• १० कात्तिक २०८२, सोमबार

छठका लागि हरिपुरस्थित नहरमा घाट तयारी गरिँदै

blog

सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरस्थित कोशी किनार र नहरमा छठघाट तयार गरिँदै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, कात्तिक ९ गते ।
सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरस्थित कोशी किनार र नहरमा छठघाट तयार गरिएको छ  ।विभिन्न स्थानहरूमा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । नदी, नाला, पोखरी, नहर र घरका छेउमा अस्थायी छठ घाटहरूको सजावट कार्य तीव्र गतिमा भइरहेको छ । यस पर्वको अवसरमा हजारौँ श्रद्धालुहरू सूर्य देवतालाई सोमबार अर्घ्य दिने तयारीमा जुटेका छन् ।

जिल्लाका प्रमुख जलाश्यहरू कोशी ब्यारेज, कोशी कटान, सुकसेना शाखा, सुनसरी खोला, झुम्का नहर, शंकरपुर शाखा नहर र बुढी खोलासहितको स्थानहरूमा अस्थायी छठ घाट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्थानीयहरूका अनुसार, यहाँका विभिन्न स्थानहरूमा नदी र नहरका किनारमा रंगीन फूल, दीप, कागती र अन्य पारम्परिक सामग्रीहरूको प्रयोग गरेर घाट सजाइँदैछन् ।

यता छठ घाट निर्माण स्थलहरूमा स्थानीय जनप्रतिनिधिहरूको सक्रियता समेत रहेको छ । इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, रामधुनी नगरपालिका, बराहक्षेत्र नगरपालिका, भोकाहा नरसिंह गाउँपालिका, देवानगञ्ज गाउँपालिका, वर्जु गाउँपालिका र गढी गाउँपालिकाका जनप्रतिनिधिहरू छठ पर्वको तयारीमा सक्रिय छन् । यी पालिकाका जनप्रतिनिधिहरूले स्थानीय समुदायसँग मिलेर घाट सजावट र व्यवस्थापनमा तीव्रता दिएका छन् । विभिन्न स्थानमा अर्घ्य दिने व्यवस्था गर्नका लागि आवश्यक सामग्री र सुरक्षाका उपायहरू सुनिश्चित गर्ने काम भइरहेको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीले छठ पर्वको अवसरमा विशेष सुरक्षा व्यवस्था पनि लागू गरेको छ । घाट स्थलहरूमा सुरक्षाकर्मीहरू तैनाथ गरिने छ ।

यता छठ पर्वको मुख्य दिन अर्थात् सोमबार साँझ सूर्य अस्ताउँदा श्रद्धालुहरूले पानीमा उभिएर सूर्य देवतालाई अर्घ दिनेछन् । यस अवसरमा, छठ घाटलाई धार्मिक र सांस्कृतिक दृष्टिकोणले सजाइएको छ । विशेष गरी, विभिन्न स्थानहरूमा स्थानीय कला र संस्कृतिका प्रतीकहरूको प्रयोग गरेर घाटको आकर्षणमा वृद्धि गरिएको छ । त्यस्तै जिल्लाका विभिन्न स्थानहरूमा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ ।