गोरखापत्र अनलाइन
काठमाडौँ, फागुन १२ गते। नेकपा (एमाले) का प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले तोकिएको मितिमै निर्वाचन हुनुपर्नेमा एमाले दृढ रहेको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले अनेक बाहनामा चुनाव सार्ने भन्ने हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सो कुरा बताउनुभयो ।
उहाँले भन्नुभयो, “समाजमा अनेक बहानामा निर्वाचन सार्नेजस्ता भ्रामक हल्ला चलेकोप्रति नेकपा (एमाले) को ध्यान केन्द्रित भएको छ । एमाले कुनै पनि बहानामा चुनाव सार्ने होइन, घोषित समय फागुन २१ मै हुनुपर्छ भन्ने दृढ अडानमा छ ।”
उहाँले निर्वाचन प्रक्रिया संवेदनशील चरणमा प्रवेश गरेको भन्नु हुँदै मत सर्वेक्षणको नाममा केही सञ्चार माध्यमबाट एकपक्षीय टिप्पणी तथा नतिजा सार्वजनिक गर्ने प्रवृत्ति बढेको समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो संवेदनशील अवस्थामा मत सर्वेक्षणका नाममा केही सञ्चार माध्यमबाट एकपक्षीय समाचार, टिप्पणी तथा अप्रमाणित नतिजा सार्वजनिक गर्ने प्रवृत्ति बढेको छ । सार्वजनिक खपतका लागि सार्वजनिक गरिने यस्ता प्रायोजित तथ्याङ्कबाट मतदाताको मनोविज्ञान प्रभावित गर्नसक्ने र जनमतलाई एकतर्फी दिशामा धकेल्ने जोखिम हुन्छ ।”
उहाँले संवेदनशील समयमा धार्मिक, साम्प्रदायिक तथा सामाजिक सद्भाव बिगार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताउनुभयो । उहाँले यो समयमा राजनीतिक दल, उम्मेदवार, सञ्चार माध्यम तथा नागरिकलाई धार्मिक सहिष्णुता, आपसी सम्मान र सामाजिक एकताको भावना थप सुदृढ गर्न पनि आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो, “मतको प्रतिस्पर्धा विचारमा हुनुपर्छ, समुदाय र आस्थामाथि होइन । लोकतन्त्रलाई बलियो बनाउने बाटो सामाजिक सद्भाव र परस्पर विश्वासबाट नै अघि बढ्छ भन्नेमा हाम्रो प्रष्ट धारणा छ ।” उहाँले प्रतिनिधिसभा विघटनको प्रक्रिया संवैधानिक परीक्षणबाट प्रमाणीकरण हुनुपर्ने अडान कायमै रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एमालेको प्रतिनिधिसभा विघटनको प्रक्रिया संवैधानिक परीक्षणबाट प्रमाणीकरण हुनुपर्छ भन्ने अडानमै छ । सम्मानित सर्वोच्च अदालतको आलटालले प्रतिनिधिसभा विघटन संवैधानिक परीक्षणमा नलाग्नु संवैधानिक सर्वोच्चतालाई स्थापित गर्ने मान्यताबाट गम्भीर ढङ्गले विचलित हुनु हो ।”