चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक ९ गते । यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार एकै दिन छ हजार ३९३ जना भक्तजनले पाथीभराको दर्शन गरे । बिहान ३ः०० देखि दिउँसो ३ः०० बजेसम्म लाइनमा बसेर भक्तजनले पूजाअर्चना गरेका थिए । पाथीभरामा वर्षभर नै भक्तजनको आगमन हुने गरेको छ । तर विशेषगरी दसैँतिहारका समयमा तुलनात्मक रूपमा धेरै भक्तजनको आगमन हुने गरेको छ । त्यसपछि चैतेदसैँको आसपासमा समेत धेरै भक्तजन आउने गरेका छन् ।
समितिका अनुसार यसअघि गत असोजभर २९ हजार १७४ जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए । यस्तै आज पनि पाथीभरामा बिहानैदेखि भक्तजनको भीड उपस्थिति देखिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो ।
यसैगरी, पाथीभरामा सरसफाई गरिएको छ । पाथीभरा क्षेत्र विकास समिति र फुङ्लिङ नगरपालिकाको संयुक्त आयोजनामा शनिबार सरसफाई गरिएको हो ।
समितिका कार्यकारी निर्देशक हाङ्बाङका अनुसार पाथीभरा धामसहितका क्षेत्रमा सरसफाई गरिएको छ । पाथीभरा क्षेत्रअन्तर्गत काफ्लेपाटी, बलुडाँडा, गुराँसे, फेदी हुँदै पाथीभरा धाम पुग्ने पदमार्ग र धाम परिसरमा सरसफाई गरिएको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार पाथीभरा क्षेत्र समितिका कर्मचारी, फुङ्लिङ नगरपालिकाका जनप्रतिनिधिसहित अन्य कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, सर्वसाधारण नागरिक लगायतको सहभागितामा सरसफाई गरिएको समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिनुभयो । सरसफाइसँगै विश्व शान्तिको कामना गर्दै पाथीभरामा सामूहिक पूजापाठसमेत गरिएको अध्यक्ष थेबेले बताउनुभयो ।
समुन्द्र सतहदेखि तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित पाथीभरामा गतवर्ष पनि पाथीभरा क्षेत्र विकास समितिको आयोजनामा सरसफाई तथा संयुक्त पूजापाठ गरिएको थियो । प्रसिद्ध तथा पवित्र शक्तिपीठ पाथीभराको महिमालाई कायम राखी पाथीभराको थप प्रवद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यसहित सरसफाइसँगै संयुक्त पूजा आयोजना गरिएको समितिका कार्यकारी निर्देशक हाङ्बाङको भनाइ छ ।