• ४ जेठ २०८१, शुक्रबार

‘नेवाः पहिचान र विविध आयाम’ विषयमा दुई दिने राष्ट्रिय कार्यशाला

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, जेठ १८ गते । हलि नेवाः अर्गनाईजेशन नेपाल च्याप्टरको दुई दिने ‘नेवाः पहिचान र विविध आयाम’ राष्ट्रिय कार्यशाला गोष्ठी यहाँस्थित नयाँबजारको एक पार्टी प्यालेसमा शनिबार पनि जारी छ । कार्यशालामा नेवाः पहिचानसँग जोडेर पत्रकारिता, पहिचानजनित अधिकार, भाषा, कला संस्कृतिका विभिन्न विधामा १२ जना व्यक्तित्वले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेकाे छ ।

जितेन्द्र बज्राचार्यले नेवाः संस्कृति गणेश, शोभा श्रेष्ठले हाकु पटासी र वरिष्ठ पत्रकार पुष्करभक्त माथेमाले नेवाः पहिचानको अतिक्रमण विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । नेवाः अमूर्त संस्कृति अन्तर्गत पत्रकार रत्न महर्जनले येँया पून्हि, विराजकाजी राजोपाध्यायले अण्डा सगुन र त्रिरत्न मानन्धरले दाफाबारे कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

हिजाे शुक्रबार कार्यशाला उद्घाटनपछि डा. मिलन शाक्यले नेवाः पहिचानका विविध आयाम, प्राडा चुन्दा बज्राचार्यले नेवाः शिक्षा र सञ्चार विषयमा, वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले नेपाल भाषाको पत्रकारिताले दिशा र लिपि अध्येयता शरद कसाःले नेपाल लिपिको बारे कार्यपत्र प्रस्तुत गर्नुभयाे । यस्तै, किरण के रञ्जितले विश्वमा नेवाः,  प्रेमराज शिल्पकारले पहिचानको लागि भएको आन्दोलन र श्याम मानन्धरले नेपाल संवत् र शंखधर साख्वाको विषयमा हिजाे शुक्रबार कार्यपत्र प्रस्तुत गर्नुभयाे ।

शुक्रबार कार्यशालामा गोष्ठी उद्घाटन गर्नुहुँदै संघीय मामिला तथा सामान्य प्रशासन राजेन्द्र श्रेष्ठले संघीयताको मुल मर्म अनुसार व्यवहारिक रुपमा क्रियान्वयन भइरहेको बताउनुभयो । नेपाल संघीय राज्य व्यवस्थामा रुपान्तरित भएकाले विश्वभरका संघीय मुलुकुहरुको छाता संगठनमा आवद्ध हुने तयारी नेपाल सरकारको रहेको जानकारी दिनुभयो ।  श्रेष्ठले नेपालभाषा, संस्कृति र साहित्यको उत्थानमा योगदान दिनुभएको  उल्लेख गर्दै काठमाडौं महानगरपालिका निर्वतमान प्रमुख विद्यासुन्दर शाक्यलगायतलाई सम्मान गर्नुभयो ।


निवर्तमान प्रमुख शाक्यले आफ्नो पाँच वर्षे कार्यकालमा ‘येँ देय् म्हसिके’ (काठमाडौं चिनौं) स्थानीय पाठ्यपुस्तक बनाएर नेपालभाषाको माध्यमबाट सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ देखि ८ सम्म पठनपाठन गराउने व्यवस्था गर्नुभएको थियो । सोही अवसरमा नागरिक अभियन्ता शाक्य सुरेन (सुरेन्द्रमान शाक्य)लाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा गोरखापत्र दैनिकका पूर्वसम्पादक पुष्करभक्त माथेमा र कार्यक्रमका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ र लगायतले भाषा, कला, संस्कृतिको जेगर्ना गर्नको लागि कार्यशालाले थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । –उपेश महर्जन