• ६ कात्तिक २०८२, बिहिबार

अध्यक्ष दाहाल र अस्ट्रेलियाका सभामुखबिच शिष्टाचार भेट

blog

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अस्ट्रेलियाको संसद हाउस अफ रिप्रेजेन्टिेटिभका सभामुखसँग गर्नुभएको भेटवार्ता । तस्बिरः दाहालको सचिवालय

गोरखापत्र अनलाइन 

जेनेभा, कात्तिक ६ गते । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अस्ट्रेलियाको संसद हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख मिल्टन डिकसँग द्विपक्षीय भेटवार्ता भएको छ। अन्तर व्यवस्थापिका सङ्घ (आइपियू) को १५१ अ‍‍ौँ महासभाको सन्दर्भमा जेनेभामा रहनुभएका राष्ट्रिय सभा अध्यक्ष दाहालले अस्ट्रेलियन सभामुखसँग भेट गर्नुभएको हो। 

भेटमा दुई देशबिचको आपसी सम्बन्ध, द्विपक्षीय हित र सहयोगका साथै संसदीय सहकार्यका विषयमा छलफल भएको छ । अष्ट्रेलियाले नेपालको शिक्षा, स्वास्थ्य, सुशासन र सामुदायिक वन व्यवस्थापनका क्षेत्रमा उल्लेख योगदान गरेको भन्दै अध्यक्ष दाहालले आगामी दिनमा जलवायु परिवर्तनको सामना, नवीकरणीय ऊर्जा, स्थानीय सुशासन लगायतका क्षेत्रमा सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो। 

१ लाख ८० हजार बढी नेपालीहरू अस्ट्रेलियामा रहेको भन्दै अध्यक्ष दाहालले ६० हजार बढी विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत रहेको स्मरण गराउनुभयो । अस्ट्रेलियामा रहेका नेपाली समुदाय र विद्यार्थीको सुरक्षा, सम्मान र सहयोगी वातावरणका लागि धन्यवाद व्यक्त गर्दै अध्यक्ष दाहालले शैक्षिक साझेदारी, प्राविधिक तालिम र अनुसन्धान आदान प्रदानजस्ता कार्य विस्तारमा जोड दिन आग्रह गर्नुभयो। 

आइपियू महासचिवसँग भेट 

यसैबिच अध्यक्ष दाहालले जेनेभामा अनुरागसिंह ठाकुर नेतृत्वको भारतको संसदीय प्रतिनिधि मण्डल तथा अन्तर व्यवस्थापिका सङ्घ (आइपियू) का महासचिव मार्टिन चुङगोङसँग भेटवार्ता गर्नुभएको छ। भारतीय टोलीसँगको भेटमा अध्यक्ष दाहालले भारतसँगको सम्बन्ध अ‍ौपचारिक र देशबिचको मात्र नभई जनता–जनताबिचको सम्बन्ध बलियो रहेको बताउनुभयो। 

नेपालमा पछिल्लो समयमा भएको जेनजी आन्दोलन, त्यसबाट उत्पन्न हुने नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन भएको र चुनाव घोषणा भएको जानकारी गराउँदै अध्यक्ष दाहालले तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताउनुभयो। 

त्यस्तै, आन्दोलनको क्रममा क्षति पुगेका संरचनाहरूको पुनर्निमाण र नयाँ निर्वाचनका लागि मित्रराष्ट्रहरूको साथ र सहयोगका लागि अध्यक्ष दाहालले आग्रह गर्नुभयो। 

आइपियूका महासचिव मार्टिन चुङगोङसँगको भेटमा अध्यक्ष दाहालले नेपालमा बदलिएको राजनीतिक परिस्थितिमा प्रतिनिधि सभाको निर्वाचन तोकिएको र विधायिकी जिम्मेवारी राष्ट्रिय सभाले निर्वाह गरिरहेको बताउनुभयो। संसदीय अभ्यास थप परिष्कृत गर्न र लोकतान्त्रिक संस्थाहरू सुदृढ बनाउन अन्तर व्यवस्थापिका सङ्घसँग सहकार्य गर्न चाहेको अध्यक्ष दाहालले बताउनुभयो।