर्फ तहसिल शाखामा मिसिल सुरक्षित रहेका सबै चालु अवस्थाका निवेदनमा नियमित कामकारबाही सुचारु गर्ने निर्णय गरेका छौँ,” उहाँले भन्नुभयो ।
फाँट नं. ४ को एउटा, फाँट नं. ५ को ५७ वटा, फाँट नं. ६ को ३०९ र फाँट नं. ७ को ३०३ गरी ६७० थान मिसिल सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो । करिब एक हजार चार सय थान मिसिल जलेर नष्ट भएको अनुमान गरिएको छ । त्यस्तै तहसिल शाखामा रहेका फैसला कार्यान्वयनका ३९६ वटा मिसिल सुरक्षित रहेको छ । सुरक्षित रहेका मिसिलको विवरण अदालत र चितवन जिल्ला अदालत बार एसोसिएसनको सूचना पाटीमा हेर्न सकिने स्रेस्तेदार भण्डारीले बताउनुभयो । भदौ २३ देखि कात्तिक १० गतेसम्म तारिख/पेसी, म्याद र हदम्याद रहेको तर आन्दोलनबाट सिर्जित परिस्थितिका कारण अदालतमा उपस्थित हुन नसकेका पक्ष तथा व्यक्ति आगामी मङ्सिर १० गतेसम्म अदालतमा उपस्थित हुनुपर्ने भएको छ । त्यस्ता पक्ष तथा व्यक्तिलाई कात्तिक ११ गतेदेखि ३० दिनभित्र आफ्नो परिचय खुल्ने कागजातसहित उपस्थित हुन भनिएको छ ।
आगजनीबाट जलेका मिसिलको हकमा विवरण प्राप्त भएर मिसिल खडा भएपछि प्रक्रिया अगाडि बढ्ने सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभयो । सर्वाेच्च अदालतले अदालतको सर्भर तयार गर्दै छ । सर्भर सञ्चालनमा आएपछि जलेका मिसिलको विवरण निकाल्न सकिन्छ । “सर्वोच्चले सिस्टम सर्भर (केस म्यानेजमेन्ट सिस्टम) सुचारु गरेपछि जलेका मिसिल विवरण निकाल्न सकिन्छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार रवि लामिछाने जोडिएको सहकारी ठगीको मुद्दाको मिसिलसमेत जलेर नष्ट भएको छ । सहकारी ठगीसहितका करिब एक हजार चार सय मुद्दाको मिसिल जलेको उहाँले बताउनुभयो ।
यसअघि म्याद थप, कल डिटेल अनुमति, जरुरी पक्राउ पुर्जी स्वीकृति, पक्राउ पुर्जी अनुमति, बन्दी प्रत्यक्षीकरणको निवेदन, अभियोगपत्रसाथ उपस्थित गराइएका प्रतिवादीको बयान एवं थुनछेक, दर्ताद्वारा विवाह, अधिकृत वारेसनामा, मृत्युको न्यायिक घोषणा र संरक्षक नियुक्तिको सेवा सुचारु भइसकेको छ । त्यस्तै दुवै पक्षको सहमतिमा मिलापत्र हुने प्रयोजनका लागि फिरादपत्र, प्रतिउत्तर तथा मिलापत्रको दरखास्तसहित दर्ता हुन आएका सम्बन्धविच्छेद मुद्दाका नयाँ फिरादपत्र तथा प्रतिउत्तरपत्र दर्ता र विशेष प्रकृतिका निवेदनको दर्ता तथा कारबाही पनि सुचारु भइसकेको छ ।