• १४ असार २०८१, शुक्रबार

सहमतिमा निर्वाचनको मिति घोषणा हुन्छ : मन्त्री चौधरी

blog

दाङको लमहीमा रहेको देउखुरी बहुमुखी क्याम्पसले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरी । तस्विर : लीलाधर ओली

लीलाधर ओली

घोराही, असार १७ गते । सहरी विकासमन्त्री मेटमणी चौधरीले राजनीतिक सहमतिका आधारमा सङ्घ र प्रदेशसभा निर्वाचनको मिति घोषणा हुने बताउनुभएको छ । दाङको लमहीमा सञ्चारकर्मीहरुसँग मन्त्री चौधरीले आउँदो मंसिरमा निर्वाचन गर्नेगरी छलफल भैरहेको बताउनुभयो । 

निर्वाचनबारे दलहरुवीच सहमति भए पनि सरकारले केही दिनमा आधिकारिक रुपमा मिति घोषणा गर्ने उहाँले बताउनुभयो । ‘वर्तमान सरकारको अवको ध्यान भनेको समयमै सङ्घीय र प्रदेशसभा निर्वाचन गराउने हो’, मन्त्री चौधरीले भन्नुभयो, ‘सरकारको ध्यान पनि निर्वाचनमा केन्द्रित छ । 

मङ्सिरको २१ गतेलाई आधार मानेर वरिपरिको मितिमा निर्वाचन घोषणा हुनसक्ने उहाँले बताउनुभयो । मन्त्री चौधरीले संवैधानिक व्यवस्थाअनुसार समयमै निर्वाचन गराउने बताउनुभयो ।  

लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष निर्वाचन भएको भन्दै मन्त्री चौधरीले सरकारको प्रमुख ध्यान निर्वाचनमा हुने बताउनुभयो । एकीकृत समाजवादी पार्टीबाट मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आउनुभएका मन्त्री चौधरीलाई लमहीमा रहेको देउखुरी बहुमुखी क्याम्पसले कार्यक्रमको आयोजना गरेर स्वागत सम्मान गरेको छ । 

मन्त्री चौधरीले शैक्षिक क्षेत्रको गुणात्मक विकास हुन आवश्यक रहेको बताउनुभयो । अहिले उच्च शिक्षासम्म अध्ययन गरेपनि विद्यार्थी बेरोजगार बन्नुपर्ने अवस्था रहेको भन्दै त्यस्तो अवस्थाको अन्त्य हुनेगरी शिक्षाक्षेत्रको विकास हुनु आवश्यक रहेको बताउनुभयो ।