• ९ कात्तिक २०८२, आइतबार

गुल्मी खेलकुद : दुई वर्षदेखि कार्यालय प्रमुखविहीन

blog

खेलकुद विकास समिति गुल्मीको कार्यालय । तस्बिर :टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी) कात्तिक ९ गते ।
विगत लामो समयदेखि जिल्लाभर खेलकुद गराउने मुख्य काम गर्दै आएको जिल्ला खेलकुद विकास समिति अहिले कार्यसमिति विहीन बनोको छ । यद्यपि, कार्यालय प्रमुखविहीन भएको करिब दुई वर्ष भयो ।

अहिले कोष तथा लेखा नियन्त्रण कार्यालयबाट लेखाको काम र प्रदेश खेलकुद विकास समिति सदस्यलाई कार्यसञ्चालनको जिम्मेवारी तोकिएको छ । लुम्बिनी प्रदेश खेलकुद विकास समिति सदस्य महेश काउछाले आर्थिक कामको अधिकार कोष तथा लेखा नियन्त्रण कार्यालय गुल्मीका भुवन घिमिरे र आफुलाई कार्यसमितिको अधिकार प्राप्त भएकाले कार्यसम्पादन भइरहेको बताउनुभयो ।

सरकारले गठन गर्ने जिल्ला कार्यसमिति खारेज भएको करिव एक वर्ष भए । समितिको तथ्याङ्ग अनुसार २०५३ सालदेखि कार्यालय प्रमुखहरु आएका देखिन्छन् । २०७५ सालबाट कार्यालय प्रमुखको रुपमा रहनुभएका डिल्ली विक २०८० माघमा सरुवा हुनुभयो । त्यसयता विकास समितिमा कर्मचारीमा रुपमा विकास समितिले नियुक्त गरेका कार्यालय सहयोगी मात्रै छन् ।

खेलकुद विकास समितिमा अहिलेसम्म लेखा अधिकृत, कम्प्युटर अपरेटर र प्रशिक्षकहरु एक जना पनि कार्यालयमा छैनन् । समग्र जिल्लाको खेलकुद विकासको क्षेत्रमा काम गर्ने विकास समिति वर्षौसम्म समय एक्लो कार्यालय प्रमुखको भरमा रहेपनि जनशक्तिको व्यावस्थापन हुन सकेन् । पछि कार्यालय प्रमुखकै सरुवा भएपनि कार्यालय सहयोगी मात्रै विकास समितिमा छन् ।

सरकार परिवर्तनसँगै कार्यसमिति खारेज हुने परिपाटीमा खेल क्षेत्रको विकासमा काम गर्ने सस्था अहिले नेतृत्वविहीन अवस्थामा रहेको फोर्टिन स्टार युवा क्लवका अध्यक्ष नारायण आचार्यले गुनासो गर्नुभयो । उहाँले चिदिचौर खेल मैदान जस्तै खेलकुद विकास समिति समेत अलपत्र पारेर राज्यको लाचारीपन देखिएको बताउनुभयो । विकास समितिमा तेक्वान्दो, कराँते, भलिवल, एथ्लेटिक्स, बक्सिङ्ग, उस्सु लगायतका प्रशिक्षक हुनुपर्ने भए पनि स्वयसेवकहरुले प्रशिक्षण दिने गरेका थिए ।