• ५ मंसिर २०८२, शुक्रबार

सौका समुदाय ‘कुञ्चा’ सर्न थाले

blog

सदरमुकाम खलङ्गा सर्दै सौका समुदाय ।

खलङ्गा समाचारदाता  

खलङ्गा (दार्चुला), मङ्सिर ५ गते । नेपालको दार्चुला जिल्लामा मात्रै बसोबास रहेको सौका समुदाय आफ्नो थातथलोबाट सदरमुकाम खलङ्गा बसाइँ सर्न थालेका छन् । परम्परागत रूपमा विगतदेखि नै गर्मीयामको छ महिना व्यास गाउँपालिका–१, तिङ्कर र छाङरु गाउँमा बस्ने सो समुदाय हिउँदको छ महिना सदरमुकाम खलङ्गामा बसाइँ सर्ने गर्दछन् । 

बसाइँसराइ गर्नुलाई सौका समुदायको भाषामा ‘कुञ्चा’ सर्नु भनिन्छ । हिउँदेयाम सुरु भएसँगै चिसो छल्न थातथलोबाट सदरमुकाम खलङ्गा झर्न लागेको तिङ्करका स्थानीय दानसिंह तिङ्करीले जानकारी दिनुभयो । 

मङ्सिर १ गते सदरमुकाम खलङ्गाका लागि हिँडेका तिङ्कर गाउँका पाँच परिवार छाङरुस्थित सीतापुल हुँदै भारतको बाटोबाट नेपाल आउन लागेको उहाँले बताउनुभयो । नेपालको बाटोबाट कुञ्चा सर्न तत्काल सम्भव नभएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “गाउँमा चिसो बढेको छ, तिङ्करको पाँच परिवार आयौँ, बाँकी परिवार मङ्सिरको ७ गतेतिर आउँछन् ।” गत वैशाख दोस्रो साता गाउँ उक्लेको कुञ्चा सदरमुकाम खलङ्गा झर्न लागेको हो । सौका समुदायका बालबच्चासहितको परिवार र वस्तुभाउसहित कुञ्चा सर्ने गर्दछन् । सदरमुकाम खलङ्गाबाट २८ कोस टाढा रहेको तिङ्कर र छाङरुका मानिस भारतको बाटो हुँदै पैदल कुञ्चा सर्ने गर्दछन् । नेपालबाट सो गाउँसम्म पुग्ने बाटो छैन । छाङरुका स्थानीय भने मङ्सिरको १५ पछि मात्रै बसाइँ सर्ने बताइएको छ । भारतीय बाटो प्रयोग गर्दा सुरक्षाकर्मीको दुव्र्यवहार खेप्नुपर्ने, अनुमति लिनुपर्नेलगायतका समस्या तिङ्करीले बताउनुभयो । कुञ्चा सर्दा भारतको बाटो प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले बाटोघाटो तथा सडक निर्माण गर्नुपर्ने यहाँका स्थानीयले माग गरेका छन् । सौका समुदायको कुञ्च भारतको बाटो हुँदै सदरमुकाम आउने भएपछि आफूले भारतको स्थानीय प्रशासनसँग समन्वय र सहयोगका लागि आग्रह गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।

सदरमुकाम खलङ्गाबाट तिङ्कर गाउँ पुग्न छ दिनको पैदलयात्रा गर्नु पर्दछ । व्यासको छाङरु गाउँमा १२५ र तिङ्कर गाउँमामा ७० परिवारको बसोबास रहेको व्यासी सौका समाज दार्चुलाले जनाएको छ । आफ्नै भाषा, संस्कृति मौलिकता र पहिचान भएका आदिवासी जनजाति व्यासी सौका समुदायका मानिस जिल्लाको व्यास, राप्ला र सितोलामा आदिमकालदेखि बसोबास गर्दै आइरहेका छन् । सौका समुदायका मानिसले (रं) भाषा बोल्ने गर्दछन् । वर्षभरि एक मात्रै खेती हुने तिङ्कर र छाङरुका स्थानीय उवा, नप्पल, फापर र आलुलगायतका अन्नबाली लगाउने गर्दछन् । 

बाटो खुलाइँदै

छाङरु र तिङ्कर गाउँ जोड्ने पैदल बाटो अन्तर्गत व्यास गाउँपालिकाको दोपाखे, बयली र तम्बाकु क्षेत्रमा बाटो निर्माण कार्य भइरहेको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा गरेको ठेक्का सम्झौता अन्तर्गत बाटो निर्माण कार्य भइरहेको निर्माण कम्पनीले जनाएको छ । नेपालबाटै तिङ्कर र छाङरु जोड्ने पैदलबाटो अधिकांश निर्माण कार्य यसअघि भइसकेको छ । बाटो निर्माण भइरहेको दोपाखे, बयली र तम्बाकु क्षेत्रमा बाटो निर्माणको काम अन्तिम चरणमा पुगेको बाटो निर्माणमा संलग्न मिसन–देवहरी जेभीका प्रतिनिधि केशवबहादुर पालले बताउनुभयो ।