विनय कर्ण
कल्याणपुर (सप्तरी), कात्तिक ९ गते । चारदिनसम्म मनाइने छठपर्व आइतबार ‘खरना’ गरी मनाइदै छ । पर्वको दोस्रोदिन अर्थात पञ्चमी तिथिमा ब्रतालु दिनभरी उपवास वसी संध्याकालमा ‘खरना’ गरी यो पर्व मनाउँदै छन् ।
खरनाका दिन ब्रतालुले नुहाई धुवाई गरी चोखो भएर साँझपख नयाँ वस्त्र धारण गरी आ–आफ्नो इष्ट देवता भएको कोठामा पकाएको पुरी, गुँड, दूध र अरवा चामलको खीर र केरा चन्द्रमालाई चढाउँछन् ।
चन्द्रमालाई चढाएपछि खीर तथा लौकाको तरकारी व्रतालुले भोजनको रुपमा ग्रहण गर्दछन् । खरनाका सबै ब्रतालुहरूले बिहानदेखि निर्जला भएर बेलुकी एक छाक मात्र भोजन गर्ने गर्दछन् । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गतको खरनालाई पापको क्षय हुने दिन भनिन्छ ।
खरनाअन्तर्गत गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास बस्ने गर्दछन् ।
बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सखर, दूध र गम्हरीको चामलको खीर पकाउने पौराणिक मान्यता रहिआएको छ । तर, गम्हरीको चामल नभए धानको चामलको प्रयोग गरिन्छ । कतिपय परिवारमा खीरका साथै रोटी पनि पकाउने चलन छ ।
खरनामा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, पान र सुपारी आदि राखिन्छन् ।
नैवेद्यलाई केराको पातमा राखेर छठी मातालाई चढाइन्छ । नैवेद्यलाई उत्सर्ग गरिसकेपछि व्रती र परिवारजनले प्रसाद ग्रहण गर्ने चलन रहेको छ ।