पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, मङ्सिर ५ गते । पश्चिम नवलपरासी जिल्लाका साप्ताहिक हाटबजारहरूमा बिक्री हुने तरकारी, फलफूल तथा अन्य खाद्य सामग्रीहरूमा विषादी (केमिकल) को अनियन्त्रित प्रयोग भइरहेको भन्दै साप्ताहिक हाट बजार व्यवसायी सङ्घ, नवलपरासीले गम्भीर चासो व्यक्त गरेको छ ।
उपभोक्ताको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै सङ्घले बिहीबार औपचारिक रूपमा जिल्ला प्रशासन कार्यालयलाई गुणस्तर परीक्षणको व्यवस्था मिलाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापन पत्रमा तरकारी तथा फलफूलमा अनियन्त्रित रूपमा विषादी प्रयोग हुँदा उपभोक्ताको स्वास्थ्य जोखिम चुलिएको उल्लेख छ ।
“यस्ता विषादी प्रयोगले क्यान्सर, पेटका रोग, छाला रोग, आँखा दुख्ने, कलेजो तथा मुटुसम्बन्धी जटिल समस्या देखिने खतरा हुन्छ,’’ ज्ञापन पत्रमा भनिएको छ । सङ्घका अनुसार हाटबजारमा बिक्री हुने धेरै प्रतिशत तरकारी तथा फलफूलमा विषादीको मात्रा स्वीकृत सीमाभन्दा धेरै माथि रहेको भन्दै उपभोक्ताबाट लगातार गुनासो आइरहेको छ । तरकारीमा प्रयोग हुने रासायनिक पदार्थहरू सामान्य धुने, भिजाउने वा पकाउने प्रक्रियाबाट पनि नहट्ने भएकाले स्वास्थ्य जोखिम अझ बढ्ने खतरा औंल्याइएको छ ।
सङ्घका अध्यक्ष सागर विकका अनुसार झन्डै एक सयभन्दा बढी प्रकारका विषादात्मक रासायनिक पदार्थहरू तरकारी तथा फलफूलमा प्रयोग भइरहेको पाइएको छ, जसले मानिसको शरीरमा दीर्घकालीन असर पार्नेछ ।
स्थानीय तहलाई सहयोगको अनुरोध
सङ्घले उपभोक्ताको स्वास्थ्य सुरक्षा र खाद्य सुरक्षाको सुनिश्चितताका लागि तत्काल कदम चाल्न माग गर्दै सम्बद्ध निकायसँग विषादीको सर्वेक्षण, निगरानी र तत्काल गुणस्तर परीक्षणको व्यवस्था गर्न माग गरेको छ ।
ज्ञापन पत्रमार्फत स्थानीय तहहरू बर्दघाट, रामग्राम, सुनवल नगरपालिका तथा प्रतापपुर, सरावल, सुस्ता र पाल्हीनन्दन गाउँपालिकालाई पनि विषादी प्रयोगको रोकथाम तथा परीक्षण प्रक्रियामा सहयोग गर्न अनुरोध गरिएको छ ।
हाट बजार व्यवसायी सङ्घले बजारमा गुणस्तरीय तरकारीको सहज उपलब्धता र खाद्य सुरक्षाका लागि चाँडै प्रभावकारी कदम चालिनुपर्नेमा जोड दिएको छ ।