• ३ कात्तिक २०८२, सोमबार

गुल्मीमा बाह्रैमास झिलिङ्गाको व्यापार

blog

गुल्मीको मुसिकोट नगरपालिका–७ वामीकी बिष्णुमति श्रेष्ठले झिलिङ्गा उत्पादन गर्दै । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), कात्तिक ३ गते ।
गुल्मीको मुसिकोट नगरपालिका–७ वामी बजारमा बिष्णुमति श्रेष्टले झिलिङ्गाको व्यवसायीक उत्पादन थालेका डेढ दशक बित्यो । उहाँले आमा चम्पादेविसँगै झिलिङ्गा बनाउनुहुन्थ्यो । अहिले बिष्णुमतिकोमा आफु बाहेक तीन जना झिलिङ्गाको काम गर्ने मान्छे छन् । तिहार नजिक भएकाले बिहान ४ बजेबाट बेलुका अबेरसम्म झिलिङ्गाकै कामले भ्याइनभ्याई छ । उहाँले भन्नुभयो, “नयाँ ग्राहकलाई बेच्नै सकिएको छैन । तीज, दसैँतिहारमा मुख्य व्यापार हुने भएकाले पुरानाहरुको माग अनुसार रातदिन काम गरिरहेका छौ ।”

उहाँले होटल व्यवसाय पनि गरिरहनुभएको छ । होटलसँगैको झिलिङ्गा व्यापारले राम्रो आम्दानी दिएको छ । नेपाली परिकारमध्ये झिलिङ्गा बनाउन आफैँमा अप्ठ्यारो छ । गुल्मीमा अहिलेसम्म झिलिङ्गा उत्पादनमा मेसिनको प्रयोग गरिएको छैन । हातलेनै बनाउने भएकाले पनि ढिडो मस्काउनै सकस रहेको बिष्णुमतिले सुनाउनुभयो । झिलिङ्गाका लागि मौसम झन चुनौती पूर्ण छ ।

श्रेष्ठले दसैँ नजिक निरन्तर पानी परेकाले आफुहरुले ठुलो क्षति व्यहोर्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “पेलेपछि घामबाहेक सुकाउने अरु उपायहरु छैनन् । दसैँमा निरन्तर पानी परेकाले १०÷१५ दिन काम नभएकाले माग थेग्न मुस्किल परिरहेको छ ।” बिष्णुमतिका अनुसार झिलिङ्गाको उत्पादनले बजार थेग्न सकिरहेको छैन । उहाँले बाह्रैमास झिलिङ्गा उपादन गर्नुहुन्छ । उत्पादित झिलिङ्गा स्थानीय वामी बजार, तम्घास, बाग्लुङ्ग र अर्घाखाँचीका विभिन्न बजारहरुमा बिक्री गरिरहेको छ ।

झिलिङ्गाको बजार मूल्य होलसेलको प्रतिकिलो १०० रुपियाँ र फुटकर १२० रुपियाँमा बिक्री भइरहेको छ । झिलिङ्गा तीज, दसैँतिहारको परिकार मात्रै नभएर आफन्तलाई पाहुर पठाउन, विवाह, पूजा, मेला महोत्सव र घरयासी नास्ताको रुपमा पनि उपभोक्ताहरुले खरिद गर्ने गरेका छन् । वर्षभरीमा आफुले आठ/दस लाख रुपियाँको कारोबार झिलिङ्गाबाट गर्दै आएको बिष्णुमतिले बताउनुभयो ।

रेसुङ्गा नगरपालिका–८ की यमकला श्रेष्टले पनि लामो समयदेखि झिलिङ्गाको उत्पादन गर्नुहुन्छ । मुख्य पेशा  होटल व्यवसाय भएकाले फुर्सद निकाले झिलिङ्गा पनि उत्पादन गर्दै आउनु भएको छ । झिलिङ्गा मात्रै उत्पादन गरेर बिक्री गर्न सके धेरै आम्दानी हुने भए पनि वर्षमा एक लाख आसपासको मात्रै आफुले कारोबार गरिरहेको यमकुमारीले बताउनुभयो । झिलिङ्गा सुकाउने प्रविधि छैन । हाते मेसिनबाट बनाउने र सुक्न घाम चाहिने भएकाले हुँदा लामो बर्सादले ठुलो समस्या हुने श्रेष्ठले बताउनुभयो ।

झिलिङ्गा बनाउन कला पनि आवश्यक पर्छ । आर्कषक बनाउन नसके ग्राहकले किन्दैनन् । राम्रो हुन राम्रो पाक र मौसम चाहिन्छ । चामलको पीठो, तेल र आर्कषक देखाउन कलर झिलिङ्गाका सामग्री हुन् । बजारमा चामलको मुल्य बढेपछि झिलिङ्गाको मूल्य धेरै वर्षदेखि एउटै हुँदा गाह्रो परेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,“दिनभर झिलिङ्गामा मेहेनत लगाए बजार पाएन भन्नु पर्दैन । अहिलेसम्म घरबाटै झिलिङ्गा खोसाखोस भइरहेको छ ।”

तम्घासकै समिक्षा श्रेष्ठले पनि झिलिङ्गाको व्यापार गर्न थालेका २० बर्षभन्दा बढि भए । उहाँले पनि वर्षभरनै झिलिङ्गा उत्पादन गर्नुहुन्छ । आफुसहित परिवारका सवै सदस्यले आमाको काममा सघाउने भएकाले वर्षमा पाँच/सात लाख रुपियाँको झिनियाँ बिक्री हुने समीक्षाले बताउनुभयो । हातलेनै बनाउने भएकाले धेरै परिमाणमा उत्पादन गर्न नसक्दा स्टक नहुने बताउनुभयो । तम्घासमा १५÷२० घर नेवार समुदायले व्यवसायीक रुपमा झिलिङ्गाको व्यवसाय गर्दै आएका छन् । त्यो बाहेक वामी, रिडी, बलेटक्सार, मजुवा, जुहाङ्ग बजार लगायतका ठाउँमा नेवार समुदायले झिनियाँ उत्पादन र बिक्री गर्ने गरेका छन् ।