सिराज खान
नेपालगन्ज, फागुन १२ गते । बाँकेमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेल तथा कार्यगत एकता गर्ने सहमति भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई दलबीच जिल्लाका दुई निर्वाचन क्षेत्रमा एकअर्कालाई सहयोग गर्ने औपचारिक सहमति भएको हो ।
जसपा नेपाल बाँकेका अध्यक्ष कौशलकुमार धोबीका अनुसार दुवै दलका जिल्ला नेतृत्वबीच भएको सहमतिबमोजिम बाँके निर्वाचन क्षेत्र नम्बर १ मा प्रलोपाका उम्मेदवार कृष्णा केसीलाई जसपाले समर्थन गर्नेछ । त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा जसपा नेपालका उम्मेदवार कमरुद्दीन राईलाई प्रलोपाले समर्थन गर्ने निर्णय भएको छ । क्षेत्र नम्बर १ मा प्रलोपाको चुनाव चिह्न 'आँखा' र क्षेत्र नम्बर २ मा जसपाको 'छाता' चिह्नमा दुवै दलले संयुक्त रूपमा मत माग्नेछन् ।
सहमतिअनुसार दुवै निर्वाचन क्षेत्रमा दुवै दलका कार्यकर्ता तथा सङ्गठनात्मक संरचनाहरू साझा उम्मेदवारलाई विजयी गराउन संयुक्त रूपमा परिचालन हुनेछन् । जसपा नेपालका केन्द्रीय सचिव एवं बाँके क्षेत्र नम्बर २ का उम्मेदवार कमरुद्दीन राईले यस सहमतिले दुवै क्षेत्रमा उम्मेदवारको अवस्था बलियो भएको बताउनुभयो । उहाँले अब साझा उम्मेदवारको पक्षमा एकीकृत प्रचारप्रसार अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।
दुई दलबीच भएको सहमतिपत्रमा निर्वाचन प्रचारप्रसारका क्रममा एकअर्काको विचार, सिद्धान्त, झन्डा र सङ्गठनात्मक अस्तित्वप्रति उच्च सम्मान कायम राख्ने प्रतिबद्धता व्यक्त गरिएको प्रलोपाका नेता एवं क्षेत्र नम्बर १ का उम्मेदवार कृष्णा केसीले बताउनुभयो ।
प्रलोपा बाँकेका अध्यक्ष दीपक शर्माले जिल्लाको राजनीतिक स्थायित्व र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि तालमेल आवश्यक भएको उल्लेख गर्नुभयो । सहमतिपत्रमा मुलुकमा देखिएको राजनीतिक ध्रुवीकरण, 'जेन्जी' विद्रोहपछिको विकसित परिस्थिति तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ साझा पहल आवश्यक भएको उल्लेख गरिएको छ ।