• ५ मंसिर २०८२, शुक्रबार

एफएम रेडियो सङ्कटमा

blog

टीकापुर समाचारदाता

टीकापुर, मङ्सिर ५ गते । विकट र निरक्षरलाई समेत आफ्नै भाषामा सूचना र समाचार सुनाउने सुदूरपश्चिमका एफएम रेडियोलाई सञ्चालनमा कठिनाइ हुन थालेको छ । सीमित स्रोतमा सयौँको सङ्ख्यामा खुलेका सञ्चार माध्यम आश्रित भएपछि आर्थिक स्रोतको अभावमा सङ्कटमा पर्न थालेका हुन् । 

राष्ट्रिय जनगणना–२०७८ अनुसार करिब २४ प्रतिशत जनसङ्ख्या अझै निरक्षर छन् । नेपाली, डोटेली, थारू, रानाथारू जस्ता मुख्य भाषा र जिल्लैपिच्छे भाषिका भएका सुदूरपश्चिममा स्थानीय भाषाका सञ्चार माध्यमको महत्व अझै छ । एउटा एफएम रेडियो स्थापना गर्दा कम्तीमा ३० लाख रुपियाँ लगानी भएको छ भने कम्तीमा छ जना पत्रकार कर्मचारीले रोजगारी पाइरहेका छन् । 

विकट गाउँबस्तीका नागरिकलाई स्थानीय आवाजमा सूचना सन्देश पु¥याइरहेका एफएम रेडियोलाई सरकारले सहयोग नगरेको गुनासो सामुदायिक रेडियो प्रसारक सङ्घ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष वेदप्रकाश तिमिल्सैनाले गर्नुभयो । कतिपय पत्रकार रेडिया बन्द गरेर वैदेशिक रोजगारमा समेत जान थालेको उहाँले बताउनुभयो । 

पछिल्लो समय सञ्चार माध्यमको सङ्ख्या धेरै भएपछि बैतडीमा ‘डल्ली डल्ली एफएम झोपा झोपा अनलाइन’ भन्ने उखान चलेको सेभेन स्टार एफएम बैतडीका अध्यक्ष अमर भट्टराई बताउनुहुन्छ । बैतडीको भाषामा डल्ली भनेको गाउँ र झोपा भनेको घर हुन्छ । बैतडीमा नौ वटा एफएम र २५ भन्दा बढी अनलाइन छन् । रेडियो जनप्रिय अछामका स्टेसन व्यवस्थापक तपेन्द्रबहादुर कुँवर बजारमा नआउने भित्रभित्रै छापेर प्रेस काउन्सिलमा वर्गीकरण गराउने पत्रिका सञ्चालकलाई बाह्रै महिना लोककल्याणकारी विज्ञापन दिने सरकारले दूरदराजमा सूचना पु¥याइरहेका रेडियोलाई नदिनु विभेदकारी नीति भएको बताउनुहुन्छ ।

नेपाल पत्रकार महासङ्घका पूर्वाध्यक्ष धर्मेन्द्र झा रेडियोमा समयसापेक्ष सामग्री प्रसारण हुन छाडेको, आवश्यकताभन्दा बढी एफएम खुलेको, सामुदायिक रेडियोसमेत एक दुई जना व्यक्तिको नियन्त्रणमा रहेर सार्वजनिक हुन नसकेको र राजनीतिक दलका मुखपत्रका रूपमा काम गर्दा एफएम रेडियोलाई सङ्कट आएको बताउनुहुन्छ । सुदूरपश्चिममा दर्ता भएका १२६ वटा एफएममध्ये हाल ७० वटा जति मात्रै प्रसारणमा छन् । चलेका एफएममा पनि गीत, विज्ञापन र काठमाडौँका नेटवर्कका समाचार मात्रै रिले गर्ने गरेका छन् । एउटै स्रोतमा धेरै मिडिया आश्रित हुन थालेपछि एफएमको आय घटेको र काम गर्ने जनशक्तिलाई पुग्दो आय हुन नसकेको सामुदायिक रेडियो टीकापुरका सहायक मेनेजर ईश्वर साउद बताउनुहुन्छ ।