• ३ कात्तिक २०८२, सोमबार

नागरिक उड्डयन प्राधिकरणको भवन अदालतलाई

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ३ गते । काठमाडौँ जिल्ला अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणको भवनबाट अदालतको सेवा प्रवाह गर्ने भएको छ । 

गत भदौ २४ गतेको जेनजी ओन्दोलनका क्रममा बबरमहलस्थित अदालतको भवनमा आगजनी, तोडफोड भएपछि तत्कालका लागि प्राधिकरणको प्रधान कार्यालयको एनेक्स भवन जिल्ला अदालतले प्रयोग गर्ने भएको हो । गत बिहीबार प्राधिकरण सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधिमण्डलसँग भएको संयुक्त छलफलका क्रममा प्रधानमन्त्री सुशीला कार्कीले अदालतको क्षतिग्रस्त भवनको विकल्पमा प्राधिकरणको भवन प्रयोगमा ल्याएर अदालतको सेवा प्रवाहमा लाग्न निर्देशन दिनुभएको थियो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “असोज ३० गते बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले अदालतले आफ्नो भवन सञ्चालन गर्न नसकेसम्म अदालतको कामकारबाही सञ्चालनका लागि भवन दिने निर्णय गरेको छ । उक्त निर्णयमा अध्यक्ष एवं प्रधानमन्त्री कार्कीले हस्ताक्षर गरेसँगै अब अदालतसँग वार्ता र सम्झौता गर्न ढोका खुलेको छ ।”

यसैगरी प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका लागि ८० प्रतिशतसम्म छुटको व्यवस्था गरेको सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो । वायु सेवा सञ्चालक सङ्घ र नेपालका आन्तरिक वायु सेवा सञ्चालक कम्पनीका प्रतिनिधिबिच आइतबार प्राधिकरणमा सम्पन्न बैठकले ७० वर्ष र सोभन्दा माथिका नागरिकलाई हवाई टिकटमा ५० देखि ८० प्रतिशतसम्मको छुट प्रदान गर्ने निर्णय गरेको हो । बैठकले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सङ्घीय सरकारद्वारा तोकिएको अधिकतम हवाई भाडादरमा सम्पूर्ण आन्तरिक हवाई मार्गमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै ७५ वर्षभन्दा माथिकालाई ७० प्रतिशत र ८० वर्षभन्दा माथिका नागरिकलाई ८० प्रतिशतसम्म छुट प्रदान गरिने छ भने जुनसुकै उमेर समूहका फरक क्षमता भएका यात्रुको हकमा कम्तीमा ५० प्रतिशत छुट सुनिश्चित गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।