हुम्ला समाचारदाता
हुम्ला, कात्तिक ३ गते । मानसरोवर कैलाश यात्रा गर्ने सिजनमा हुम्लाका होटेल व्यवसायीले झन्डै सात करोड रुपियाँको कारोबार गरेका छन् । साढे पाँच महिनाको पर्यटकीय सिजनमा सदरमुकाम सिमकोट र हिल्साका होटेल व्यवसायीले सो कारोबार गरका हुन् ।
मानसरोवर कैलाश दर्शन गर्ने सिजनमा हुम्लाका होटेलले छ करोड ७२ लाख रुपियाँ बराबरको कारोबार गरेको होटेल व्यवसायी सङ्घका अध्यक्ष मिमबहादुर तामाङले बताउनुभयो । यस वर्ष वैशाखदेखि असोज तेस्रो सातासम्म छ हजार ४०७ जना भारतीय तथा अन्य देशका धार्मिक पर्यटकले मानसरोवर कैलशाको यात्रा गरेका थिए । मानसरोवर कैलाशको दर्शनपछि पनि पर्यटक हिल्सा र सिमकोटमा बास बस्ने गर्दछन् । यसरी बास बस्दा हिल्सा र सिमकोटका होटेलमा एक जना पर्यटकले कम्तीमा १० हजार पाँँच सय रुपियाँ खर्च गरेको उहाँले बताउनुभयो । अध्यक्ष तामाङको होटेल पोतलाले मात्र यो सिजनमा ७८ लाख रुपियाँभन्दा बढीको कारोबार गरेको जानकारी दिनुभयो ।
पर्यटकका लागि बास बस्नयोग्य होटेल सिमकोटमा आठ वटा र हिल्सामा चार वटा छन् । सिमकोट र हिल्साका होटेलले एक सयदेखि एक हजार पाँच सय जना पर्यटकलाई बास दिएर १० लाख ५० हजारदेखि ७८ लाख ७५ हजार रुपियाँसम्म कारोबार गरेको हिल्साका होटेल व्यवसायी कर्म लामाले बताउनुभयो । यसले गर्दा कोरोनापछि सदरमुकाम सिमकोट र चीनसँगको सीमानाका हिल्सामा रहेका होटेल व्यवसायीले यस वर्ष राम्रो आम्दानी गर्न सफल भएका छन् ।
चीनले हुम्लाको हिल्सा नाका २०८१ वैशाख १८ बाट सञ्चालनमा ल्याएको थियो तर त्यतिबेला भारतीय पर्यटकलाई मानसरोवर कैलाश दर्शन गर्ने अनुमति चीनले दिएको थिएन । २०८२ सालको वैशाखदेखि भारतीय पर्यटकलाई पनि मानसरोवर कैलाश दर्शन गर्ने अनुमति चीनले दिएपछि असोजको तेस्रो हप्तासम्म नेपालगन्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शनका लागि पर्यटक आएका हुन् ।